समाज

चैत मास खडेरीमा डढेलोले वातावरणै खायो

सृजना खड्का |
चैत १६, २०७७ सोमबार १९:१५ बजे

काठमाडौँ : ‘यो डढेलोको मौसम हो,’ डढेलो नियन्त्रण विज्ञ सुन्दरप्रसाद शर्मा भन्छन् । उनका अनुसार सोमबार देशभर ३५ जिल्लाका १ सय १७ स्थानमा डढेलो लागिरहेको छ । केही दिन पहिले एकैदिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो लागेको थियो । 

‘डढेलोको पिक सिजन त अझ आउनै बाँकी छ,’ उनी भन्छन्, ‘त्यो पिक सिजन भनेको बैशाखको दोस्रो साता हो । बैशाख १२ गतेको आसपास झनै धेरै डढेलो लाग्‍ने सक्ने संभावना छ ।’ यो डढेलो वातावरणसँग जोडिएको हुनाले समयमै सजकता अपनाउनु आवश्यक रहेको उनी बताउँछन् ।
 
उनका अनुसार नेपालमा धेरैजसो डढेलो मानिस स्वयम्ले नियतबस लगाउने गरेका छन् । ‘अध्ययनहरूले पनि झन्डै ६४ प्रतिशत डढेलो नियतबस वा जानीजानी लगाउने गरेको पाइन्छ,’ शर्मा भन्छन्, ‘त्यसमध्ये ३२ प्रतिशत दुर्घटनाबस वा लापर्वाहीको कारण लाग्छ । बाँकी ४ प्रतिशत डढेलो लाग्नुको कारण भने खुल्न सकेको छैन ।’
 
अहिले उपत्यकामा देखिएको प्रदुषणको प्रमुख कारण डढेलो रहेको उनी बताउँछन् । ‘अहिलेको उपत्यकाको प्रदुषणमा ५० प्रतिशतभन्दा बढी हात डढेलोको छ,’ उनी भन्छन्, ‘त्यसबाहेक उद्योगधन्दाबाट निस्किने प्रदुषण र यातायातबाट निस्किने प्रदुषण आदिको पनि भूमिका छ ।’
 
वातावरणविद् भूषण तुलाधार अहिलको अवस्थामा प्रदूषणबाट बच्न जुन ठाँउमा अत्याधिक प्रदुषण भएको छ त्यो ठाँउमा नजान सल्लाह दिन्छन् । त्यस्तै बिहानीपखको मर्निङवाकसमेत केही समयलाई रोक्न उनको अनुरोध छ । 


उनका अनुसार प्रदूषणले स्वास्थ्यमा आँखा पिरो हुने, श्‍वास फेर्न गाह्रो हुने जस्ता तत्कालिन असर त देखिन्छन नै दीर्घकालिन थुप्रै असरहरू पनि देखिन्छन् । ‘यस्तो खालको प्रदुषणले गर्भमा रहेको बच्चालाई अधिक असर गर्छ,’ उनी भन्छन्, ‘यो बेलामा गर्भवती, दम वा श्‍वासप्रश्‍वासका बिरामीले विशेष सजगता अपनाउनुपर्छ ।’
 
वातावरणविद् तुलाधारले यो प्रदुषण कम गर्न प्रकृतिमै भर पर्नुपर्ने बताउँछन् । ‘त्यसको लागि कि आकाशबाट पानी पर्नुपर्छ कि प्रदुषण घट्ने गरी हावाको बहाव आउनुपर्छ,’ उनी भन्छ्न् । 

जनस्वाथ्यविज्ञ डा.रविन्द्र पाण्डे उपत्यकामा वातावरण प्रदुषण निकै बढेको हुनाले यसको प्रभाव कम गराउन सबैले होस्टेमा हैँसे गर्नुपर्ने बताउँछन् । यस्तो अवस्थामा यातायातमा जोरबिजोर प्रणाली लागू गर्नुपर्ने, अनावश्यक रूपमा आगो बाल्न नहुने, सवारीसाधनको प्रयोग घटाउनु पर्ने उनी बताउँछन् ।
 
‘त्यस्तै आवश्यक नपरेमा विद्युतको प्रयोग गर्र्नु हुँदैन, एसीको सट्टा सकेसम्म पङ्खाको प्रयोग गर्नुपर्छ,’ उनी भन्छन्, ‘प्लास्टिकलाई कडाइसाथ नियन्त्रण गर्नुपर्छ र  अत्यावश्यक कामबाहेक घरबाहिर निस्किनु हुँदैन ।’ यो अवस्था लामो समयसम्म रहिरह्यो भने अस्पतालमा बिरामीहरूको संख्या बढ्ने निश्‍चित रहेको जनस्वास्थ्यविज्ञ पाण्डे बताउँछन् । 

यसका लागि सम्बन्धित निकायले समयमै ध्यान दिनु जरुरी रहेको उनी बताउँछन् । ‘डढेलोबाट निस्किने प्रदुषणको घनत्व बढी हुन्छ,’ उनी भन्छन्, ‘त्यो प्रदुषण अरु प्रदुषणमा मिसिदा स्वास्थ्यलाई झनै हानी पुर्‍याउँछ । जसले केही समयपछि गम्भीर असर देखाउन सक्छ ।’

छाती रोग विशेषज्ञ डा.मदनकुमार पियाले यो अवस्थामा मास्क छाड्नै नहुने बताउँछन् । ‘घरमै बसिरहने र स्वस्थ मानिसलाई पनि अहिले भइरहेको वातावरण प्रदुषणले आँखा पोल्ने र श्‍वासप्रश्‍वासमा समस्या हुने भएको छ,’ उनी भन्छन्, ‘झन् रोगीहरूलाई त यसले समातिहाल्ने भएकाले सकेसम्म बाहिर ननिस्कौँ  । निस्किनै परे पनि मास्क लगाएर मात्रै निस्कौँ ।’ 
०००
वायु प्रदूषण अत्यधिक बढेपछि सोमबार सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णयसमेत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आकस्मिक बैठकले मंगलबारदेखि शनिबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गत पुस अन्तिम साता विश्‍वका प्रमुख सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौँ पहिलो नम्बरमा परेको थियो । ‘आईक्यू एअर’का अनुसार काठमाडौँको वायुमण्डलमा ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) ४ सय ८७ पुगेको थियो । 

वातावरणविद्ले यसको कारण पनि डढेलो रहेको बताउँदै आएका छन् । यसरी बारम्बार भइरहने प्रदुषणलाई हल्का रूपमा नलिन सुझाव दिन्छन् वातावरणविद् तुलाधर । ‘यो प्रदुषणलाई हामीले कुनै पनि हालतमा हल्का रूपमा लिनुहुुँदैन,’ उनी भन्छन्, ‘यो क्रम बढ्दै गयो भने हामी ठूलो वातावरणिय दुर्घटना पर्ने निश्‍चित देखिन्छ ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x