समाज

रुकुम हत्याकाण्ड : दुई वर्षसम्म न्यायको पर्खाइमा पीडित परिवार

इकागज |
जेठ १०, २०७९ मंगलबार ११:२४ बजे

नवराज विकका आमा र बुवा मुनलाल

काठमाडौँ- अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका पाँच जना साथीको रुकुममा हत्या भएको दुई वर्ष पूरा भएको छ । दुई वर्षअघि १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा आफूभन्दा कथित माथिल्लो जातकी युवतीसँग प्रेम गरेका भन्दै जाजरकोटका विक र उनका पाँच जना साथीहरूलाई लखेटी-लखेटी भेरी नदीमा हेलिएको थियो ।

हत्या हुनेमा गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपाली पनि थिए । उनीहरूलाई हातखुट्टा बाँधेर भेरी नदीमा फालिएको थियो । 


अन्तरजातीय प्रेम सम्बन्धमा रहेका नवराज र उनका साथीहरूलाई त्यही आरोपमा सोती गाउँका कथित माथिल्लो जातका व्यक्तिहरूले कुटपिट गरी हत्या गरेका थिए । उनीहरूलाई गाउँलेले घेरा हालेर लखेटी–लखेटी घरेलु हतियारले प्रहार गरेका थिए । मृतक र घाइतेलाई हातखुट्टा बाँधेर भेरी नदीमा बगाइएको थियो ।

दुई वर्ष पुगिसक्दा यो मुद्दा टुंगिएको छैन । दुई वर्षसम्म पनि मुद्दा नटुंगिदा पीडित परिवार निरास बनेका छन् । तर, उनीहरू अझै पनि न्याय पाउने आशामा रहेको बताउँछन् । 

हत्याकाण्डमा संलग्न आरोपमा सोतीका ३४ जनामाथि जिल्ला अदालतमा मुद्दा चलाइएको छ । तीमध्ये २३ जना थुनामा छन् । जिल्ला अदालतले गरेको पुर्पक्ष थुनासम्बन्धी निर्णयलाई उच्च अदालत सुर्खेत र सर्वोच्च अदालतले समेत जाँचेर सुरुमा पक्राउ परेकामध्ये ११ जनालाई तारिखमा छाडेका छन् । 

घटनाको १६ दिनपछि २०७७ जेठ २६ गते प्रतिनिधि सभाले सांसद देवेन्द्र पौडेल (हाल शिक्षामन्त्री) को नेतृत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । उक्त समितिले असार ३० मा सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

राष्ट्रिय मानवअधिकार आयोग र गृह मन्त्रालयले पनि सोती हत्याकाण्डको अनुसन्धान गरेका थिए । दुवै निकायले विज्ञप्तिमार्फत केही तथ्य सार्वजनिक गरे तर प्रतिवेदन गुपचुप नै छ ।

हत्यामा संलग्नलाई कारबाहीका लागि दबाब दिन जेठ १० लाई जात व्यवस्थाविरुद्धको विद्रोह दिवसका रूपमा मनाउन मंगलबार काठमाडौंको माइतीघरमा पनि प्रदर्शन हुँदै छ ।


Author

थप समाचार
x