समाज

दृष्टिविहीनद्वारा दृष्टिविहीनका लागि पाककला

सृजना खड्का |
जेठ १७, २०७९ १६:६ बजे

काठमाडौँ– सबैको हातमा करेला थमाउँदै नवलपरासीकी नवीना ज्ञवालीले भनिन्, ‘सुरुमा छामेर यसको दुबैतिरको टुप्पो पत्ता लगाउने अनि त्यो टुप्पो थोरै फ्याँक्ने ।’​​

नवीनालाई ११ जना दृष्टिविहीन सहभागीले सुनिरहेका थिए । उनीहरूका हात तरकारी र धारिलो चक्कुसँग बानी नपरेका जस्ता देखिन्थे । तर, नवीनाको निर्देशनपछि केहीले छामेर करेलाको टुप्पो भेटाउने प्रयास गर्न थाले । केहीले भेटिसकेको टुप्पोलाई  चक्कुले रेट्न थाले । उनीहरूमध्ये केही भने अलमलमा परिरहेका जस्ता देखिन्थे ।​ 


तीमध्येकी ४० वर्षीया उमा अधिकारी भने निकै ध्यानपूर्वक सुनिरहेकी थिइन् । तरकारी काट्न सिकिरहेकी थिइन् । चितवन, भरतपुरकी उमा बामे सर्ने हुँदा अगेनामा परिन् । शरीरको केही भाग जल्यो । आगोले जलेकी उमालाई परिवारले कहिल्यै खाना बनाउन लगाएन । सिकाउँदा पनि सिकाएन । प्रायः आमा र दिदीले नै भान्सा सम्हाल्थे । आँखामा विभिन्न समस्या आएका कारण उमाले २० वर्षको उमेरमा दृष्टि गुमाइन् । दिदीको पनि बिहे भयो । केही सम्पत्ति दृष्टिविहीन छोरीको नाममा गरेर आमाबुबा बिते । दाजुभाइलाई त्यही सम्पत्ति निहुँ भयो । उमाकी दिदीलाई ‘यसको सम्पत्ति तै खा, तै पाल्’ भन्दै आफन्त र परिवार पन्छियो ।

पाल्पाको एक होस्टलमा राखेर उमाकी दिदी अमेरिका उडिन् । उनी दिन कटाउन होस्टलमा अगरबत्तीमा सेन्ट छर्किने काम गर्न थालिन् । तर, आफूले गरेको श्रमको मूल्य नपाएपछि र होस्टलको वातावरण चित्त नबुझेपछि एक्लै बस्ने आँट कसेर उमा होस्टलबाट निस्किइन् । 

एक्लै बस्दा अरु सबै सहजै बन्दै गयो । तर, खाना पकाउने काम उनका लागि कहिल्यै सहज बनेन । सानैदेखि खाना नपकाएकाले ग्यास बाल्ने हिम्मत जुटाउनै मुस्किल भयो । होस्टलबाट फर्किएको एक महिना फलफूल मात्रै खाएर प्राण धानिन् । हरेक दिन उमाले फलफूल मात्रै खाएको देखेका एकजना छिमेकीले उनलाई राइसकुकर किन्ने सल्लाह दिए । राइसकुकरमा खाना बसालेपछि आफैँँ पाक्छ भनेर उनलाई सिकाए । छिमेकीकै सल्लाहमा उमाले राइसकुकर किनिन् । जसोतसो भातको जोहो हुने भयो । तर, तरकारी किन्ने, काट्ने, मरमसला अड्कल्ने, पकाउने कसरी ? यो अलमलबीच उमाले ६ महिना भात मात्रै खाइन् । भातलाई स्वादिलो बनाउन उनी अलिअलि नुन छर्किन्थिन् । बेलाबखत दूध र दहीसँग पनि खान्थिन् । 

 

‘धेरैले मलाई आँखा देखेर पनि नदेखेको जस्तो स्वाङ पारेको भन्छन् । नदेख्ने मान्छे कसरी ठमठम हिँड्न सक्छ, बजारबाट राम्रो कपडा कसरी छान्न सक्छ भन्छन् । नदेख्नेलाई त बाइक र बसले हान्नुपर्ने नि, किन नहानेको भन्ने पनि छन् ।’

यसैबीच दृष्टिविहीनहरूलाई खाना बनाउन सिकाउने तालिमबारे थाहा पाएपछि उनी काठमाडौँ आएकी छिन् । प्रयत्न नेपालले बुधबारदेखि शनिबारसम्म कपुरधारामा आयोजना गरेको चार दिने तालिममा उनी धेरथोर खाना बनाउन सिकिरहेकी छिन् ।

दृष्टिविहीन भएकै कारण आफ्नो जीवनकालमा भोगेका नमीठा अनुभव उमाले इकागजसँग साटिन् । आफ्नो दृष्टिलाई लिएर छिमेकी र परिवारले टीकाटिप्पणी गर्ने गरेको उनले बताइन् । घर वरपर सधैँ हिँडेको बाटो अन्दाज हुने भएकाले उनी स्टिक नटेकी हिँड्छिन् । आफूले लगाउने कपडाको क्वालिटी उनी छामेरै पत्ता लगाउँछिन् । तर, यही विषयलाई लिएर उमा दृष्टिविहीन भएकामा शंका गर्नेहरू पनि छन् । ‘धेरैले मलाई आँखा देखेर पनि नदेखेको जस्तो स्वाङ पारेको भन्छन्,’ उनले सुनाइन्, ‘नदेख्ने मान्छे लौरो नटेकी कसरी ठमठम हिँड्न सक्छ, बजारबाट राम्रो कपडा कसरी छान्न सक्छ भन्छन् । नदेख्नेलाई त बाइक र बसले हान्नुपर्ने नि, किन नहानेको भन्ने पनि छन् ।’ यी सबै लान्छनाका बीच खाना मात्रै आफैँँ बनाएर खान पाउँदा पनि उमा निकै खुसी छिन् । 

दृष्टिविहीनलाई खाना पकाउन सिकाउने नवीना

​उमा लगायत ११ जना दृष्टिविहीनहरूलाई खाना पकाउन सिकाउने नवलपरासीकी ३२ वर्षीय नवीना ज्ञवाली आफैँ दृष्टिविहीन हुन् । उनी दृष्टिविहीन समूहका लागि प्रत्यक्षदेखि अनलाइन कार्यशालासमेत गरेर खाना बनाउन सिकाउँछिन् । उनका श्रीमान् अर्जुन पौडेललाई पनि उनले खाना बनाउन सिकाइसकिन् । अर्जुन पनि दृष्टिविहीन हुन् । 

पहिलो पटक खानेकुरा पकाउँदाको अनुभव सुनाउँदै नवीनाले भनिन्, ‘पहिलो पटक चार दिनलाई पुग्ने तरकारी एकैदिन पकाएछु । सुरु–सुरुमा खासै मीठो पनि हुँदैनथ्यो । बानी परेर बिस्तारै मीठो बनाउँदै गएँ ।’ 

अहिले नवीना र अर्जुन आफ्नो जन्मदिन, एनिभर्सरी पर्‍यो भने घरमा आउने पाहुनालाई आफैँ खानेकुरा बनाएर खुवाउँछन् । ‘घरमा आएका २५÷३० जना पाहुनालाई म आफैँँ पकाएर खुवाउन सक्छु,’ उनले भनिन्, ‘हामी सानोतिनो भोजमा पार्टी प्यालेस बुक गर्दैनौँ । मलाई खिर, मःम, पकौडा, रोटी सबै बनाउन आउँछ ।’ 

