फोहोर व्यवस्थापनमा सहयोग गरिदिन काठमाडौँ महानगरको आग्रह
कुहिने फोहोर घरमै व्यवस्थापन गर्न अनुरोध
काठमाडौँ : तीन दिनदेखि नुवाकोट, सिसडोलका स्थानीयले काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोर मैला विसर्जन गर्न अवरोध गरिरहेका छन् । फोहोर व्यवस्थापनमा समस्या भएपछि काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले फोहोर उत्पादक र ल्याण्डफिल साइट प्रभावितका नाममा विज्ञप्ति जारी गर्दै फोहोर व्यवस्थापनमा सहयोग गरिदिन प्रभावित क्षेत्रका बासिन्दासँग अनुरोध गरेको छ ।
‘काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोर मैलाको अन्तिम विसर्जनस्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा-२ स्थित ल्याण्डफिल्ड साइटका प्रभावित बासिन्दाले विभिन्न माग राखी फोहोर व्यवस्थापन कार्यमा २०७७ चैत १३ देखि अवरुद्ध गर्दै आएकोमा काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा उल्लेख छ, ‘स्थानीय बासिन्दाको माग सम्बन्धमा काठमाडौँ महानगरपालिकाले नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सम्बन्धमा काठमाडौँ महानगरपालिका सकारात्मक अपेक्षा गर्छ ।’
त्यस्तै अहिले साइटमा फोहोर लैजान सक्ने अवस्था नरहेकोले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहोर बर्गीकरण गर्न पनि विभागले अनुरोध गरेको छ । बर्गीकरण गरिएकोमध्ये कुहिने फोहोरलाई आफैले व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि घरमै राख्न तथा संकलन गर्ने गाडी आएपछि मात्र बाहिर निकालेर सहयोग गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।
स्थानीय माग र सुनुवाइको वातावरणका विषयमा प्रतिक्रिया दिँदै वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘सिसडोलबासीलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिरहेका छौँ । यसलाई सकारात्मक रूपमा लिएर सहयोग हुने हाम्रो अपेक्षा हो । यदि निरन्तर अवरोध भयो भने हामीले फोहोर विसर्जन कार्यका लागि थप कदम चाल्नुपर्ने हुनसक्छ ।’
फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा शिक्षक दरबन्दी प्रदान गर्ने, माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने माग राखेर माग राखेर फोहोर लैजान अवरोध गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया