समाज

पानीमा लेउ र किरा भेटिएपछि व्यापारीलाई ५० हजार जरिवाना

लक्ष्मी भण्डारी |
चैत १८, २०७७ बुधबार १४:५१ बजे

सुर्खेत : प्रशोधित पानीमा किरा र लेउ विक्री गर्ने  सुर्खेतका दुई वटा पानी उद्योगका सञ्‍चालकलाई  कारबाही गरिएको छ । प्रशोधित पानीमा लापरवाही गरी विक्री वितरण गरेको भन्दै सुर्खेत जिल्ला अदालतले ५०/५० हजार जरिवानाको फैसला सुनाएको छ । दुषित पानी विक्री गरेपछि अदालतले जनही ५०/५० हजारको जरिवाना गर्ने फैसला सुनाएको हो ।

मध्यपश्चिम वाटर एण्ड वेभरेज उद्योग प्रा.लि.का सञ्‍चालक कृष्ण आचार्य र देउती दर्शन वाटर एण्ड वेभरेज प्रा.लि. का सञ्‍चालक भीमबहादुर भण्डारीलाई अदालतले जनही ५०/५० हजारको जरिवना गर्ने फैसला गरेको  हो । 


आचार्यविरुद्ध  र भण्डारीविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले दुषित खाद्य वस्तु (पानी) उत्पादन तथा विक्री वितरण सम्बन्धी मुद्दा दर्ता गरेको थियो । कार्यालयले गत फागुन २८ गते सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिए । 

अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको चैत नौ गतेको इजलासले सञ्चालक आचार्य र भण्डारीलाई ५०/५० हजार जरिवना गर्ने फैसला भएको सूचना अधिकारी पोखरेलले जानकारी दिए । 

खाद्य ऐन २०२३ को दफा ३ विपरितको कसुरमा सोही ऐनको दफा ५ को उपदफा १ बमोजिम पाँच वर्ष कैद र ५० हजार सम्म जरिवाना वा दुवै सजाए हुने उल्लेख गरेको छ । सो अनुसारको अधिकतम जरिवानाको सजाए भएको उनको भनाइ छ ।
 


Author

थप समाचार
x