पोखरादेखि लेखनाथसम्मको बिजुली तार अन्डरग्राउन्ड गरिने
पोखरा- पोखरादेखि लेखनाथसम्मको बिजुलीको तार अव अन्डरग्राउन्ड गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा यहाँको तारलाई अन्डरग्राउन्ड गर्न लागिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदेश सरकारसँगको भेटमा लेखनाथ सबस्टेसनबाट पोखरासम्मको बिजुली अन्डरग्राउन्ड गरिने जानकारी गराएका हुन् ।
त्यसका लागि पोखराको बिरौटामा अत्याधुनिक सवस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उनले प्रदेश सरकारसँग आग्रह गरेका छन् । अन्तका सबस्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपर्ने उनको भनाइ छ । यो सवस्टेसन निर्माण पछि पोखरामा बिजुली जाने समस्या समाधान हुने बताइएको छ ।
प्रदेश सरकारले प्राधिकरणसँगको समन्वयमा उज्यालो प्रदेश कार्यक्रम सञ्चालन गरिरहेको छ । यही आर्थिक वर्षभित्र उज्यालो प्रदेश घोषणाको कार्यक्रम गरिने सरकारले जनाएको छ । घिसिङले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई भेटेर उज्यालो प्रदेश घोषणा अभियानमा सघाउन प्राधिकरण तयार रहेको बताए ।
मुख्यमन्त्री पोखरेलले अरू प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत् उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए । प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरले तत्कालै समन्वयमा काम गर्नुपर्ने उनको सुझाव छ । ऊर्जामन्त्री आचार्यले प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान, काठेपोल विस्थापन अभियानमा भएका प्रगतिबारे जानकारी गराएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया