सेयर

साताको सेयर बजार

एक सातामै सेयर बजार पूँजीकरण ४१ अर्ब ८९ करोड रुपैयाँले घट्यो

इकागज |
जेठ २८, २०७९ शनिबार १५:३४ बजे

काठमाडौँ- पछिल्लो साता सेयर बजारमा ‘निराशा’ देखिएको छ । ५ दिनको कारोवारमा १ दिन बजार बढ्दा बाँकी चार दिन घटेको छ। साताको एक दिन उच्च अंकले सेयर कारोवार परिसूचक बढेपनि बाँकी दिनमा उल्लेख्य गिरावट देखिएको छ।

साताको पहिलो दिन आइतवार नै नेप्से परिसूचक घटेर दोहोरो अंकले घटेको थियो । गत साता २०७८ दशमलव ७० अंकमा पुगेको बजार यस साताको अन्तिम कारोवारमा पश्चात परिसूचक २०४८ दशमलव १६ अंकमा ओर्लिएको थियो।


बजार निरन्तर घट्न थालेपछि सेयर बजार लगानीकर्ताहरूमा निराशा छाएको छ । लगानीकर्ताहरू सरकार तथा राष्ट्र बैंकको नीतिले आफ्नो लगानी डुबेको भन्दै आन्दोलन सुरु गरेका छन् ।

साताभरको कारोबार पश्चात नेप्से परिसूचक ३० दशमलव ५४ अंकले घटेको छ । गत साताभरको कारोवार पश्चात सेयर बजार परिसूचक १४५ अंकले घटेको थियो। यस साता भने बुधवारको कारोबारमा अप्रत्यासित रूपमा ६० अंकले बजार परिसूचक उकालो लागेको थियो ।

साताको पहिलो दिनको कारोबारमा बजार परिसूचक १३ अंकले घटेको थियो । सोमवार कारोवार रकम पनि १ अर्ब २७ करोड रूपैयाँ बराबरको कारोवार भएको थियो । पहिलो कारोबारमा उप-समूह तर्फ जीवन बीमा समूह उल्लेख्य घटेको थियो । सो दिन जीवन बीमा समूह २ दशमलव ०१ प्रतिशत घटेको थियो ।

साताको दोस्रो कारोबारमा पनि बजार परिसूचक गिरावट निरन्तर रह्यो । दोस्रो कारोबारको दिन मंगलवार उल्लेख्य रूपमा परिसूचक अंक घटेको थियो। पहिलो कारोबारमा १३ अंकले घटेको बजार परिसूचक मंगलवार भने ४६ अंकले घटेको थियो ।

साताको दुई दिन घटेको बजार तेस्रो कारोबारको दिनमा अप्रत्यासित रूपमा बढेको थियो । बुधवार सेयर बजार ६० अंकले बढेर २०२० मा ओर्लिएको बजार परिसूचक २०८० मा उक्लिएको थियो । उल्लेख्य बजार बढेपनि सो दिन कारोवार भने खासै बढेन। सो दिनको कारोबारमा १ अर्ब ६४ करोडको कारोवार भएको थियो ।

बुधवार उल्लेख्य बढेको बजार बिहीवार पनि बढ्ने अपेक्षा गरेका लगानीकर्तालाई निराशा पार्दै बजार पुन: गिरावटतर्फ नै फर्किएको थियो । बिहीवार परिसूचक १८ अंक घटेको थियो । सो दिनको कारोबारमा उप-समूहतर्फ १३ ओटै समूहको सेयर मूल्य घटेको थियो।

साताको पाँचौं तथा अन्तिम कारोबारको दिन बजार परिसूचक १५ अंकले घटेर यस साताको बजार बन्द भएको थियो । शुक्रवार बजार परिसूचक १४ दशमलव ६४ अंकले घटेको थियो । शुक्रवार कारोवार रकममा पनि उल्लेख्य गिरावट आएको छ । सो दिनको कारोबारमा ८९ करोड बराबरको सेयर खरिद बिक्री भएको छ ।

