सेयर

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै नेपाल आयल निगम

इकागज |
असोज ९, २०८० मंगलबार १४:३७ बजे

काठमाडौँ- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् ।​​ मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् ।

कार्यकारी निर्देशक थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए । उनले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न प्रतिबद्ध रहेको जिकिर गरे ।


थानीले सर्वसाधारण जनतालाई समेत निगममा ओनरसीप बनाउन आईपीओ जारी गर्ने जानकारी दिए । उनले व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधारणलाई आईपीओ दिने तयारी भइरहेको पनि उल्लेख गरे । विभिन्न प्राविधिक पक्षहरू रहेकाले केही समय लाग्ने उनले बताए । उनले ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नभएको पनि स्पष्ट पारे ।

कार्यकारी निर्देशक थानीका अनुसार सरकारले व्यवसायीहरूका मागहरू समयसापेक्ष रूपमा सम्बोधन चाँडै गर्ने छ । मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने हिसाबले नेपाल आयल निगमले वि.स.२०८० असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको छ । उनले जनता, व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पुर्याउनुपर्ने आवश्यकता रहेको औंल्याए । यस्तै आयल निगमले स्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भए पनि नाफामा रहने जिकिर गरे ।

नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले डिजेल पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू गर्न माग गरे । उनले एलपी ग्याँसको मूल्य अचानक बढ्दा व्यवसायीहरूलाई समस्या भइरहेको गुनासाे गरे । उनले व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याँस उद्योगले विभिन्न समस्या भोग्नुपरेको बता‍ए ।

ग्याँस उद्योगीहरूको नाफा १० वर्ष अगाडिको ३२ रुपैयाँ अहिलेसम्म कायम रहेको उनले बताए । निगमले पेट्रोलको जस्तै एलपी ग्याँसको पनि स्वचालित मूल्य लागू नगरेर ग्याँस उद्योगीहरूलाई पाखा लगाएको आरोप लगाए ।


Author

थप समाचार
x