सेयर

सेयर बजार विश्लेषण

राष्ट्र बैंक र धितोपत्रबोर्डको वक्तव्यबाजीले खस्कायो लगानीकर्ताको मनोबल

पुष्पराज आचार्य |
मंसिर २४, २०७७ बुधवार १७:२८ बजे

काठमाडौं : नियामक निकायहरूको वक्तव्यबाजीले सेयर बजारका लगानीकर्ताहरूको आत्मविश्‍वास कमजोर भएको देखिन्छ । सेयर बजारमा लगातार उछाल आएपछि गत साता सोमबार धितोपत्र बोर्डले लगानीकर्तालाई बजार तीव्र वृध्दि हुँदा सचेत भएर लगानी गर्न सुझाव दिदैं वक्तव्यबाजी गरेको थियो । त्यस्तै, नेपाल राष्ट्र बैंकले पनि बिहीबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका क्रममा सेयर धितो कर्जा (मार्जिन लेण्डिङ) कसिलो बनाउने उल्लेख गरेको थियो ।
 
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा कसिलो बनाउने सम्बन्धि परिपत्र अझै जारी गरिसकेको छैन । चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितो कर्जा पछिल्लो १२० दिनको कारोबारको औसत मूल्यको ७० प्रतिशतसम्म दिन पाइने व्यवस्था गरेको छ । यसलाई कसिलो गर्दा नेपाल राष्ट्र बैंकले धितो मूल्यको ६० प्रतिशत या ६५ प्रतिशत वा औसत मूल्य गणना गर्ने कारोबार दिन बढाउन सक्छ या दुवै गर्न सक्छ । मूर्त रुपमा कुनै स्पष्ट निर्देशन नआएकाले लगानीकर्ताको मनोबल खस्केको छ । 

बजारलाई अवसाद (डिप्रेसनमा) जान नदिन मार्जिन लेण्डिङमा लचिलो भएको नेपाल राष्ट्र बैंकले यही क्रममा बजार ओरालो लाग्दै गए परिपत्र नै जारी गर्नुनपर्ने अवस्था आउन सक्छन् । दुवै नियामक निकायहरू धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकको वक्तव्यबाजीले पाँच वर्षपछि बुलिश ट्रेण्ड पक्रिएको बजारलाई धक्का लगाउने काम भएको छ ।


पाँच वर्षको बीचमा बजारमा सूचीकृत कम्पनीको अग्राधिकार सेयरको आपूर्ति, नयाँ कम्पनीहरूको सेयर सूचीकरणले सेयरको संख्या पनि बढेको छ । अहिले खासगरी लगानीकर्ता लाभांश हरेर म्यानुफ्याक्चरिङ र प्रडक्सन, ट्रेडिङ, लघुवित्त कम्पनी, नेपाल टेलिकम, जीवन बीमा र पुनर्बीमा कम्पनीमा केन्द्रीत भएका छन् । लगानीकर्ताहरूले सेयर कारोबार गर्दा कम्पनीहरूको छनौटमा परिपक्‍वता अपनाएको देखिन्छ ।
 
अर्थशास्त्री विश्व पौडेलले यी दुई नियामक निकायले सेयर बजारका सम्बन्धमा अपरिपक्‍व वक्तव्यबाजी गरेको बताउँछन् । ‘सेयर बजारमा कम्पनी र सेयरहरूको संख्या बढाउने, इन्साइडर ट्रेडिङ्ग गर्नेलाई कारबाही गर्ने, अनलाइन ट्रेडिङ्ग र मार्जिन लेन्डिङ जस्ता सुविधा बढाउने र ब्रोकर कम्पनीहरूको प्रतिस्पर्धा बढाउने र कमिसन घटाउनेजस्ता काम गर्नु धितोपत्र बोर्ड र राष्ट्र बैंकको दायित्व हो,’ उनी भन्छन्, ‘नियामकले अन्धाधुन्ध वक्तव्यबाजी गर्ने र बजारमा अस्थिरता ल्याउने काम गर्नुहुँदैन ।’
 
मंसीर १० गतेसम्म १८०० बिन्दुभन्दा तल रहेको सेयरको मूल्य प्रतिबिम्बित गर्ने नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आज मंसीर १७  सम्म आइपुग्दा २९० अंकले बढेर गत बुधबार अहिलेसम्मकै उच्च २,०७१.०२ बिन्दूमा पुगेको थियो । मंसीर १८ (बिहीबार)मा बजार सामान्य करेक्सन भएर २,०५५.४५ अंकमा थियो । बिहीबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै मार्जिन लेण्डिङ्गमा कडाइँ गर्ने उल्लेख गरेको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दा गत साताको अन्तिम कारोबार दिन बजार बन्द भैसकेको थियो ।

राष्ट्र बैंकको निर्देशनको असर आइतबारदेखि सेयर बजारमा देखिएको छ । आइतबार एकै दिन १२३ अंकले घटेर बजार १,९३२.११ अंकमा झरेको थियो । आइतबार बजार ओरालो लागेपछि राष्ट्र बैंकमा पुगेको सेयर लगानीकर्ता प्रतिनिधिमण्डललाई डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले मार्जिन लेण्डिङमा तत्काल पुनरावलोकन नगर्ने आश्‍वासन दिएपछि  सोमबार बजार बढेर पुनः २ हजार अंकको थ्रेसहोल्ड पार गरेको थियो । सोमबार २,००४.३९ बिन्दूमा पुगेको बजार पुनः मंगलबार र बुधबार लगातार ओरालो लागिरहेको छ । 

मंगलबार ९.०४ अंकले घटेर १,९९५.३५ बिन्दु रहेको सेयर बजार परिसूचक बुधबार पुनः ३९.६ अंकले घटेर १,९५५.७५ अंकमा रोकिएको छ । बुधबार नेप्सेमा २०१ कम्पनीका ४ अर्ब ७४ करोड ५६ लाख रुपैँया मूल्य बराबरको एक करोड आठ लाख २१ हजार नौ सय ७२ कित्ता सेयर ४६ हजार चार सय ७५ कारोबारमार्फत् किनबेच भएको छ । बुधबार अरुण भ्याली हाइड्रोपावर कम्पनी, हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । त्यस्तै साल्ट ट्रेडिङ्ग कम्पनी, कालिका पावर कम्पनी र विशाल बजार कम्पनीको सेयर मूल्य क्रमशः ४.९१ प्रतिशत, ४.८५ प्रतिशत र ४.६७ प्रतिशतले घटेको छ ।
 
बुलिश ट्रेण्डमा रहेको सेयर बजार सामान्य करेक्सन हुने र बढ्ने सामान्य हो । बजारमा लगानी गर्न लगानीकर्ताको आत्मविश्वास बढिरहेका बेला नियामकको वक्तव्यबाजीले लगानीकर्ताको मनोबल खस्काएको छ । राष्ट्र बैंकको मार्जिन लेण्डिङ्ग सम्बन्धि परिपत्र छिट्टै जारी भए लगानीकर्ताको आत्मविश्वास फर्किनसक्छ । 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x