कारोबार

पछिल्लो साताभरको सेयर बजार कारोवार करिव ६ अर्ब ५८ करोड रूपैयाँ रहेको छ । यो गत साताको भन्दा करिव ४१ अर्ब बढी हो । गत सातामा साताभरको कारोबार ६ अर्ब १७ करोड रहेको थियो । यस साता बुधवार सबैभन्दा बढी १ अर्ब ६४ करोड तथा शुक्रवार ८९ करोडको कारोबार भएको थियो । यस साता बजार पूँजीकरण ४१ अर्ब ८९ करोड घटेको छ । गत साता २९ खर्ब ५९ अर्ब ४८ करोडमा रहेको सेयर बजार पूँजी यस साता २९ खर्ब १७ अर्ब ५९ करोडमा झरेको छ।

कारोवार दिन

अंक परिवर्तन

कारोवार रकम

सोमवार

१२.८९

१ अर्ब २७ करोड

मंगलवार

४५.५९

१ अर्ब ३१ करोड

बुधवार

६०.२२

१ अर्ब ६४ करोड

बिहीवार

१७.५८

१ अर्ब ४७ करोड

शुक्रवार

१४.६४

८९ करोड ४१ लाख

जम्मा

३०.४८

६ अर्ब ५८ करोड

उप-समूह

उप-समूहतर्फ यस साता अधिकांश समूहको सेयर मूल्य घटेको छ । साताभरमा व्यापार र माइक्रो फाइनान्स बाहेक अन्य समूह घटेका छन् । यस साता व्यापार समूह ८ दशमलव ०६ अंक तथा माइक्रो फाइनान्स समूह ५० दशमलव २६ प्रतिशतले बढेको छ । बाँकी रहेका अन्य ११ समूह भने घटेका छन् ।

उप-समूह

अघिल्लो साता

यो साता

परिवर्तन

बैंकिङ

१४४७.५

१,४०८.९१

३८.५९

व्यापार

१७०७.५९

१,७१५.६५

८.०६

होटेल तथा पर्यटन

२७११.४८

२,६८२.२७

२९.२१

विकास बैंक

३६०६.७७

३,५३३.४९

७३.२८

जलविद्युत

२४२५.७६

२,४०९.७९

१५.९७

फाइनान्स

१५२५.७५

१,५१२.३०

१३.४५

निर्जीवन बीमा

८५३४.६७

८,५११.०३

२३.६४

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ

५००६.९३

४,९०१.४०

१०५.५३

अन्य

१५३२.४२

१,५०७.६५

२४.७७

माइक्रो फाइनान्स

४२९७.९

४,३४८.१६

५०.२६

जीवन बीमा

९८६१.९२

९,७७९.३१

९०.६१

म्युचुअल फण्ड

१४.७८

१४.७४

०.०४

लगानी

६७.६४

६६.७३

०.९१

सडक देखि संसदसम्म उठ्यो आवाज

सेयर बजार ओरालो लागेको भन्दै संसदमा समेत सांसदहरूले कुरा उठाएका छन्। एमाले नेता योगेश भट्टराईले संसदमा सेयर बजार घटेको भन्दै नेताहरूको बोली तथा सरकारको नीतिले लाखौं लगानीकर्ताको लगानी जोखिममा परेको भन्दै कुरा उठाएका थिए ।

त्यस्तै सेयर बजार निरन्तर घट्न थालेपछि लगानीकर्ताहरू आन्दोलन गर्न थालेका छन् । बजार लगातार ओरालो लाग्दा समेत सरकारले सुधारका लागि कुनै पहल नगरेपछि लगानीकर्ता सडकमा उत्रिएका हुन् । उनीहरुले पूँजी बजारप्रति सरकारले बेवास्ता गर्दा खर्बौं रुपैयाँ डुबेको भन्दै सरकार विरुद्ध आन्दोलनको घोषणा गरेका हुन्। 

लगानी कर्ताहरूले सेयर बजार सुधारका लागि १९ बुँदे माग राख्दै विरोधमा उत्रिएर शुक्रवार बानेश्वरमा समेत प्रदर्शन गरेका थिए। सेयर बजार पछिल्लो १० महिनामा ३२ सयबाट  २ हजारमा झरेको छ। जसमा लगानीकर्ताहरूले खर्बौं गुमाइसकेका छन्। 

यता नेपाल पूँजीबजार लगानीकर्ता संघले बजार सुधारको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर बजार सुधारका लागि ज्ञापनपत्र समेत बुझाएका छन् ।  सरकारको सेयर बजारप्रतिको दृष्टि तथा राष्ट्र बैंकको नीतिले बजार निरन्तर ओरालो लागेको भन्दै लगानीकर्ताहरू सडक उत्रिएका हुन्


Author

थप समाचार
x