सेयर

सेयर बजार ब्रिफिङ

सुस्तायो सेयर बजार

इकागज |
असार १४, २०७८ सोमबार १९:५९ बजे

काठमाडौँ : नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन, सोमबार सीमान्त ०.१८ प्रतिशत अर्थात् ५.११ अंकले बढेर २,८७५.४९ बिन्दूमा पुगेको छ । सोमबार लघुवित्तका कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् । बजार बुलमा हुँदा पनि केही समयअघि घटेको सेयरको मूल्य ‘मेकअप’ हुने लक्षण देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् लघुवित्त कम्पनीहरूको पुँजी वृद्धि गर्ने हल्लाले पनि लगानीकर्तालाई तानेको छ । सोमबार सबैंको लघुवित्त र सिभिल लघुवित्तको सेयरमूल्य ८ प्रतिशतले बढेको छ । 

सेयर बजारमा देखिएको तेश्रो लहरमा सेयरको संतृप्ति मूल्यमा बजार प्रवेश नगरिसकेकाले लगानीकर्तामा उत्साह भने देखिन्छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक जेठ ३१ गते अहिलेसम्मकै उच्चतम ३०२५.८३ बिन्दूमा पुगेको थियो । उक्त दिन दैनिक कारोबार १८ अर्ब ८८ करोड रुपैयाँ पुगेको थियो । सेयर बजार पुँजीकरण पनि ४२ खर्ब १६ अर्ब रुपैयाँ कायम भएको थियो । 


असार १ गते धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै ५१ कम्पनीको विवरण सार्वजनिक गरेपछि बजारमा गिरावट आउने आँकलन गरिएको थियो । यद्यपि बजार सम्हालिएको छ, तर पुराना लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छन् । नयाँ लगानीकर्ताले पछि बजारमा प्रवेश गरेर पनि राम्रो पोर्टफोलियो बनाएका छन् । उनीहरू बजारलाई उद्वेलित गर्ने प्रयासमा देखिएका छन् तर उनीहरूको प्रयास सफल भएको देखिदैंन । 

अघिल्लो साता मंगलबारबाहेक लगातार बजार घटेको थियो । यो साता भने सीमान्त वृद्धि भैरहेको छ । सोमबार कारोबार रकम पनि आइतबार ७ अर्ब १६ करोड रुपैयाँको कारोबारको तुलनामा ७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लोपटक २०७३ साउनमा नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दू १८८१.४५ बिन्दूमा पुगेको थियो । त्यतिबेला बैंकिङ्ग समूहले मात्र बजार उचालेको थियो, त्यसमा गिरावट आउनेबित्तिकै बजारले आत्मविश्वास गुमाएको थियो भने अहिलेको बुलमा सबैजसो परिसूचक उकालो लागेका छन् । बजार विविधिकरण भएको छ । यसले बजारलाई थप सुदृढ बनाएको छ । यतिबेला बजारको प्रवृत्ति हेर्दा पुराना र ठूला लगानीकर्ताले मौद्रिक नीति पर्खिरहेको अनुमान गर्न सकिन्छ । 
 


Author

थप समाचार
x