सेयर

सेयर बजार २०७८/७९

सुरुवातमा बुल, अन्त्यमा बियरिस

लगानीकर्ताले एक वर्षमा ११ खर्ब ४१ अर्ब गुमाए

इकागज |
असार ३२, २०७९ शनिबार १७:२३ बजे

काठमाडौँ – आर्थिक वर्ष २०७८/७९ सेयर बजारका लागि निराशाजनक रह्यो। वर्षको सुरुवातका केही महिना परिसूचक तथा कारोबार दुवैमा रेकर्ड कायम गरेको बजार वर्षको अन्त्यतिर भने कारोबार र परिसूचक दुवै नराम्ररी घट्न पुग्यो। 

आर्थिक वर्ष २०७८/७९ को सुरुवातमा २८८३.३८ अंकमा रहेको बजार वर्षको अन्तिम दिनमा घटेर २००९.४६ अंकमा ओर्लिएको छ। वर्षभरिमा बजार परिसूचक ८९२.९३ अंकले घटेको छ।  सुरुवातमा क्रमश बढ्दै ३२ सय अंकको रेकर्ड राखेको बजार त्यसपछि क्रमश घट्दै १८४८ सम्म झरेको थियो ।


चालू आर्थिक वर्षको मौद्रिक नीति तथा तरलता एवं राजनीतिक अस्थिरता लगायतका कारण बजारमा तीव्र उतारचढाव देखिएको छ। भदौको २ गते ३१९८.६० को उच्च विन्दुमा पुगेको बजारमा राष्ट्र बैंकले लिएको नीतिका कारण गिरावट हुँदै गत असार ९ गते नेप्से १८४८.२६ को न्यून विन्दुमा ओर्लिएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा कुल ११ खर्ब ७९ अर्ब २६ करोड ८८ लाख ५९ हजार ९९ रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै रकम आर्थिक वर्षको सुरुवातमा भएको थियो। २०७८ को साउन ३१ गते बजारमा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भइ वर्षको उच्च कारोबार हुने दिनको रेकर्ड कायम गरेको थियो। त्यस्तै आर्थिक वर्ष मा सबैभन्दा कम कारोबार भने गत असार ३ गते जम्मा ७३ करोड ६३ लाख १२ हजार रुपैयाँमा सिमित भएको थियो।

आर्थिक वर्ष २०७७/७८ को अन्तिम कारोबारमा बजार पुँजीकरण ४० खर्ब १० अर्ब रुपैयाँ रहँदा यस २०७८/७९ को अन्तिम कारोबार पश्चात कुल बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब रुपैयाँमा सीमित झरेको छ। यसरी वर्षभरको कारोबारमा लगानीकर्ताहरूले सेयर बजारबाट आफ्नो ११ खर्ब ४१ अर्ब रुपैयाँ गुमाएका छन्।

साताको बजार

आर्थिक २०७८/७९ वर्षको अन्तिम साता सेयर बजार परिसूचक १७ अंक बढेको छ। गत साता १९९२.६२ अंकमा रहेको बजार यो साता २००९.४६ अंकमा उक्लिएको छ।

आइतवार बकर इदले बिदा पर्दा यस साता पाँच दिन मात्रै सेयर बजार कारोबार भएको थियो । पाँच दिनको कारोबारमा १ दिन बजार घट्दा बाँकी ४ दिन उकालो लागेको थियो। साताको पहिलो दिन ७७ अंक घटेको बजार त्यसपछिका बाँकी दिन सकारात्मक रह्यो।

पहिलो कारोबारमा घटेको बजार मंगलवारको कारोबारमा ११.६८ अंक, बुधवार ५९.५४ अंक, बिहीवार १४.७१ र शुक्रवार ७.९३ अंकले घटेर साताको बजार बन्द रह्यो ।

कारोबार दिन

अंक घटबढ

कारोबार रकम

सोमवार

७७.०१

२ अर्ब ३२ करोड

मंगलवार

११.६८

१ अर्ब ७९ करोड

बुधवार

५९.५४

२ अर्ब ४ करोड

बिहीवार

१४.७१

२ अर्ब ४१ करोड

शुक्रवार

७.९३

१ अर्ब ४५ करोड

जम्मा

१६.८५

१० अर्ब १ करोड

साताभर १७ अंकले बढेको बजारमा कारोबार रकम भने करिव १० अर्ब १ करोड रूपैयाँ भएको छ । साताको चौथो दिनमा सबैभन्दा धेरै २ अर्ब ४१ करोड र अन्तिम कारोबारको दिनमा १ अर्ब ४५ करोडको कारोबार भएको छ।


Author

थप समाचार
x