सेयर

सेयर बजार परिसूचक सुधार, १० कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

९५.५२ अंकले बढ्यो बजार

इकागज |
बैशाख ११, २०७९ आइतबार १५:३७ बजे

काठमाडौँ- आइतबार सेयर बजारमा हरियाली छाएको छ। साताको पहिलो कारोबारको दिन नेप्से ९५ अंकले सुधार भएको हो। गत साताभर करिब ९० अंकले घटेको बजारमा आज एकैपटक ९५.५२ अंकले सुधार भएको छ।  कारोबार सुरु भए देखिनै बढ्न थालेको बजार अन्तिम सम्म कायम रह्यो। तरलता  अभाव लगायतका समस्याले घट्दै गएको बजारमा आइतबार उछाल देखिएको हो। राजनीतिमा स्थानीय तहको चुनावको उम्मेदवारी दर्ताको गर्मी बढ्दा सेयर बजार पनि तातेको छ। 

गत बिहीबार २३२५.४५ मा पुगेर बन्द भएको बजार आजको कारोबार पश्चात २४२०.९१ अंकमा उक्लिएको छ। सेयर बजार मापक परिसूचक आज ४.११ अंकले बढेको छ भने 'क' वर्गका कम्पनीहरूको सेयर मूल्य मापक परिसूचक १७.७४ अंकले बढेर ४६०.८८ अंकमा उक्लिएको छ।  


आज कारोबार भएका २ सय ३८ कम्पनीहरू १ सय ९३ ओटा कम्पनीको सेयर उकालो लागेको छ भने १ कम्पनीको सेयर मूल्य घटेको छ।

कारोबार रकममा पनि आज सामान्य बढोत्तरी भएको छ। आइतबार २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५ सय ९३ रूपैयाँ बराबरको ६६ लाख ३९ हजार ५ सय ४ कित्ता सेयर ४३ हजार ४ सय ५० पटक कारोबार भएको छ।

९५ अंकले परिसूचक बढ्दा १० कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । जसमा नेशनल हाइड्रो पावर, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रो पावर, मञ्जुश्री फाइनान्स, खानी खोला हाइड्रो, घेलम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, हिमाल दोलखा हाइड्रोको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ।

उल्लेख्य रूपमा बजार बढ्दा पनि नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर, नेष्डो समृद्ध लघुवित्त, लक्ष्मी बैंक, सिद्धार्थ इक्युटी फण्डको सेयर मूल्य घटेको छ।

 


Author

थप समाचार
x