दुई महिनामा चार हिमालबाट ३३ हजार ८ सय ७७ किलो फोहोर संकलन
काठमाडौँ- नेपाली सेनाको 'सफा हिमाल अभियान' मा दुई महिनामा ३३ हजार ८ सय ७७ किलो फोहोर संकलन भएको छ । सफा हिमाल अभियान गत चैत २२ गतेबाट सुरु भएर जेठ २२ गते सम्पन्न भएको हो ।
सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालबाट फोहोर संकलन भएको हो । कुहिने फोहोर ७ हजार २ सय २७ स्थानीय गाउँपालिकालाई सेनाले हस्तान्तरण गरेको छ । नकुहिने २६ हजार ६ सय ५० किलो नकुहिने फोहोर संकलन रिसाइकिलिङ् गरेको थियो ।
त्यस्तै फोहोर संकलनको क्रममा कञ्चनजंघा आधार शिविरमा दुई वटा मानव अस्थिपञ्जरसमेत फेला परेको सेनाले जनाएको छ । अस्थिपञ्जर पहिचानको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङगमा बुझाएको छ ।
नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’ समापन कार्यक्रममा प्रधानसेनापति शर्माले सरकारको वातावरण संरक्षण कार्यक्रममध्येको एउटा स्वरुप सफा हिमाल अभियान रहेको बताए ।
सफा अभियानको अगुवाइ सेनाले गरेको उनको भनाइ छ । उनले सबैको साथ र सहयोगले मात्रै यस्ता कार्यक्रम सफल बनाउन सकिने उल्लेख गरे ।
विश्व वातावरण दिवसका अवसरमा अभियान टोलीले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष झण्डा फिर्ता गरी अभियानको समापन भएको घोषणा गरिएको थियो ।
हिमाली क्षेत्रमा देखिएको फोहोरले नेपालको पहिचान धमिल्याउने जोखिम बढ्दो छ । बहुपक्षीय महत्व बोकेको नेपालको हिमशृङ्खलालाई भविष्यसम्म जोगाउन सन् २०१९ देखि नेपाली सेनाले उक्त अभियान थालेको हो । अभियानमा नेपाली सेनाले विभिन्न सरकारी तथा गैरसरकारी तथा निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक तथा सफा हिमाल अभियानका निर्देशक हिमांशु खड्काले नेपाली सेनाका ३० र शेर्पा सहयोगी ४८ गरी ७८ जनाको सहभागितामा अभियान चलाइएको जानकारी दिए ।
संकलित फोहोरमध्ये कुहिने फोहोरलाई स्थानीय तहमा हस्तान्तरण गरिएको छ भने नकुहिने केही फोहोरलाई पुनः प्रशोधनका लागि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको र केही हस्तान्तरण गर्न बाँकी रहेको उनले जानकारी दिए।
अभियानको नेतृत्व गरेका सेनानी किशोर अधिकारीले प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर न्यूनीकरण, पर्यटन प्रवद्र्धन र भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियान सञ्चालन गरिएको जानकारी दिए । समारोहमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले हिमाल संरक्षणका लागि नेपाली सेनाको छुट्टै गुल्म वा गणको आवश्यकता महसुस भएको बताए ।
सन् २०१९ मा सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको नेतृत्व गरेका नापी अधिकृत खिमलाल गौतमले नेपालका हिमाल जोगाउन यो अभियान महत्वपूर्ण रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया