धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार नियुक्त
काठमाडौँ - नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन्। साढे चार महिनादेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
इन्भेष्टमेन्ट म्यानेजमेन्टमा राम्रो दख्खल राख्ने हमालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी, रियल इस्टेटलगायत विभिन्न क्षेत्रमा २९ वर्ष काम गरेको अनुभव छ।
धनगढी स्थायी घर भएका हमालले सन् १९८९ मा भारतको जम्सेदपुरबाट इन्जिनियरिङमा स्नातक गरेका हुन्। सोपछि १९९९ मा उनले बैंकक (थाइल्याण्ड) को एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (एआईटी) बाट एमबीए गरेका छन्। इन्जिनियरिङ र एमबीए दुवै उनले पूर्ण छात्रवृत्ति पाएर अध्ययन गरेका हुन्।
योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले हमालका साथै कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारिस गरेको थियो। बुक बिल्डिङ प्रकियाबाट प्राथमिक सेयर निष्काशन गर्ने भनिएको सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा मुछिए पश्चात तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानालाई छानबिन समितिको सुझावमा सरकारले बर्खास्त गरेको थियो। उनी बर्खास्तमा परेपछि सरकारले अध्यक्ष नियुक्तिका लागि छनौट समिति बनाएर प्रक्रिया अगाडि बढाएको थियो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया