सेयर

सर्वोत्तम सिमेन्ट 'इनसाइड ट्रेडिङ' प्रकरण : सेबनका अध्यक्ष र नेप्सेका सीइओलाई अर्थ समितिले बोलायो

इकागज |
साउन २८, २०७८ बिहीबार १५:५६ बजे

काठमाडौँ - सर्वोत्तम सिमेन्टको भित्री सूचनाका आधारमा (इनसाइडर ट्रेडिङ) सेयर लिएको विषयमा बुझ्‍न धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृतलाई अर्थ समितिले बोलाएको छ । आइतबार बैठक बस्ने गरी बोलाएको समितिले जानकारी दिएको छ ।

पुँजी बजारको नियामक धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र दोस्रो बजारमा धितोपत्र कारोबार गराउने निकाय नेपाल स्टक एक्स्चेन्जका सीईओ चन्द्रसिंह साउदले एकाघर परिवारका सदस्यको नाममा प्रिमियममा निष्काशन गर्न अनुमति प्रदान गरिएको सर्वोत्तम सिमेन्टको सेयर राखेको खुलासा भएको थियो ।  


ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा र साउदले पत्नी शुशीला कुमारी बोहराको नाममा ११ हजार नौ सय १२ कित्ता सेयर लिएको पाइएको छ । सर्वोत्तम सिमेन्टले पहिलोपटक प्रिमियम मूल्यमा सेयर जारी गर्न अनुमति पाएको छ । यसअघि प्रतिकित्ता एक सय अंकित मूल्यमा मात्र प्राथमिक सेयर निष्काशन (आइपीओ) जारी गर्न सकिने व्यवस्था थियो । 

बुक विल्डिङ भनिने उक्त विधिबाट सर्वोत्तम सिमेन्टले चुक्ता पुँजीको १५ प्रतिशत बराबर हुने ६० लाख साधरण सेयर जारी गर्ने तयारी गरेको छ । सर्वोत्तम सिमेन्टले ७५० रुपैयाँ प्रतिकित्तामा सेयर बेच्न प्रस्ताव गरेको छ । यद्यपि मूल्य भने निर्धारण भैसकेको छैन । नियामक निकाय र ट्रेडिङ प्लेटफर्मका सीईओका परिवारले प्राप्त गरेको १० हजार कित्ता सेयर प्राप्त गरेको विवरण उक्त सिमेन्ट कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाएको विवरणमा उल्लेख छ । सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०७६/७७ मा दिएको बोनस समेत गरी ११ हजार एक सय ९२ कित्ता पुगेको बुझिएको छ ।

अर्थ मन्त्रालयले यस विषयमा बोर्डका अध्यक्ष र नेप्सेका सीइओ दुवैसँग स्पष्टीकरण लिइसकेको छ । तर, हालसम्म कारबाही गर्ने किसिमले निष्कर्षमा पुगेको छैन । 


Author

थप समाचार
x