सेयर

१९ बुँदे मागसहित सेयर लगानीकर्ता कोइराला आमरण अनसनमा

इकागज |
असार १, २०७९ बुधबार १२:३९ बजे

काठमाडौँ-  सेयर लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गरेका छन् । सेयर बजार सुधारका लागि १९ बुँदे माग राख्दै कोइराला धितोपत्र बोर्डको कार्यलय परिसरमा अनशन बसेका हुन । सो अवसरमा बोल्दै आफू ​लगानीकर्ताहरूको हकहित संरक्षणको लागि आमरण अनसनमा बसेको कोइरालाले बताए । सरकारले ३ वर्षअघि नै पुरा गर्छु भनेको माग पुरा नभएको बताउँदै १९ बुँदे एजेन्डासहित धितोपत्र बोर्डमा आमरण अनसनमा बसेको बताए ।

पूँजी बजारमा सरकारले ३ वर्ष अगाडि नै गर्छ भनेर प्रतिबद्धता जनाएपनि केही नगरेका कारण आफू आमरण अनसनमा बस्नुपर्ने स्थिती आएको र यो माग पुरा नभएसम्म अनसन नछोड्ने उनले बताए ।


यस्ता छन् लगानीकर्ताले राखेका १९ बुँदे माग

१. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै  र वर्तमान अर्थमन्त्रीले  दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदका बाँकी काम तत्काल पुरा हुनैपर्ने।

२. बाणिज्य बैंकका सहायक कम्पनी  र अन्य संंस्थागत पब्लिक कम्पनीहरूलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल ब्रोकर लाइसेन्स वितरण गर्नुपर्ने।

३. कमिशन ब्रोकर र फुल ब्रोकरहरूको वर्गीकरण गरी वर्तमान  ब्रोकरहरूको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।

४. ब्रोकरहरूको शाखा  बिस्तार र उनीहरूले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुपर्ने ।

५. गैर आवासीय नेपालीहरूलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । 

६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरूले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिव्यक्ति दिनमा बन्देज लगाउनुपर्ने ।

७.. नेप्सेमा रहेको  सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । 

८. सूचीकृत साना कम्पनीहरूका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरूको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरूलाई खुला छाड्नुपर्ने । 

९. ब्रोकर कमिसनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरू घटाउनुपर्ने । 

१०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । 

११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । 

१२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि  प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । 

१३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरू  प्रयोगमा ल्याउनुपर्ने । 

१४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाइनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरूले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने ।  

१५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरूमार्फत मार्जिन ट्रेडिङ. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । 

१६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त विज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशिल बिषयमा विश्लेषणहरू सार्वजनिक गर्न पाउने  ब्यवस्था कडाईका साथ लागु गर्ने । 

१७. मर्जरमा जाने कम्पनीहरूको मर्जर सम्झौता हुँदा नै स्वाप  रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । 

१८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरूको सवालमा असार  मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । 

१९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।


Author

थप समाचार
x