समाज

‘स्‍नो स्प्रे’ले शुभदिनलाई बनाउला अशुभ

सृजना खड्का |
चैत १८, २०७७ बुधबार ८:३५ बजे

‘ह्याप्पी बर्थडे’, ‘ह्याप्पी एनिभर्ससी’, ह्याप्पी मदर्स/फादर्स डे’ जस्ता यी ह्याप्पी डेजलाई अझ ह्याप्पी बनाउन हामी अनेक उपाय लगाउँछौँ । ती मध्यको एउटा उपाय हो- ‘स्‍नो स्प्रे’

बजारमा सय रुपैयाँदेखि छ्याप्छ्याप्ती पाइने स्‍नो स्प्रे केक काट्दा प्रायः प्रयोग गरिन्छ । सानो बोतलमा पाइने स्‍नो स्प्रेलाई हल्लाएर थिचेपछि हिउँ जस्तै सेतो चिज फुरुरुरु झर्छ । माहोललाई रमाइलो बनाउन त्यो नक्कली हिउँ हामी मानिसको टाउको, शरीर, केक जताततै छर्छौँ । यो दृष्यमा मानिसहरू खुशीले दंग पर्छन् । फोटो खिच्छन् । यो क्षणलाई भिडियोमा समेत कैद गर्छन् । 


काठमाडौँ, जडिबुटीस्थित ‘पहिचान रेस्ट्रो’मा मानिसहरू दिन बिराएर बर्थडे सेलिब्रेसनका लागि आउँछन् । आउँदा उनीहरूको साथमा अनिवार्य हुन्छ, स्‍नो स्प्रे । कतै छुटिहाल्यो भने पनि मानिसहरू हुँइकिएर बाइकमा जान्छन् र स्‍नो स्प्रे किनेर ल्याउछन् अनि मात्रै केक काट्छन् । रेस्ट्रोका सञ्चालक सेराप मोक्तान स्‍नो स्प्रे बर्थडे वा अरु कुनै स्पेसल डे सेलिब्रेट गर्न आउनेहरूका लागि अनिवार्य बनिसकेको बताउँछन् । 

सेरापलाई फोटो खिच्दा राम्रो आउने भएकाले मानिसहरूले स्‍नो स्प्रे प्रयोग गर्छन् जस्तो लाग्छ । ‘फोटो खिच्दा हिँउ जस्तै देखिने भएकाले धेरैले फोटो खिच्‍नकै लागि प्रयोग गर्छन्,’ उनी भन्छन्, ‘प्रयोग गर्ने धेरैको छालामा एलर्जी पनि भएको छ । तर, एकचोटी एलर्जी भए पनि फेरि अर्कोचोटी आउँदा त्यही चिज नबोकी आउँदैनन् ।’

स्‍नो स्प्रेले एकपटक उनको रेस्ट्रोमा आगो नै लगाइदिएको छ । ‘त्यसले एलर्जी मात्रै होइन आगो भेट्यो भने पनि स्वाट्टै टिप्दो रहेछ,’ उनी भन्छन्, ‘एकपटक त्यस्तै भयो । क्यान्डल बालेर, स्‍नो स्प्रे छर्केर धुमधामसँग बर्थडे सेलिब्रेसन चलिरहेको थियो । स्‍नो स्प्रेले आगो टिपेर    जन्मदिन मनाउन आउनेको कपाल अनुहार जल्यो । रेस्ट्रोको सोफा पनि जल्यो ।’ त्यही दिनबाट सेरापलाई थाहा छ यो स्वास्थ्यका लागि हानीकारक छ । तर, रेस्ट्रोमा आउने ग्राहकको खुशीका खातिर उनी केही बोलिदिदैनन् । ‘हाम्रो काम भनेकै सेवा गर्नु हो,’ उनी भन्छन्, ‘ग्राहकलाई यो गर त्यो नगर हामी भन्‍न सक्दैनौँ । तर, बुझेको मान्छेले यस्तो चिजको सकेसम्म प्रयोग नगरेकै राम्रो । तर, मान्छे आफ्ना रहर पूरा गर्न जस्तोसुकै जोखिम मोल्न पनि तयार छन् ।’  

जन्मदिन सुस्वाथ्य र दिर्घायुको कामना गर्न मनाइन्छ । तर, त्यही सुस्वास्थ्य र दिर्घायुको लागि मनाइने जन्मदिन हाम्रो मुर्खतका कारण अस्वस्थ र दुर्घटनाग्रस्त बन्‍न सक्छ । स्‍नो स्प्रे ‘मिथाइलिन क्लोराइड’, ‘आइसो साइनेट’, ‘पोलिओल’ आदि जस्ता केमिकलको प्रयोग गरेर बनाइएको कृत्रिम हिउँ हो । बजारमा सय रुपैयाँमा पाइने स्‍नो स्पे्रका हजारौँ हानी छन् । 

