अनलाइन सपिङ : २२ वर्षदेखि कानुन छैन, ग्राहक ठगिएका ठगियै
फोटोमा किनूँ किनूँ, हात पर्दा हातलागी शून्य
सहरी जीवनशैली सौखिन छ । मानिसहरू सबै सेवा, सुविधा र सामान घरभित्रै आइदिओस् भन्ने चाहन्छन् । त्यसका लागि मोबाइल खोल्नेबित्तिकै छ्यापछ्याप्ती अनलाइन दोकान भेटिन्छन् । जसले एक क्लिकको भरमा चाहेको सामान भनेकै लोकेसनमा ल्याइदिन्छन् । समयको बचत हुने र बार्गेनिङको झन्झट नहुने भएकाले आजभोलि धेरैको रोजाइमा अनलाइन सपिङ पर्छ ।
तर, अनलाइन सपिङ प्लेटफर्मले विश्वसनीयता कायम गर्न नसकेकाले धेरैको रोजाइमा आजभोलि अनलाइन सपिङ पर्दैन । अनलाइन सपिङ गरेर पछुताएका थुप्रै उदाहरण हाम्रै वरपर भेटिन्छन् । तीमध्येकी एक हुन्, काठमाडौँ सुकेधाराकी प्रकृति अधिकारी । धुवाँधुलोमा बजार धाउनुभन्दा अनलाइन सपिङ गर्न रुचाउँथिन् उनी । तर, अनलाइन सपिङलाई लिएर उनको सुखदभन्दा बढी दुःखद् अनुभव छन् । केही समयअघि मात्रै उनी नमज्जाले अनलाइन सपिङबाट ठगिइन् ।
‘एकदिन फेसबुक स्क्रोल गर्दै जाँदा ‘प्रिन्सा–हुडी सेट’ नामको अनलाइन पेजमा राम्रा–राम्रा हुडी देखेँ,’ उनले सुनाइन्, ‘प्राइस सोध्दा बजारको भन्दा सस्तो लाग्यो । जाडो महिनाको लुगा गर्मीमा किन्दा सस्तो परेको होला भनेर अर्डर गरेँ ।’
प्रकृतिलाई उताबाट डेलिभरी हुनुभन्दा पहिल्यै पैसा पठाउनुपर्ने बताइयो । डेलिभरी भने दुई दिनमा हुने जानकारी गराइयो । उनले पैसा पठाइन् । तर, दुई दिनमा डेलिभरी हुने भनिएको हुडी चार दिनसम्म डेलिभरी भएन । उनले बारम्बार फोन र मेसेज गरिरहिन् । ‘एक हप्तासम्म आउँछ–आउँछ भन्दै आश्वासन दिए,’ उनले भनिन्, ‘पछि त जति मेसेज गरे पनि सिन हुनै छाड्यो । अहिले अहिले त त्यो पेजबाटै मलाई मेसेज नै पठाउन नमिल्ने गरी ब्लक गरिएको छ ।’
प्रकृतिकी साथी रञ्जना शर्माको भने अलि फरक अनुभव छ । उनले पनि अनलाइनबाट सारी मगाएकी थिइन् । भनेकै समयमा घरमा सारी आइपुग्यो । डेलिभरी ब्वाइले छोडेर गएपछि सारी खोलेर हेरिन् । ‘सारी खोलेर हेर्दा म झन्डै बेहोस् भइनँ,’ उनले भनिन्, ‘नयाँ भनेर किनेको सारीमा जताततै दागैदाग, प्वालैप्वाल थियो । मलाई भाउन्न छुटेर आयो ।’
रञ्जनाले तुरुन्तै फोन गरेर डेलिभरी ब्वाईलाई आफ्नो गुनासो सुनाइन् । भोलिपल्ट अर्को सारी ल्याइदिने सहमति भयो । तर, उताबाट फोन आएन । उनले बारम्बार फोन लगाइन्, तर फोन उठेन । अनलाइनको पेजमा मेसेज पनि छाडिन् । त्यहाँबाट पनि कुनै रिप्लाई आएन । ‘त्यसपछि मैले उनीहरूको पोस्टमा यिनीहरू ठग हुन्, यिनीहरूको पेजबाट कसैले लुगा नकिन्नु भनेर लेखेँ । सारी फोटो पनि खिचेर कमेन्टमा राखिदिएँ,’ उनले सुनाइन्, ‘म फसेँ, तपाईंहरू नफस्नुस् भनेर सबैलाई आग्रह गरेँ । कमेन्ट गर्न नपाउँदै उताबाट ‘मुख सम्हालेर बोल्’ भन्ने खालका धम्कीपूर्ण मेसेज आयो । मैले रिप्लाई गर्न नपाउँदै तथानाम गाली गरेर मलाई ब्लक गरिदिए ।’ त्यसयता रञ्जनाको अनलाइन सपिङबाट विश्वास उडेको छ । आजभोलि उनी जति नै व्यस्त भए पनि आफूलाई चाहिने समान बजारमै गएर किन्ने गरेकी छिन् ।
भक्तपुर, दूधपाटी बस्ने दीक्षा ढुङ्गाना पनि अनलाइन सपिङबाट ठगिनेको सूचीमा अगाडि नै पर्छिन् । उनले पनि जतिपटक अनलाइनबाट सामान मगायो, उति पटक सोचे जस्तो सामान पाइनन् । ‘अनलाइन सपिङको म भुक्तभोगी हुँ,’ उनले भनिन्, ‘फोटोमा देख्दा किनौँ–किनौँ लाग्ने सामान देखाउँछन् । घरमा आइपुग्दा सामान अर्कै हुन्छ । न साइज मिल्छ, न क्वालिटी नै फोटोमा देखाएको जस्तो हुन्छ ।’ दीक्षालाई अनलाइनबाट सामान मगाउँदा बेकारमा मगाए जस्तो लाग्छ । एकपटक पैसा खर्च गरेअनुसार सामान नै राम्रो नपर्ने । फेरि अनलाइन बिक्रेताहरू साह्रै बाठा हुने । अनलाइनमा मगाएको सामान धेरैजसो फिर्ता गर्नै मान्दैनन् ।
अनलाइनका सामानको गुणस्तरलाई लिएर दीक्षाजस्ता धेरैको गुनासो छ । अनलाइनमा राख्ने र डेलिभरी हुने सामानमा आकाश–पातालको फरक भएको उनीहरूको चित्त दुखाइ छ ।
‘अनलाइन सपिङ व्यवस्थापनबारे कानुन नै छैन’
उपभोक्ता अधिकारवादी प्रेमलाल महर्जन नेपालको अनलाइन सपिङको इतिहासबारे चर्चा गर्दै भन्छन्, ‘पहिला–पहिला पोस्टल सर्भिसबाट सामान अर्डर गरिन्थ्यो । अहिले नयाँ तरिकाको अनलाइन सपिङ विकास भएको छ । नियम–कानुनको अभावमा अनलाइन सपिङ जथाभावी चलिरहेको छ ।’
यसलाई महर्जन अनलाइन व्यापारमा फैलिएको विकृति मान्छन् । ‘थुप्रै अनलाइन कम्पनीहरूको बदमासीबारे राष्ट्रिय उपभोक्ता मञ्चमा पनि गुनासो आउने गरेको छ,’ उनी भन्छन्, ‘कानुनको अभावमा केही गर्न सकेको अवस्था छैन । वाणिज्य विभाग, सीडीओ कार्यालयले उपभोक्तालाई ठग्ने अनलाइनहरूलाई सजाय दिन सकेको छैन । जसकारण उपभोक्ताहरू दोहोरो मारमा परेका छन् ।’
यसलाई नियमन गर्ने सरकारी निकायहरू अझै पनि कानुन बनाउनमै व्यस्त भएको उनी बताउँछन् । ‘एकातिर अनलाइन पसलेहरूले ग्राहकलाई गुणस्तरहीन सामान दिएर ठगिरहेका छन्,’ उनी भन्छन्, ‘अर्कातिर अनलाइन सपिङ व्यवस्थापनसम्बन्धी कुनै कानुन छैन । अनलाइन सपिङलाई लिएर तत्कालै नियम कानुन ल्याउनु जरुरी देखिन्छ ।’
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पंगेनी कानुनबिना नै अनलाइन सपिङ चलिरहेको स्वीकार्छन् । ‘यसका लागि कानुन बन्ने प्रक्रियामा छ,’ उनी भन्छन्, ‘अहिले मस्यौदा तयार भएर कानुन मन्त्रालयमा रायको लागि गएको छ । त्यसपछि संसद्मा पेस भएर प्रक्रिया अगाडि बढ्छ ।’
