सेयर

सेयर धितो कर्जामा राष्ट्र बैंक अझै कसिलो

सेयर धितोमा तोकिएभन्दा बढी ऋण दिए प्रवर्धकको लगानीबाट काटिने

इकागज |
असोज २५, २०७८ सोमबार २०:१६ बजे

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा अझै कसिलो नीति लिएको छ । एकीकृत निर्देशनमा संशोधित व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले कुनै पनि बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा चार करोड रुपैयाँभन्दा धेरै कर्जा दिएको अवस्थामा कर्जा सीमाभन्दा माथिको रकम पुँजी कोषबाट घट्ने भएको छ । 

यसअघि बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजी (अर्थात् पुँजीकोष) को ४० प्रतिशत भन्दा धेरै सेयर धितोमा कर्जा दिएमात्र सीमाभन्दा माथिको कर्जा पुँजी कोषबाट कटाइने व्यवस्था थियो । अर्थात् पुँजीकोषको ४० प्रतिशतभन्दा बढी सेयर धितो कर्जा दिएको अवस्थामा उक्त सीमाभन्दा बढी भएको परिमाणमा पुँजी कोषको आकार घट्थ्यो ।


कर्जा जोखिम कम गर्न नेपाल राष्ट्र बैंकले यो व्यवस्था गरेको हो । 

नेपाल राष्ट्र बैंकले सेयर धितोमा परिचालित कर्जालाई एक वर्षभित्र एउटा वित्तीय संस्थामा चार करोड रुपैयाँभित्र र एउटा ऋणीले सेयर धितोमा कुल १२ करोड रुपैयाँभन्दा धेरै ऋण लिन नपाउने व्यवस्था गरेको छ । पुँजी कोष अर्थात् प्रवद्र्धक सेयरधनीको लगानीबाटै सेयर धितोमा सीमाभन्दा बढी ऋण कटौती हुने भएपछि बैंक तथा वित्तीय संस्थाको पुँजीकोष घट्न जानेछ । 

सेयर धितोमा एक खर्ब ६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको र खासगरी एक करोड रुपैयाँ माथिको कर्जा नै ७३ अर्ब ५३ करोड रुपैयाँ पुगेपछि नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइँ गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एक ऋणीले सेयर धितोमा प्राप्त गर्न सक्ने कुल कर्जा सीमा १२ करोड र एउटा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा लिन नपाउने व्यवस्था भएको थियो । 
 


Author

थप समाचार
x