नेप्सेका सेयरधनीलाई प्रमाणपत्रको सट्टा डिम्याटमा सेयर दिने
फाइल तस्वीर
काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सेयरधनीहरूलाई सेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा सेयर दिने भएको छ । नेप्सेका सेयर धनीहरूलाई नेपाल सरकारले लगानी गरेका संस्थाहरूको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर सेयरधनीलाई डिम्याटमा सेयर दिने तयारीमा रहेको जानकारी दिएको छ ।
शुक्रवार नेप्सेको ४१ औं वार्षिक साधरणसभामा बोल्दै सहायक प्रबन्धक निरञ्जन फुयाँलले नेपाल सरकारले लगानी गरेका संस्थाहरूको डिम्याट गर्ने अर्थ मन्त्रालयबाट पत्र आएकाले प्रमाणपत्र नभएर सेयरधनीलाई डिम्याटमा सेयर दिने तयारीमा रहेको बताए ।
उनले अर्थ मन्त्रालयको पत्रको आधारमा धितोपत्र बोर्डले नेप्सेमा सूचिकृतको लागि स्वीकृति दिए छिटै सेयरधनीलाई डिम्याटमा सेयर दिने जानकारी दिए । उनले नेप्सेको सेयरलाई नेप्सेका सूचीकृत गर्ने प्रक्रियामा प्रयास भइरहेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेप्सेका अध्यक्ष चक्रबहादुर बुढाले नेप्सेको बजारको कारोबार परिणाम,अर्थतन्त्रका पक्ष,सूचीकृत कम्पनीको आर्थिक अवस्था र लगानीकर्ताको मनोविज्ञानमा आधारित हुने भएकाले आयमा सुनिश्चतता ल्याउन चुनौती रहेको बताए । उनले लगानीकर्ताको बढ्दो संख्यालाई सेवा पुर्याउन अनलाइन कारोबार प्रणालीलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बताए ।
उनले बढ्दो बजारमा मात्र लगानीकर्ताको आकर्षण बढ्ने र बजार घट्नेसँगै लगानीकर्ता अन्य क्षेत्रमा प्रवेश गर्ने भएकाले लगानीकर्तालाई बजारमा दिगो रुपमा कायम गरी बजारलाई सुदृढ बनाएर बिस्तार गर्न चुनौती देखिएको बताए । उनले सरकारी तथा अन्य क्षेत्रले अवलम्वन गर्ने पुँजी बजारसँग सम्बन्धित नीतिहरू अनुकूल धितोपत्र बजारको व्यवस्थापन गर्न चुनौती रहेको बताए । बजारमा संस्थागत लगानीकर्ताहरूको संख्या बढाएर उनीहरूको सक्रिय सहभागिता बढाउनु आवश्यक रहेको बताए ।
त्यस्तै नेप्सेको साधारण सभाले चुक्ता पुँजी १ अर्बमा नियमानुसार लाग्ने करसहित सतप्रतिशत नगद लाभांश (एक अर्ब रूपैयाँ) वितरण गर्ने भएको छ । नेप्सेले गत आर्थिक वर्षमा चुक्ता पुँजी ६० करोडको १०० प्रतिशत नगद लाभांश ६६.६७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया