तिहार बिदापछि खुलेको सेयर बजारमा १९.२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौँ– तिहार बिदापछि खुलेको सेयर बजारमा आज गिरावट आएको छ भने दैनिक कारोबार रकममा पनि उल्लेख्य कमी आएको देखिएको छ । सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.२ अंकले घटेर २,८२९.६४ बिन्दूमा आएको छ । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि २.७१ अंक अर्थात् ०.५१ प्रतिशतले घटेको छ ।
सोमबार नेप्सेमा वित्त कम्पनी समूह, म्युचुअल फण्ड समूह र इन्भेस्टमेन्ट समूहका परिसूचक बाहेक अन्य सबै समूहगत परिसूचक ओरालो लागेका छन् । विकास बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल टेलिकम समेतको सेयर सूचीकृत भएको अन्य समूह, बैंकिङ्ग समूह र निर्जीवन वीमा कम्पनी समूहको समूहगत परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ । सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ्ग समूहको परिसूचक १.०५ प्रतिशतले घट्दा बजार घट्न मद्दत पुगेको देखिन्छ ।
नेप्सेमा कारोबार भएकामध्ये १४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ कम्पनीको सेयर मूल्य बढेको छ । तिहारपछि बजारमा सेयर बिक्रीको चाप बढेको छ । सपोर्ट माइक्रोफाइनान्स, पाँचथर पावर कम्पनी, कालिका पावर, हिमालयन उर्जा विकास कम्पनी, जोशी हाइड्रोपावर लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले धेरै गुमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य सोमबार मात्रै ७.९६ प्रतिशतले घटेको छ भने अन्य कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा कमले घटेको छ ।
आइसीएफसी फाइनान्स र साहस उर्जा लिमिटेडको सेयरमा सर्किट ब्रेकर लागेको छ भने तेह्रथुम पावर, मानुषी लघुवित्त र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सोमबार महालक्ष्मी विकास बैंकको ६ लाख ७८ हजार ६ सय २५ कित्ता सेयर ५२ करोड १० लाख रुपैयाँमा किनबेच भएको छ । यो सोमबार नेप्सेको सबैभन्दा ठूलो कारोबार हो ।
सोमबार नेप्सेमा २३० कम्पनीका ४ अर्ब ४२ करोड ७ लाख १९ हजार एक सय तीन रुपैयाँ मूल्यका ७२ लाख ७ हजार तीन सय ९६ कित्ता सेयर ४९ हजार पाँच सय ३० पटकको कारोबारबाट खरिद–बिक्री भएका छन् ।
मिति |
नेप्से परिसूचक |
कारोबार रकम |
कात्तिक ७, आइतबार |
२,५८४.५२ |
२ अर्ब ७७ करोड रुपैयाँ |
कात्तिक ८, सोमबार |
२,६७२.२५ |
४ अर्ब ३० करोड रुपैयाँ |
कात्तिक ९, मंगलबार |
२७५१.०२ |
६ अर्ब ३१ करोड रुपैयाँ |
कात्तिक १०, बुधबार |
२७६९.१३ |
६ अर्ब ६१ करोड रुपैयाँ |
कात्तिक ११, बिहीबार |
२७८२.१६ |
५ अर्ब ३९ करोड रुपैयाँ |
कात्तिक १४, आइतबार |
२८३७.६१ |
७ अर्ब ८२ करोड रुपैयाँ |
कात्तिक १५, सोमबार |
२८१९.८६ |
७ अर्ब ७७ करोड रुपैयाँ |
कात्तिक १६, मंगलबार |
२८४३.६२ |
६ अर्ब ७ करोड रुपैयाँ |
कात्तिक १७, मंगलबार |
२८४८.८४ |
६ अर्ब ५५ करोड रुपैयाँ |
कात्तिक २२, सोमबार |
२,८२९.६४ |
४ अर्ब ४२ करोड रुपैयाँ |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया