सेयर

नेप्सेमा साताभरी हरियाली

एक सातामा २२५ अंकले बढ्यो नेप्से, बिहीबार २७८२ बिन्दूमा

इकागज |
कात्तिक ११, २०७८ बिहीबार १५:४२ बजे

काठमाडौँ– सेयर बजारमा यो साताभर हरियाली देखियो । अघिल्लो साता बिहीबार २,५५६.९५ बिन्दूमा बन्द भएको बजार यो साता २२५.२१ बिन्दूले बढेर २,७८२.१६ बिन्दूमा पुगेको छ । बिहीबार नेप्से परिसूचक १३.०४ बिन्दू अर्थात् ०.४७ बिन्दूले बढेको हो ।

यो साता लगानीकर्ताले सेयरबजारबाट राम्रो प्रतिफल पाएका छन् । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक सोमबार ८७.६३ बिन्दूले र मंगलबार ७८.८२ अंकले बढेको थियो । साताका अन्य दिनहरूमा भने नेप्से परिसूचक सामान्य बढेको छ । 


बिहीबार भने बैंकिङ्ग, व्यापार, होटल र पर्यटन, म्यानुफ्याक्चरिङ्ग र उत्पादन, जीवन बीमा र म्युचुअल फण्ड समूहका परिसूचकबाहेक अन्य समूहका परिसूचक बढेका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक तथा नेपाल टेलिकम लगायतका कम्पनी सूचीकृत रहेको अन्य समूहको परिसूचक सबैभन्दा बढी २.५३ प्रतिशतले बढेको छ भने लघुवित्त र विकास बैंक समूहको परिसूचक क्रमशः २.४३ र २.२१ प्रतिशतले बढेको छ । 

बिहीबार रिडी हाइड्रोपावरको सेयरमा सर्किट ब्रेकर लागेको छ । मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य ९.३९ प्रतिशत र ९.२४ प्रतिशतले बढेको छ । २१ ओटा कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरै बढेको छ । अघिल्लो एक महिनामा सेयर बजार ओरालो लाग्दा भएको लगानीकर्ताको क्षति यो साता बजार उकालो लागेपछि ‘मेक–अप’ भएको छ । फाइनान्स (वित्त) कम्पनी र जलविद्युत्का लगानीकर्ता पुनः उकासिएका हुन् । बिहीबार भने लघुवित्त कम्पनीहरूको पनि सेयर मूल्य बढेको छ । 

बिहीबार नेप्सेमा नेशनल हाइड्रोको ६ लाख ८८ हजार ९४ कित्ता सेयर २९ करोड १९ लाख रुपैयाँ र नबिल बैंकको एक लाख ४१ हजार सात सय ४९ कित्ता सेयर २२ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, केही महिनाअघि मात्रै सूचीकृत भएको जीवन विकास लघुवित्तको १८ करोड ४४ रुपैयाँको सेयर बारोबार भएको छ । 

साताको अन्तिम करोबार दिन नेप्सेमा २२२ कम्पनीको ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ मूल्यका ९२ लाख ३६ हजार ६ सय १३ कित्ता सेयर ५९ हजार एक सय ४० करोबारबाट खरिद–बिक्री भएका छन् । 

 मिति

 नेप्से परिसूचक

 कारोबार रकम

 कात्तिक ७, आइतबार

 २,५८४.५२

 २ अर्ब ७७ करोड रुपैयाँ

 कात्तिक ८, सोमबार

 २,६७२.२५

 ४ अर्ब ३० करोड रुपैयाँ

 कात्तिक ९, मंगलबार

 २७५१.०२

 ६ अर्ब ३१ करोड रुपैयाँ

 कात्तिक १०, बुधबार

 २७६९.१३ 

 ६ अर्ब ६१ करोड रुपैयाँ

 कात्तिक ११, बिहीबार

 २७८२.१६

 ५ अर्ब ३९ करोड रुपैयाँ

 


Author

थप समाचार
x