समाज

देश छाड्‌नेको कथा :

मेहनतले हिमाल जस्तै अग्ला बनेका 'हिमाल'

अतिन आचार्य |
जेठ ३०, २०७९ सोमबार १२:२८ बजे

काठमाडौँ- एक समय पोखरेली युवाहरूको एउटै चाहना हुन्थ्यो बेलायती वा भारतीय सेनामा भर्ती हुने । विदेशी सेनामा भर्ना प्रयास नगरेका तन्‍नेरीहरू टोल-टोलका घरमा मुस्किलले फेला पर्थे ।

'लाहुरे' नभएका घर पनि मुस्किलले भेटिन्थे । अधिकांश घरका सन्तान लाहुरे हुन्थे । अहिले पनि लाहुरे हुने लोभमा वर्षेनी पोखरामा तन्‍नेरीहरू भेटिन्छन् । कोही भने लाहुरेमा असफल बनेको देखेर पीडामाथि पीडा थप्‍न चाँहदैन थिए । त्यहीँ मध्येका एक हुन् पोखरा रिठ्ठेपानी घर भएका हिमाल गुरुङ ।


जसका दाइले पटक-पटक लाहुरे हुने प्रयास गरे । प्रयास पनि असफलमा परिणत भइरहन्थ्यो । हिमाललाई लाग्थ्यो दाइ लाहुरे भइदियोस् । तर, सबैको भाइले सोचेको पुगे पनि उनले सोचेको सपना पूरा भएन ।

भाइ हिमाललाई भने पनि दाइलाई जस्तै लाहुरमा जान रहर जागेन । उनले प्रयास पनि गरेनन् । लाहुरे परिवारमा हुर्केका भए पनि आफ्नो तन्‍नेरी बैँश राइफलसँग बिसाउ खोजेनन् उनले ।

'दाइले हरेक पटक लाहुरे हुनका लागि विभिन्‍न चरणको परीक्षा पास गर्दा, परिवारमा खुसी र उत्साह छाउँथ्यो,' लाहुरेमा प्रयास नगर्नुको कारण सुनाउँदै उनी भन्छन्,' अन्तिम-अन्तिम परीक्षामा दाइ फेल हुँदा परिवारमा निराशा छाउने र सबैको मन खिन्‍न हुन्थ्यो । '

दाइ लाहुरेमा असफल हुँदा हिमालको परिवार गहिरो पीडामा हुन्थ्यो । दाइको असफलताले परिवार निराशा छाएको छाप ताजै रहेकाले उनले लाहुरे बन्‍ने चाह गरेनन् । उनले आफ्नो तन्‍नेरी उमेर लाहुरेको लागि समय खर्च पनि गरेनन् । लाहुरे बन्‍न नसकेका दाइ हाल अमेरिकामा बस्छन् ।

समयसँगै मानिसका चाहना र लक्ष्य फेरिन्छन् । आवश्यकता मात्र फेरिएन यात्रा पनि फेरियो । मानिस बाँच्दै आएको भूगोल पनि परिवर्तन भयो । आखिर तिनै हिमालको काख पोखराबाट परिवर्तनको खोजीमा र आफूलाई अब्बल बनाउन एकदिन हिमाल आफैँले आँगन छाडे ।

हिमाल को हुन ? बुझ्‍न करिब तीन दशक पछाडि फर्कनुपर्छ । पोखरा महानगर-२७ रिठ्ठेपानीमा जन्मेका गुरुङ जन्म मध्यम परिवार भयो ।  उनका बुबा भारतीय सेनामा जागिरे थिए ।

खेलकुदमा सक्रिय

उनले टोलकै सरकारी विद्यालय लक्ष्मी माविमा अध्ययन गरे । उनी पढाइमा मध्यम विद्यार्थीको रुपमा चिनिन्थे । गणित विषयमा रुचि राख्‍ने पढाइ सँगसँगै खेलकुदमा उनी उत्तिकै सक्रिय थिए ।

उनले दुई दशकअघि एसएलसी पास गरे । पुराना दिन सम्झँदै अहिले जस्तो पढाइमा सहज नभएको गुरुङ बताउँछन् । उनले विद्यालयमा पुरानो कोर्सबाट एसएलसी पास गरे ।' कोर्स गाह्रो भए पनि एकै पटकमा स्कुले जीवन कटाउन सफल भए' उनी हाँस्दै भन्छन् ।

