सेयर

आइपीओको तयारीमा रहेको नर्भिकद्वारा ४० प्रतिशत लाभांशको घोषणा

इकागज |
पुस ६, २०७९ बुधबार ११:२१ बजे

फाइल तस्वीर

काठमाडौं - साधारण सेयरको प्राथमिक निष्कासन(आइपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । 

घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश/कर प्रयोजनका लागि समेत) रहेको छ ।  हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रूपैयाँ रहेको छ । यो हिसाबले अस्पतालले ४ करोड ५० लाख रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि आवश्यकसहित ४ करोड ५० लाख रूपैयाँ बराबरकै नगद लाभांश समेत बाँड्नेछ ।  घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्तापूँजी २७ करोड रूपैयाँ पुग्नेछ । 


कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरण सम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ ।  गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  नर्भिक इन्टरनेशनल हस्पिटल २ वर्षअघि पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ । आइपीओ निस्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने नर्भिक अस्पताल निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो अस्पताल पनि हो । 


Author

थप समाचार
x