सेयर

लाभकर वृद्धिको बाबजुद सेयर बिक्री गर्ने बढे

इकागज |
जेठ १८, २०७८ मंगलबार १६:४० बजे

काठमाडौँ : एकोहोरो बढीरहेको सेयर बजारमा चालु आर्थिक वर्षको बजेट अध्यादेशमार्फत् सरकारले जाल थाप्यो, पुँजीगत लाभ करको । पछिल्लो ६ महिनादेखि बजार तीव्र रफ्तारमा उकालो लागेपछि चालु आर्थिक वर्षको बजेटले एक वर्ष सेयर होल्ड गरेर बेच्नेलाई ५ प्रतिशत लाभकर र त्यो भन्दा कम समयमा बेच्नेलाई ७.५ प्रतिशत पुँजीगत लाभकरको व्यवस्था गरेको छ । 

त्यसको बाबजुद पनि सेयर बजारमा बिक्रीको चाप देखिन थालेको छ । मंगलबार सेयर बजार परिसूचक, नेप्से ११.६८ अंकले घटेर २,७७१.१५ अंकमा आइपुगेको छ । त्यस्तै सेयर बजारमा ‘क’ वर्गका कम्पनीहरूको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७४ प्रतिशत अर्थात् ३.६९ अंकले घटेर ४९६.८६ अंकमा रहेको छ । 


मंगलबार सेयर बजारमा विकास बैंक, वित्त कम्पनी र अन्य समूहबाहेक अन्य सबै समूहका परिसूचक ओरालो लागेका छन् । होटल पर्यटन समूहमा २.१९ प्रतिशत अर्थात् ९१.१६ अंकको गिरावट देखिएको छ । त्यस्तै, व्यापार समूह पनि २.१९ प्रतिशत अर्थात् ९३.५९ अंकले घटेको छ । अन्य परिसूचकहरू भने १ प्रतिशत भन्दा कम घटेका छन् । बढेका विकास बैंक समूह ०.५९ प्रतिशत, वित्त कम्पनी ०.११ प्रतिशत र अन्य समूह ०.७ प्रतिशतले बढेको छ । 

बजार र जलविद्युत् समूहमा गिरावट आएपनि कालिका पावर कम्पनीको सेयरमा भने सर्किट ब्रेकर लागेको छ । आज धेरै गुमाउनेहरूमा पनि जलविद्युत् कम्पनीहरू नै रहेका छन् । दिव्येश्वरी हाइड्रोपावर, खानिखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ५.०२, ४.२१, ४.१७ प्रतिशतले घटेको छ । त्यस्तै, आँखुखोला, माउन्टेन हाइड्रो र घलेम्दी हाइड्रोको सेयर मूल्य ४.१२, ३.६१ र ३.६० प्रतिशतले कमी आएको छ । 

मंगलबार नेप्सेमा २१६ कम्पनीका ८ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ मूल्यका १ करोड ९७ लाख ८३ हजार तीन सय ५४ कित्ता सेयर ९८ हजार ६ सय सात ओटा कारोबारमार्फत् किनबेच भएको छ । त्यस्तै, कुल बजार पुँजीकरण ३८ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।


Author

थप समाचार
x