सेयर

मध्य असारमा नेप्से २,८२८ बिन्दूमा, कारोबार रकम पनि घट्यो

इकागज |
असार १५, २०७८ मंगलबार १५:१५ बजे

काठमाडौँ : यस साताको तेश्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ४७.४९ अंकले घटेर २,८२८ बिन्दूमा आइपुगेको छ । आइतबार र सोमबार सीमान्त बढेको सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक मंगलबार १.६५ प्रतिशतले घटेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८५ प्रतिशत अर्थात् ९.८७ अंकले ओरालो लागेको छ । 

लघुवित्त समूहबाहेक अन्य सबै समूहका परिसूचक ओरालो लागेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा लघुवित्त कम्पनीको पुँजी वृद्धि गर्ने र हकप्रद (राइट) सेयर थप्न पाइने आशामा लगानीकर्ताहरू सोमबारदेखि नै लघुवित्तको सेयरमा झुम्मिएका छन् । असार मसान्तमा बैंकको साँवाब्याज तिर्नेदेखि कर समेत तिर्नुपर्ने भएकाले बजारमा किन्ने भन्दा बेच्ने चाप बढी देखिन्छ । 


ओरियन्टल्स होटल्स तथा केही लघुवित्त कम्पनीका लगानीकर्ताले भने घट्दो बजारमा पनि कमाएका छन् । असार १ गते धितोपत्र बोर्डले लगानीका लागि जोखिम रहेको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि नै बजारले क्रमशः आत्मविश्वास गुमाउँदै गएको छ । 

मंगलबार सेयर बजारमा कारोबार रकममा पनि कमी आएको छ । आज नेप्सेमा २२३ कम्पनीको ६ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ मूल्यका १ करोड ४० लाख ४४ हजार तीन सय ८१ कित्ता सेयर ७५ हजार ८ सय ८० ओटा कारोबारबाट खरिद बिक्री भएका छन् । 
 


Author

थप समाचार
x