सेयर

नेप्से १७ सय बिन्दुको थ्रेसहोल्ड नाघ्यो

इकागज |
कात्तिक २६, २०७७ बुधबार १५:५४ बजे

काठमाडौं : नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकले बुधबार १ हजार ७ सय अंकको थ्रेसहोल्ड पार गरेको छ । बुधबार नेप्से १.७२ प्रतिशत अर्थात् २८.८९ अंकले बढेर १ हजार ७ सय ७.६७ अंकमा पुगेको छ । मंगलबार १.५७ प्रतिशत अर्थात् २५.९८ अंकले बढेर १,६७८.७९ अंकमा पुगेको नेप्से आज १,७०० बिन्दुको थ्रेसहोल्ड पार गरेको हो । २०७३ को मध्यदेखि बजारले वियरिस ट्रेण्ड समातेपछि पहिलोपटक नेप्से परिसूचकले यो थ्रेसहोल्ड पार गरेको हो ।

‘क’ वर्गका धितोपत्रको कारोबार प्रतिबिम्बित गर्ने सेन्सेटिभ इन्डेक्स १.५८ प्रतिशत अर्थात् ५.२३ प्रतिशतले बढेर ३३५.६२ बिन्दुमा पुगेको छ । आज नेप्सेमा वित्त कम्पनी उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक उकालो लागेका छन् । व्यापार र उत्पादन (ट्रेड्रिङ तथा म्यानुफ्याक्चरिङ) उपसमूहका सेयरमा आकर्षण देखिएको छ । आज साल्ट ट्रेडिङ लिमिटेडको सेयर प्रतिकित्ता १० प्रतिशत अर्थात् ४९५ रुपैँयाले बढेको छ । त्यस्तै लक्ष्मी इक्विटी फण्ड, नागरिक लगानी कोष, विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।


मंगलबार जस्तै बुधबार पनि दैनिक कारोबार रकम ४ अर्ब ९ करोड रुपैँया रहेको छ । बजार पुँजीकरण भने २२ खर्ब ८८ अर्ब रुपैँया पुगेको छ । बुधबार नेप्सेमा १९५ कम्पनीको ३६ हजार आठ सय ९३ कारोबारमार्फत् ४ अर्ब ९ करोड ९६ लाख मूल्य बराबरका एक करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर किनबेच भएको छ । 


Author

थप समाचार
x