कतै पार्टीमा जाँदा अरुले प्लेटमा खानेकुरा पस्किएर ल्याइदिएको नवीनालाई मन पर्दैन । ‘मलाई कुनै चिज बढी खान मन लाग्छ, कुनै चिज मनै नपर्न सक्छ,’ उनले भनिन्, ‘अरुले आफूलाई जे मन पर्छ, त्यही ल्याइदिन्छन् । त्यसैले सहभागीहरूलाई म पकाउन मात्रै होइन, पस्किन पनि सिकाइरहेको छु ।
नवीनाका अनुसार सहभागी सबैलाई सुरुमा ग्यासै बाल्न आउँदैनथ्यो । अहिले धेरैजना आफैँँ पकाउन सक्ने भएका छन् । ‘म आफू पनि दृष्टिविहीन भएको कारणले मैले जसरी सिकेँ, उनीहरूलाई पनि त्यसरी नै सिकाइरहेको छु,’ उनले भनिन्, ‘सिकाइ व्यावहारिक भएकाले पनि होला धेरैजनाले मैले भनेको कुरा सजिलै र छिट्टै टिपिरहेका छन् ।’

कुक ट्रेनर मात्रै नवीनाको परिचय होइन । उनी साथ (सपोर्टिभ एक्सन टुवार्ड ह्युम्यानिटी) संस्थाकी अध्यक्ष हुन् । चार वर्षअघि खुलेको उनको संस्थाले दृष्टिविहीनमैत्री वातावरण सिर्जना गर्ने काम गर्छ । नवीनाले रत्नराज्यलक्ष्मी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । उनी ‘फुलब्राइट’ छात्रवृत्तिमा अमेरिकासमेत पुगेर आइसकिन् । त्यस्तै, उनले भारतको कान्थारी इन्स्टिच्युट, केरलामा उद्यमशीलताको तालिम लिने अवसर पाएकी थिइन् । अहिले तिनै अनुभवलाई उनी विभिन्न माध्यमबाट आफूजस्तै दृष्टिविहीनका लागि उपयोगमा ल्याइरहेकी छिन् ।

कोही खाना बनाउँदै, कोही आइरन गर्दै 

तालिमकी सह-प्रशिक्षक तथा प्रयत्न नेपालकी बाेर्ड सदस्य जिमावती लाम्कोलियाले कुकिङ दृष्टिविहीनका लागि चुनौतीपूर्ण भए पनि असम्भव भने नभएको बताइन् । ‘तेल ताते/नतातेको, बेसार लागे/नलागेको, पाके/नपाकेको अन्दाज पाउन गाह्रो हुन्छ,’ उनले भनिन्, ‘तर, गर्दै जाँदा बिस्तारै बानी पर्न थाल्छ ।’

खाना बनाउनमा जिमावतीलाई अन्य सहभागीभन्दा केही अगाडि छिन् । उनी पहिला होस्टलमा बस्थिन् । केही वर्षयता एक्लै बस्न थालेपछि उनले खाना बनाउन सिकेकी हुन् । ‘सुरुमा खाना पकाउन उनलाई पनि धेरै गाह्रो भएको थियो,’ उनले सुनाइन्, ‘चलाउन खोज्दा पोखिने, अन्दाज नहुने हुन्थ्यो तर, अहिले उनलाई पनि बिस्तारै सबै जानिसकेँ ।’ तरकारी किन्न जाँदा धेरैले उनलाई सहयोग गर्न खोज्छन् तर, उनी आफैँ छानेर ल्याउँछिन् । ‘बिग्रिएको पर्छ भन्दै पसलेले आफैँले छानिदिन खोज्छन्,’ उनले सुनाइन्, ‘तर, धेरैपटक मैले भन्दा नराम्रो छानेर झोलामा हालिदिएको हुनाले धेरैजसो मै छान्छु । तरकारी राम्रो छ/छैन भनेर हामी समातेर, सुँघेर थाहा हुन्छ ।’ 

 

‘अरुले खाना पकाउँदा बिग्रियो भने गाली गरेर भए पनि सिकाउँछौँ । दृष्टिविहीनको हकमा भने बिग्रियो भने सक्दैनौ भनेर हतोत्साही गरिन्छ ।’

