समाज

झा दम्पतीको हत्यामा प्रयोग गरिएको सामाग्रीसहित थप ३ जना पक्राउ

इकागज |
चैत १५, २०७७ आइतबार १९:४२ बजे

जनकपुरधाम :  महोत्तरी प्रहरीले झा दम्पतिको हत्या आरोपमा थप तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीले तारादेवी झा र उनका दुई छोरा कैलाश र विकासलाई पक्राउ गरिएको  जनाएको छ। प्रहरीले उनीहरुलाई गत शुक्रबार नै पक्राउ गरेको हो ।   झा दम्पतीको हत्यामा प्रयोग गरिएको सामाग्रीहरु पनि प्रहरीले बरामद गरेको छ ।  

जिल्लाको पिपरा गाउँपालिका ५ सहोडवा निवासी ७० वर्षीय मुसाफिर झा र ६५ वर्षिय उनकी श्रीमती गीता देवी झा गएको फागुन १० गते राति सुतिरहेको अवस्थामा घरबाटै बेपत्ता पारिएको थियो ।    


आरोपित कैलाश झाको घरमा झा दम्पतीको जलेको कपडा, दाउरालगायतका सामग्रीसमेत बरामद भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । हत्यामा उनीहरुको प्रत्यक्ष रुपमा संलग्नता देखिएको प्रहरी उपरीक्षक आचार्यले दाबी गरे ।


घटनाको एक महिनापछि झा दम्पतीको शव पिपरा गाउँपालिका २ अतरार गाउँमा जमिनमुनि पुरिएको अवस्थामा फेला परेको थियो । यसअघि सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले सो छिमेकी रामबाबु लगायत ५ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ । 

झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले एक साता अघि उनका छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादव, भारत बिहार मधुबनी जिल्ला तरैया घर भई महोत्तरीको बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो । जग्गा विवादका कारण उनीहरुलाई बेपत्ता पारेर हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले खुलाएको छ  । 


Author

थप समाचार
x