युवा उमेर प्रवेश गरेसँगै उनी फुटबल खेलाडी बने । आफ्नो टिमको क्याप्टेनसमेत बनेर विभिन्‍न ठाउँको खेल मैदानमा प्रवेश गरे । 'सानैदेखि खेलमा रुचि भएकाले फुटबल पनि खेले,' किशोरावस्थाको दिन सम्झँदै भन्छन्,' केही समय बलिङ पनि खेले । बलिङ खेलेर प्रथम भएर त्रिपुरेश्‍वरमा प्रतिष्पर्धा गर्न आएका थिए ।'

गुरुङले पोखराकै जनप्रिय क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह पनि उत्तिर्ण गरे । कलेजमा पढ्दापढ्दै विदेश अध्ययन गर्न जाने उनले सोच बनाए । २५ वर्षको उमेरमा होटल म्यानेजमेन्ट पढ्न पहिलो पटक नेदरल्याण्ड हानिए ।

परिवारले उनीप्रति विदेश जाओस भन्‍ने चाह राखेका थिए । कामका लागि भन्दा पनि अध्ययन गर्न विदेश जाने निचोडमा पुगे । बलिङ गेम खेल्दाखेल्दै विदेश पढ्न जाने सोचाइ उनमा जाग्यो ।

विदेश पुगेर दुःख र संघर्ष बुझे

परिवारका सदस्यले अप्रत्यक्ष रुपमा विदेश जाओस् कमाओस् भनेर चाहना राख्थे । 'विदेशमा पढ्न जान अप्लाइ गरिहाले,' गुरुङ भन्छन् । उनको पनि इच्छा, परिवारको पनि चाहना अनि अन्त्यमा विदेश गए । उनले आफ्नो खेलकुदमा जागेको रुचिलाई बिट मार्दै शिक्षाको सहारा लिन देश छाडे । नेदरल्याण्डमा तीन वर्ष अध्ययन गरे । पढेको विषयमा एक वर्ष प्राक्टिकल गरे ।

पहिलोपटक काम गर्दै अध्ययन गर्दाको दिन सम्झँदै गुरुङ भावुक हुँदै भन्छन्,' दुःख के हो यहीँ आएर बुझ्‍ने अवसर पाएको हुँ । कलेज पढ्दा पार्ट टाइम गरेकाले काम र दुःख गर्न गाह्रो भएन ।' संघर्षबाट भागेनन्, दुःखबाट विचलित बनेनन् । संकटबाट नडगमगाएका उनी हिमाल जस्तै अटल बने ।

विद्यार्थी जीवनमा गरेको संघर्षले अहिले सहज भएको मान्छन् उनी । विदेशमा कामलाई सम्मान गर्ने भएकाले काम गर्ने प्रेरणा मिलेको थियो उनलाई । 'काम गर्दा भन्दा नगर्दा मानिसहरूले जिस्काएको जस्तो आभास हुन्थ्यो,' विगत सम्झँदै इकागजलाई सुनाए ।

सन्तानको भाषा र संस्कृति निबग्रयोस भनेर सचेत

नेपालमा सबैभन्दा बढी आनन्दको अनुभूति परिवारको साथ रहँदा पाउने गरेको उनले बताए । नेपाल आउँदा धेरै समय पोखराको बाआमा सँग बिताउँछन् ।  दाजु, दिदीपछि उनी परिवारका कान्छा छोरा हुन् ।

हिमाल १२ वर्षीया छोरीका पिता पनि हुन् । छोरी बिदामा नेपाल आउँदा पढाइ नबिग्रयोस भनेर स्कुलमा राखिदिने गरेको उनले सुनाए । विदेशी रहनसहनमा हुर्के पनि नेपाली भाषाप्रति उनको लगाव छ । छोरीको भाषा नबिग्रियोस भनेर उनी आफैँ सचेत छन् ।   

उनी सँगै पढन पुगेका साथीहरू दुःख गर्न नसकेकाले फर्केका थिए । दुःख गर्नुपर्दा कहिले पनि उनलाई नेपाल फर्कौँ जस्तो लागेन । संघर्षका दिन कोट्याउँदा नोष्टाल्जिक देखिदै उनी सुनाउँछन्,' केही समय म्याग डोनलमा काम गर्दाको पारिश्रमिक नपाउँदा दुःख लागेको थियो । त्यही सम्झँदा आफूले गरेको मेहनतको फल नपाउँदा पीडाबोध हुन्छ ।'

काम गर्दा पारिश्रमिक नपाएको पलले दुःख र मेहनत बुझाएको उनलाई लाग्दो रहेछ । जीवनमा उनले काम गर्नका लागि  विकल्प बनाएनन् । ' यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर मन कहिले घुमाएनन्। मेहनतले मात्र मानिस बनिन्छ, त्यसको फल बिस्तारै पाइने रहेछ,' म्यागडोनलले पारिश्रमिक नदिएकाले पनि 'म' बन्‍न पुगेको भन्दै उनले विगत कोट्याए,' अझै मेहनत गर्न बाँकी छ । साथीभाइहरूले धेरै गरेको भन्छन् तर, गर्न बाँकी धेरै रहेकाले शून्य लाग्छ ।'

त्यो नबिर्सने घट्ना

जीवनमा सबैभन्दा बढी दुःखको कुनै क्षण ? प्रश्‍न गर्दा युवावस्थामा स्नुकर खेल्दाको क्षण सम्झँदै मलिन स्वरमा भने,' देश जनयुद्धमा थियो । दैनिक गोली, बम र बारुद बर्सिन्थ्यो । हरेक दिन कोही न कोहीको मृत्युको समाचार सुनिन्थ्यो । हाम्रोतिर पनि माओवादी देखिन्थे । उनीहरूले बम राख्दा हामी सुरक्षित स्थानमा भाग्दा बमको छर्राले आफ्नै अगाडि रहेको बच्चा ढलेको थियो । यो क्षण सम्झँदा आज पनि दुःख लाग्छ र मेरो जीवनमा नबिर्सने घटना यही हो ।' विगतका घट्ना सुनाइरहँदा उनको आँखामा आँसु टिलपिलाइरहेका थिए । 

नेपालमा रहँदा दुःख के हो भनेर महसुस गर्न नपाएका तर, कर्मभूमिमा पुगेर दुःख बुझेका आखिर हिमाललाई पछि पार्दै अगाडि बढिरहेका आफैँमा को हुन् हिमाल ? सन् २००८ मा जहाजबाट नेदरल्याण्ड पढ्न पुगेका उनी के गर्छन् ?

गैर आवासीय नेपाली संघका गुरुङ वर्ष २०२१-२३ का युवा उपाध्यक्ष हुन् । धेरै नेपालीहरू विदेशमा विभिन्‍न पेशा अपनाइ बसेका छन् । कतिपयले आफ्नै व्यवसाय सम्हाल्दै आइरहेका छन् । उनी पनि अन्य नेपाली जस्तै नेदरल्याण्डलाई कर्मभूमि बनाएर करिब डेढ दशकदेखि व्यवसाय गर्दै आइरहेका छन् ।

संघर्षको केन्द्रविन्दु आम्सटरडाम

आम्सटरडामलाई उनले संघर्षको केन्द्रविन्दु बनाए । सुपरमार्केटबाट आफ्नो व्यवसाय सुरु गरेका हिमालले आफ्नै नामबाट देश चिनाउने प्रयास गरेका छन् । नेपाल विश्‍वमा हिमालको नामले प्रसिद्ध पनि छ । वर्षेनी हिमाल चढ्न आउने विदेशीको संख्या बढ्दो छ । 'हिमालय सुपरमार्केट' जहाँ नेपाली उत्पादनदेखि विश्‍व बजारमा उत्पादन हुने सम्पूर्ण वस्तुहरू उपलब्ध छन् ।

'सुपरमार्केटमा नेपालमा उत्पादित खाद्य सामग्रीहरू चाउचाउ, अचार र गुन्द्रुक पाइन्छ,' आफ्नो सुपरमार्केटमा पाइने वस्तुको बारेमा सुनाउँदै उनी भन्छन्,' नेपाली खाद्य वस्तुहरू विभिन्‍न मुलुकबाट आउने गर्छ । 

सुपरमार्केटमा 'काठमाडौँ चामल' र ढुङ्ग्री चिप्स पाइन्छ । खाद्यवस्तु मात्र उनी बिक्री गर्दैनन् । उनले नेपाली पोशाक गुन्युचोलो, गुरुङ र मगर जातजातिका पोशाकसमेत पाइने बताए ।

उनले टेक्सटाइलको पनि व्यापार गरिरहेका छन् । नेदरल्याण्डमा बसेर पनि आफ्नो मुलुक नेपालमा पनि कपडा निर्यात गर्छन् । सबैभन्दा बढी निर्यात नेपाल जापान, बेलायत र हङकङमा हुने गरेको छ ।

समयसँगै आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेका छन् । एउटै क्षेत्रमा मात्र आफूलाई सिमित राखेका छैनन् । होटल तथा रेष्टुरेण्टमा व्यवसायमा पनि संलग्न छन् । शाकाहारी रेष्टुरेण्ट सञ्चालन गरेका छन् । नेपाली खानाको स्वादमार्फत नेपाललाई चिनाउने कोसिस गरिरहेको उनले प्रस्ट पारे ।

मेहनतले बनेका हिमाल झै अटल

कामको दौरानमा बेलाबेला हिमाल आफैँ हराउँछन् । कारण हो, गरिरहेको काम आफ्नै देशमा गर्न पाए कति उपलब्धिमूलक हुन्थ्यो । तर, नेपाल फर्केर गरिहाल्न सक्ने सहज वातावरण बनिनसकेको उनको बुझाइ छ ।

'म यहाँ प्रत्येक समय काम गर्दा नेपालकै बारेमा सोचिरहेको हुन्छु,' उनी भावुक हुँदै सुनाउँछन्,' नेपाल गएर यहाँ गरिरहेको काम लागू गरिहालौँ हुन्छ । आफू बढेको र हुर्केको समाजलाई योगदान गरौँ भन्‍ने छ ।' भाग्यले भन्दा पनि मेहनतले बनेको ठान्छन् आफूलाई । भाग्यलाई सँगसँगै राखेर कर्म गर्दा फल पाइने उनलाई लागेको छ । नाम जस्तै अटल छन् हिमाल ।

हिमाललाई नेपालको नेपाली भाषा, संस्कृति र खाना मनपर्दो रहेछ । उनले नेपालको बढी 'मीस' गर्ने कुरा साथीभाइको आत्मीयता हो । विदेश देखिएका सबै कुराहरू बनावटी लाग्दो रहेछ उनलाई ।

किशोरावस्थादेखि खेलकुदमा रुचि भएकाले उनी गैरआवासीय नेतृत्त्वमा रहँदा पनि खेलकुदको माध्यमबाट नेपाललाई चिनाउने कोसिसमा छन् । नवौँ राष्‍ट्रिय खेलकुदमा युवायुवतीलाई सक्रिय रुपमा सहभागी गराउन लागि परिरहेको उनले बताए । सरकारले नवौँ राष्ट्रिय खेलकुदमा गैर आवासीय नेपालीलाई सहभागी गराउने सुनिश्‍चित गरिसकेको छ ।

देश विकासमा साझेदारी

'नेपालीहरूको हकहितका लागि काम गर्नेछु,' उनी सुनाउँछन्,' देशका लागि केही गरेर विकासमा साझेदारी बन्‍नेछु ।' हाइड्रो पावरमा लगानी गरेका उनको पनि विकासमा योगदान छ । नेपालमा रहँदा सामाजिक काममा सहयोग गरेको र भूकम्पले क्षति गर्दा पनि गैर आवासीय नेपालीको तर्फबाट सहयोग पनि गरे ।

नेताहरू विदेश आउँदा राम्रो कुरा गर्ने तर नेपाल पुगेर आफूले बोलेको कुरा बिर्सेकाले उनलाई दुःख लाग्दो रहेछ । 'नेपाली संस्कृतिलाई विदेशमा प्रचारप्रसार गर्न पहल गरिरहेको छु,' उनी उत्साहित हुँदै थप्छन्,' आफू भूमिकामा रहँदा सबैका लागि मननयोग्य बनाउने छु । '

गुरुङ नेदरल्याण्डमा समितिको सदस्य हुँदै सन् २०१५-१७ मा अध्यक्ष बने । उनी सन् २०१७-१९ मा एनआरएनए आईसीसीका सदस्य थिए । युवा समितिको संयोजक (कोर्डिनेटर) पनि थिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x