१६.९६ अंकले घट्यो सेयर बजार, ७ अर्बको कारोबार
काठमाडौँ : सेयर बजारले ओरालो यात्रा जारी राख्दै यो साताको अन्तिम कारोबार दिन बिहीबार ०.५९ प्रतिशत अर्थात् १६.९६ अंकले घटेको छ । मंगलबारबाहेक यो साताभर नेप्से परिसूचक ओरालो लागिरह्यो । बिहीबार सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक २,८४३ बिन्दूमा आइपुगेको छ ।
धितोपत्र बजारको नियामक धितोपत्र बोर्डले असार १ गते लगानीका लागि जोखिमयुक्त भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि सेयरबजारमा बिक्रीको चाप बढेको हो ।
बिहीबार ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इण्डेक्समा ०.६ प्रतिशतको गिरावट देखिएको छ । बिहीबार बजार घट्दा पनि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लगानीकर्ताले भने बम्पर उपहार पाएका छन् । माथिल्लो तामाकोसीको सेयर मूल्य बिहीबार ९.८८ प्रतिशत अर्थात् ६७ रुपैयाँले बढेर अन्तिम कारोबार रकम ७४५ रुपैयाँ कायम भएको छ ।
बिहीबार सबैभन्दा ठूलो कारोबार नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको ३५ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ । सेयर संख्याको आधारमा भने नेशनल हाइड्रोको ७ लाख ६ हजार ६ सय १९ कित्ता सेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तीन हजार एक सय ५१ ओटा कारोबार भएको छ । घट्दो बजारमा पनि जलविद्युत् र होटल तथा पर्यटन समूहका परिसूचक भने क्रमशः १.९७ र १.१७ प्रतिशतले उकालो लागेका छन् ।
बिहीबार नेप्सेमा २१९ कम्पनीका ७ अर्ब ३ करोड ३६ लाख रुपैयाँ मूल्यका एक करोड ३२ लाख १० हजार तीन सय ६९ कित्ता सेयर ७८ हजार ९ सय ८३ ओटा कारोबारमार्फत् खरिद–बिक्री भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया