सेयर

नेप्सेमा ३ अंकको सुधार, कारोबार रकममा भने कमी

इकागज |
भदौ १४, २०७९ मंगलबार १५:३३ बजे

काठमाडौंँ - लगातार दोस्रो कारोबार दिन पनि नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)मा सामान्य सुधार देखिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार २.३३ अंकको सुधार भएको हो। लगातार गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ वृद्धि भएको थियो । मंगलबार पनि नेप्से २.३३ ले वृद्धि भएर १९९५.२४ अंकमा बन्द भएको छ ।

नेप्सेमा सुधार भए पनि कारोबार रकम भने घटेको छ । मंगलबार बजारमा २९ लाख १४ हजार ५ सय ५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ९५ लाख १७ हजारको कारोबार भएको छ । सोमबारको कारोबारमा १ अर्ब २६ करोड ६६ लाख १९ हजारको कारोबार हुँदा साताको पहिलो दिन आइतबार २ अर्ब माथिको कारोबार भएको थियो ।


नेप्सेमा सामान्य सुधार हुँदा उपसूचकमा भने घटबढ देखिएको छ । बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, वित्त कम्पनी र बीमा उपसूचकमा गिरावट हुँदा विकास बैंक, लघुवित्त, उत्पादनमुलक लगायत उपसूचक भने बढेको छ ।

मंगलबार कुल १ सय ८६ कम्पनीको सेयर कारोबार भएकोमा ७४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १०५ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर छ । जसमध्ये अपरे हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक ८.४५ प्रतिशतले वृद्धि हुँदा नबिल ब्यालेन्स फण्ड ३ को इकाइ मूल्य ५।३२ प्रतिशतन र ग्लोबल आईएमई समुन्नति स्किम १ को इकाइमूल्य ३.४९ प्रतिशतले बढेको छ ।

आज कारोबार भएकामध्ये नेपाल दूरसञ्चार कम्पनीको ९ करोड ५७ लाख ७२ हजारको सेयर किनबेच भएको छ । यस्तै ८८ प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको ६ करोड ३९ लाख १ हजारको कारोबार भएको छ ।

यता विन नेपाल लघुवित्त कम्पनीको सेयर मूल्य ४.७७ प्रतिशतले गिरावट भएको छ । यस्तै एनआईसी एशिया ग्रोथ फण्डको इकाइ मूल्य ४.०३ प्रतिशतले घटेको छ ।


Author

थप समाचार
x