सेयर

दुई दिन लगातार घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन १७.५७ अंकले बढ्यो

इकागज |
भदौ १०, २०७८ बिहीबार १५:३४ बजे

काठमाडौँ– यो साता लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन भने १७.५७ अंकले बढेर ३,०९४.०१ बिन्दूमा पुगेको छ । नेप्सेमा सूचीकृत ‘क’ वर्गका सेयरको मूल्य मापन गर्ने ‘सेन्सेटीभ इन्डेक्स’ पनि ०.६ प्रतिशत अर्थात् ३.४ अंकले बढेको छ । यो साताको शुरुवाती दिन आइतबार र सोमबार सार्वजनिक विदाका कारण बजार बन्द थियो । नेपाल राष्ट्र बैंकले सेयर धितोमा प्रदान गरिने कर्जा सीमाभित्र नियमित गर्ने अवधि थोरै राख्ने हल्लाका कारण मंगलबार र बुधबार बजारमा बिक्रीको चाप देखिएको थियो । 

राष्ट्र बैंकले एक वर्षभित्र तोकेको सेयर धितोमा ऋण प्रति ऋणी १२ करोड र एउटा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँमा ल्याइसक्नुपर्ने गरी मंगलबार साँझ परिपत्र जारी गरिसकेको छ । यसका बाबजूद बुधबार बजार घटेको थियो । 


नेप्से परिसूचक मंगलबार ५६.०३ अंकले र बुधबार ४८.४२ अंकले खस्किएर ३०७६.४४ अंकमा आइपुगेको थियो । आज सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ्ग र बीमा समूहका परिसूचक ओरालो लागे पनि जलविद्युत्, विकास बैंक, वित्त कम्पनी, लघुवित्त र होटल तथा पर्यटन समूहका परिसूचक उकालो लागेका छन् । आज नेप्सेमा कारोबार भएका मध्ये १०२ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ७९ कम्पनीको मूल्य घटेको छ । 

बिहीबार नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रो र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सर्किट ब्रेकर लागेको छ । 

अरुण  भ्याली हाइड्रोपावरको ९३ करोड ८४ लाख रुपैयाँ मूल्यका १३ लाख ३० हजार ८ सय आठ कित्ता सेयर चार हजार सात सय २६ ओटा कारोबारमार्फत खदिर बिक्री भएको छ । बिहीबार सेयर बजारमा कारोबार रकम, सेयर संख्या र कारोबार संख्या तीनै हिसाबले यो सबैभन्दा ठूलो कारोबार हो । 

बिहीबार नेप्सेमा २ सय ३२ कम्पनीको १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार मूल्यका २ करोड १६ लाख ९० हजार पाँच सय ८५ कित्ता सेयर १ लाख ३० हजार नौ सय ३८ ओटा कारोबारमार्फत् खरिद–बिक्री भएको छ । 
 


Author

थप समाचार
x