Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सेयर

बैंकिङ्ग समूहले उकाल्यो बजार, ७ अर्ब १६ करोड रुपैयाँको कारोबार

इकागज |
असार १३, २०७८ आइतबार १६:२२ बजे

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.३८ अंकले बढेर २,८७०.३८ बिन्दूमा पुगेको छ । गत साता मंगलबारबाहेक सबै कारोबार दिनमा सेयर मूल्य मापन गर्ने परिसूचक, नेप्से ओरालो लागेर अन्तिम कारोबार दिन बिहीबार २,८४३ अंकमा आइपुगेको थियो । 

यो साता पहिलो कारोबार दिन बजार सकारात्मक देखिएको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इण्डेक्स ०.७२ प्रतिशतले बढेर ५२९.४१ बिन्दूमा पुगेको छ । आइतबार होटल र पर्यटन, विकास बैंक, वित्त, निर्जीवन बीमा कम्पनी तथा जीवन बीमा कम्पनीबाहेक अन्य सबै समूहको परिसूचक बढेको छ । 


सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ्ग समूहको परिसूचक २.०१ प्रतिशतले बढेर १,९४३.४८ बिन्दूमा पुगेको छ । त्यस्तै जलविद्युत् समूहको परिसूचक पनि २.६७ प्रतिशतले बढेको छ भने व्यापार (ट्रेडिङ्ग) समूहको परिसूचक १.२७ प्रतिशतले बढेको छ । 

आइतबार सेञ्चुरी कमर्सियल बैंकको सेयर सबैभन्दा धेरै ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २९८ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, माथिल्लो तामाकोसीको सेयर मूल्य ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता ८१९ रुपैयाँ पुगेको छ । युनाइटेड आइडीआइ मार्दी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सिभिल बैंक, नेशनल हाइड्रो तथा बुटवल पावर कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढी वृद्धि भएको छ । 

आइतबार नेशनल हाइड्रोको ४० करोड ७० लाख रुपैयाँ, सेञ्चुरी बैंकको ३७ करोड ८३ लाख रुपैयाँ तथा नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेशनल हाइड्रोको ३ हजार नौ सय ९६ पटक कारोबार भएको छ । 

आइतबार २२७ कम्पनीको ७ अर्ब १६ करोड ७४ लाख रुपैयाँ मूल्यका २ करोड ९ लाख ७४ हजार तीन सय ७७ कित्ता सेयर ८२ हजार ५५ ओटा कारोबारबाट खरिद–बिक्री भएको छ । 
 


Author

थप समाचार
x