तालिममा खाना बनाउनेसँगै लुगामा आइरन गर्ने काम पनि सबैले सिकिरहेका छन् । कागेश्वरी मनोहरा, डाँछीस्थित नेत्रहीन संघको होस्टलमा बस्ने समीक्षा भट्टराईको ध्यान आइरनमा छ । ‘धेरै पहिला आइरन गर्न खोज्दा हात पोलेपछि गर्नै छाडेको थिएँ,’ उनले भनिन्, ‘बाहिर जाँदा खुम्चेकै लुगा लगाएर हिँड्नुभन्दा आइरन सिकेर आफैँ आइरन गर्न सकियोस् भन्ने लागेर सिक्न खोजेको हुँ । तालिममा सहभागी भएर ग्यास र आइरन दुवै चलाउन आत्मविश्वास बढेको उनले बताइन् । अंग्रेजीमा स्नातक गरेकी समीक्षा शिक्षक लाइसेन्सको परीक्षा दिने तयारीमा छिन् । 

‘प्रयत्न’मार्फत सरिताको प्रयास 
प्रयत्न नेपालकी संस्थापक सरिता लामिछानेले देख्दा सामान्य लागे पनि दृष्टिविहीनका लागि खाना बनाउने आइरन गर्ने जस्ता सीप अत्यन्तै जीवनउपयोगी भएको बताइन् । ‘बाँच्नका लागि खानुपर्छ र खानका लागि पकाउन जान्नुपर्छ,’ उनले भनिन्, ‘तर, धेरैजना दृष्टिविहीन भएकै कारण अरुमा निर्भर हुनुपरेको छ । खोज्दै जाने हो भने समाजमा तरकारीबिनै वर्षौंसम्म भात मात्रै खाएर बसिरहेका उमाहरू भेटिन्छन्,’ उनले भनिन्, ‘हामी यस्ता तालिममार्फत दृष्टिविहीन भएकै कारण कोही दोस्रो उमा बन्न नपरोस् भन्ने चाहन्छौँ ।’

परिवारका सदस्यले पनि दृष्टिविहीनलाई हरेक काममा प्रेरणा दिनुपर्ने उनले बताइन् । ‘अरुले खाना पकाउँदा बिग्रियो भने गाली गरेर भए पनि सिकाउँछौँ,’ उनले भनिन्, ‘दृष्टिविहीनको हकमा एकपटक हात काट्यो वा पोल्यो भने नगर, तिमी सक्दैनौ भनेर हतोत्साही गरिन्छ । उनीहरूलाई आत्मनिर्भर बनाउने कुरामा परिवारको पनि ठूलो हात छ ।’

लिड ट्रेनरका रूपमा नवीनालाई रोज्नुको कारणबारे सरिताले भनिन्, ‘दृष्टिविहीन उसले पकाउन सक्छ भने हामीले पनि सक्छौँ भन्ने अनुभूति दिलाउन नवीनालाई रोजेका हौँ ।’

सहभागीमध्ये अधिकांश डाँछीस्थित नेत्रहीन संघको होस्टलमा बस्छन् । ‘उनीहरूमध्ये प्रायः खाना पकाएर खान सकिँदैन भनेरै होस्टलमा बस्न बाध्य छन्,’ सरिताले भनिन्, ‘खाना एकदिन मात्रै खाएर हुँदैन । सधैँ रेस्टुरेन्टको मगाएर खान पनि साध्य हुँदैन । त्यसैले सिक्दैपर्छ ।’ 
तर, यस्ता व्यावहारिक कुरामा डोनरहरू लगानी गर्न तयार नभएको सरिताको गुनासो छ । ‘खाना बनाएर खुवाउनकै लागि दृष्टिविहीनको पछाडि कोही न कोही साथ लाग्नुपर्ने अवस्था छ,’ उनले भनिन, ‘उनीहरूलाई आत्मनिर्भर बनाउने भन्दै ठूल्ठूलो योजना बनाएर खर्च गर्छन् । तर, वास्तविक रूपले आत्मनिर्भर बनाउने ससानो कुरामा कसैको ध्यान जान सकेको छैन ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
ad
x