डाइटिसियन आरेम कार्कीका अनुसार स्‍नो स्प्रेले हाम्रो शरीरमा दुई तरिकाले छिर्छ र हानी गर्छ । पहिलो, बर्थडे प्रायः बन्द ठाँउमा मनाइने भएकाले स्‍नो स्प्रे छर्किदा त्यसमा भएको केमिकल हावाको माध्यमबाट श्वास फेर्दा शरीरभित्र छिर्छ । दोस्रो, स्‍नो स्प्रे छर्किँदा केकमा पर्छ र, खादा केकको माध्यमबाट शरीरमा जान्छ । 

उनका अनुसार स्‍नो स्पे्रमा नदेखिने खालका स-साना कणहरू हुन्छन् । जुन शरीरभित्र गएपछि असर गर्न थाल्छ । ‘यसको निरन्तर प्रयोगले आँखा र छालामा एलर्जी गराउँछ, ग्यास्ट्रिक वा अल्सरलाई फैलाउँछ,’ उनी भन्छन्, ‘यति मात्रै नभएर त्यसमा भएका केमिकल क्यान्सर गराउने खालका समेत हुन्छन् । ति केमिकल रगतमा मिसिएर भित्री अंगहरू जस्तैः किड्नी, फोक्सो, कलेजो आदिलाई समेत क्षति पुर्‍याउन सक्छ ।’

डाइटिसियन कार्की स्‍नो स्प्रेले तत्कालै धेरै असर नदेखाएपनि यसको दीर्घकालिन असर निकै भयानक रहेको बताउँछन् । ‘कसैकसैलाई यसको प्वाइजनिङले पखाला लाग्ने, बान्ता आउने हुन्छ,’ उनी भन्छन्, ‘धेरैलाई भने तत्कालै कुनै प्रतिक्रिया नदेखिए पनि पछि गएर सोच्दै नसोचेको स्वास्थ्य समस्या आउन सक्छ ।  

अस्वस्थकर खानेकुरा, रसायनयुक्त तरकारी, धुवाँधुलोले जीवनलाई घेरिरहेको बेला स्‍नो स्प्रे जस्तो अस्वस्थकर चिजले जीवनलाई झनै अस्वस्थ बनाइदिएको उनी बताउँछन् । त्यमा मानिसहरूले जन्मिदै नजन्मिएको बच्चालाई समेत सामेल गराएको देख्दा डाइटिसियन कार्की छक्क पर्छन् । ‘बेबी सावर भनेर जन्मिदै नजन्मेको बच्चालाई समेत स्‍नो स्प्रे छर्केर केमिकले घेर्छन्,’ उनी भन्छन्, ‘यसले आमा र बच्चा दुबैको स्वास्थ्यलाई हानी गर्छ भन्‍नेतिर हामी कसैको ध्यान छैन ।’ 

स्‍नो स्प्रे मात्रै नभएर जन्मदिनमा प्रयोग हुने ‘पार्टी पोपर’को पनि उत्तिकै हानीकारक भएको उनी बताउँछन् । ‘पार्टी पोपरभित्र भएका कागजका टुक्रा पड्काएर फुर्रर बनाउने चलन अहिले चलिआएको छ,’ उनी भन्छन्, ‘त्यो पड्काउँदा केकमा मिसिन्छ । खाँदा पेटभित्र जान्छ । ती प्लास्टिकका टुक्रा सानो र धारिलो तरिकाले काटिएको हुन्छ । पेटभित्र परेर त्यसले आन्दालाई कोतार्ने सम्भावना हुन्छ ।’ 

डाइटिसियन कार्कीका अनुसार हाम्रो आन्द्रामा एक किसिमको फिल्टर सिस्टम हुन्छ । त्यसको काम शरीरलाई चाहिने खानेकुरा मात्र भित्र छिर्न दिनु हो । ‘तर, ती टुक्राले आन्द्रामा भएको फिल्टर च्यातियो भने शरीरलाई नचाहिने कुरापछि छिर्छ र हामी अस्वस्थ हुन्छौँ,’ उनी भन्छन् । 

स्‍नो स्प्रे र पार्टी पोपर मात्रै नभएर जन्मदिन मनाउँदा प्रत्येकको घर-घरमा काटिने केक आफैमा स्वस्थकर नभएको डाइटिसियन कार्की बताउँछन् । ‘चिनी, मैदा, अनावश्यक फ्याट आदिबाट बनेको हुनाले केक आफैमा अस्वस्थकर खानेकुरा हो,’ उनी भन्छन्, ‘केकलाई डेकोरेसन गर्नका लागि विभिन्‍न कलर र फ्लेबरहरू राखिएको हुन्छ । त्यस्तै लामो समयसम्म नबिग्रियोस् भन्‍नका लागि पनि केमिकल हालिएको हुन्छ । त्यसले स्वास्थ्यलाई निकै असर गर्छ ।’ शुभ दिन मनाउने सबैलाई अन्तिमममा डाइटिसियन कार्की भन्छन् - ‘हाम्रै मुर्खताले हाम्रो शुभ दिन अशुभ नबनोस् ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x