सेयर

साताको प्रथम कारोबारमा १५ अंकले घट्यो नेप्से

कारोबार रकममा कमी

इकागज |
चैत ६, २०७८ आइतबार १५:३१ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको प्रथम कारोबारको दिन आइतबार गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन १४.६७ अंकले गिरावट आएको हो ।

आइतबार २६३१.३२ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६१६.५८ अंकमा ओर्लिएको छ । अर्थात आज नेप्से परिसूचक ०.५६ प्रतिशतले बजार घटेको छ। आज 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक ०.६० प्रतिशत अर्थात ३.०१ अंकले घटेर ४९४ दशमलव ३८ अंकमा उक्लिएको छ ।


आज कारोबार रकममा पनि कमी आएको छ। आइतबार कारोबार भएका २ सय २४ कम्पनीको सेयर कारोबारमा २ अर्ब २७ करोड ४६ लाख  २६ हजार १ सय ९१ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो। गत साताको अन्तिम कारोबारको दिन बुधबार २ अर्ब ५७ करोड ४ लाख बराबरको सेयर खरिद बिक्री भएको थियो। आज ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता सेयर ३५ हजार २ सय १२ पटकको कारोबारमा खरिद बिक्री भएको थियो ।

समूहगत परिसूचकमा आज लगानी बाहेक अन्य १२ समूहको सेयर मूल्य घटेको छ। आज लगानी १ दशमलब ६६ अंकले बढेको छ।  सबैभन्दा बढी गुमाउने होटेल तथा पर्यटन समूह १ दशमलव ९६ प्रतिशतले गिरावट आएको छ।

दोहोरो अंकले बजार घट्दा आज कारोबार भएका ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ४१ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा राष्ट्र उत्थान लघुवित्त तथा इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्यले सकारात्मक सर्किट हानेका छन् । अन्य बढी कमाउने कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा), सप्तकोसी डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त लगायत छन् ।

आज सर्वाधिक कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, जीवन विकास लघुवित्त, नेपाल दुरसञ्चार कम्पनी लिमिटेड,  अपी पावर कम्पनी, नेपाल बैंक लिमिटेड लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा मैलुङ खोला जलविद्युत आयोजना, शिव श्री हाइड्रो पावर, प्रभु लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स तथा विशाल बजार कम्पनी रहेका छन् ।

 


Author

थप समाचार
x