समाज

खराब मौसमका कारण सेनाको हेलिकप्टर पनि खोजीमा जान सकेन

इकागज |
जेठ १५, २०७९ आइतबार १३:१५ बजे

पोखरा - सम्पर्कविहीन भएको तारा एअरको जहाजको खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर पनि खराब मौसमका कारण उड्न सकेको छैन । १७ जनासहित सेनाको जहाज मुस्ताङतर्फ उड्ने तयारी गरे पनि प्रतिकुल मौसमका कारण पोखरा विमानस्थलमै रोकिएको हो ।

पोखरामा आंशिक वर्ष भइरहेको छ भने मुस्ताङमा पनि वर्षा भएका कारण खोजी कार्य प्रभावित भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । वर्षा कै कारण केही समय अघि सम्पर्कविहीन जहाजको खोजीका लागि जाेमसाेमबाट उडेको हेलिकप्टर फर्केको उनले जानकारी दिए ।


प्राधिकरणका अनुसार जहाज बिहान पोखराबाट ९ः५५ बजे जोमसोमको लागि उडेको थियो । जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः०५ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।

सो पश्चात विमान सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ । ‘काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरू स्ट्याण्ड बाई रूपमा रहेकोले मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोज कार्य पुनः सुरु गरिनेछ । स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यस तर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराइन्छ,’ प्राधिकरणले विज्ञप्तिमा भनेको छ ।


Author

थप समाचार
x