विभागको टोल फ्री नम्बरमा त्यस्ता गुनासो आइरहेको प्रवक्ता पंगेनी बताउँछन् । ‘धेरैले अनलाइनमा देखाउँदा सामान राम्रो भए पनि घर आइपुग्दा डुब्लिकेट सामान ल्याइदिने गुनासो पोख्ने गरेका छन्,’ उनी भन्छन्, ‘हामीले तिनै गुनासोका आधारमा क्रेता र बिक्रेता दुबैलाई बोलाएर छलफल गर्ने गरेका छौँ । कतिको त हामीले पैसा पनि फिर्ता गरिदिएका छौँ ।’ कानुन स्वीकृत हुनेबित्तिकै कानुनी प्रक्रियाअनुसार कारबाहीमा जाने उनी बताउँछन् । ‘अहिले व्यावहारिक रूपले हेरेर काम कारबाही गरिरहेका छौँ । कानुन बनेपछि कानुनी प्रक्रियामा जान्छौँ ।’ त्यस्तै, अनलाइन सपिङ गर्दा सामानको गुणस्तर, मूल्यलाई विचार पुर्याएर मात्र किन्न उनको सुझाव छ ।
आफैँ बेबकुफ बन्दै ग्राहक
केन्द्रीय साइबर ब्युरोका सिनियर सब इन्स्पेक्टर वीरेन्द्रसिंह धामी अनलाइन सपिङसम्बन्धी कुनै पनि कानुन नभएकाले ठगीमा मुद्दा चलाउन नमिल्ने बताउँछन् । ‘धेरै जना सामाजिक सञ्जालका पेजबाट सपिङ गरेर ठगीमा परेका छन्,’ उनी भन्छन्, ‘कुनै प्लेटफर्म प्रयोग गरेर गरिने ठगीमा हामीले केही गर्न मिल्दैन । समस्या लिएर जति जना आए पनि हुँदै नभएको कानुनको दफा लगाएर अदालतमा पेस गर्न मिल्दैन ।’
यसमा अहिलेका लागि उपभोक्ता सजग हुनेबाहेक अर्को उपाय नभएको उनी बताएँछन् । ‘फेसबुकमा देखेकै भरमा मानिसहरू मोबाइल, घडी, ल्यापटप, गरगहना जे मन लाग्यो त्यो अर्डर गर्छन्,’ उनी भन्छन्, ‘२० हजार पर्ने घडी अनलाइनमा २ हजारमा पाइयो भन्दैमा किनिहाल्नु हुँदैन । आफूले किन्न लागेको अनलाइन सप दर्ता भएको हो÷होइन बुझ्नुपर्छ ।’ अनलाइन सपिङ गर्दा उपभोक्ता चनाखो हुनुपर्ने उनी बताउँछन् । ‘आफूले किन्न लागेको सामानको मूल्य गुगलमा गएर हेर्ने, साथीभाइलाई सोध्ने गर्नुपर्छ,’ उनी भन्छन्, ‘कुनै पेजको कमेन्टमा गएर मात्रै हेर्दा मात्रै पनि धेरै कुरा थाहा हुन्छ । त्यहाँ सबैले राम्रो÷नराम्रो रिभ्यू छाडेका हुन्छन् ।’
उनी अनलाइन सपिङ गर्दा पहिला नै पेमेन्ट नगर्ने सल्लाह दिन्छन् । ‘अनलाइन सपिङ गर्दा अगाडि नै पैसा पठाउनु भनेको आफैँ ठगिने बाटो खन्नु हो,’ उनी भन्छन्, ‘कसैले अगाडि नै पैसा मागिरहेको छ भने विचार पुर्याउनुपर्छ । पसलमा सामान किन्दा पनि पहिला हामी सामान लिन्छौँ त्यसपछि मात्रै पैसा दिन्छौँ । अनलाइनमा पनि त्यस्तै गर्नुपर्छ ।’
उपभोक्ता अधिकारवादी महर्जन अनलाइन सपिङमा मानिसहरूको आकर्षण बढ्नुलाई अल्छीपनाको संज्ञा दिन्छन् । ‘आजभोलिका मानिसहरूमा बजारमा गएर आफैँले छामेर, गुणस्तर चिनेर सामान किन्ने बानी छैन,’ उनी भन्छन्, ‘अनलाइन सपिङ गर्न जान्नेले अनलाइन पेमेन्ट गर्न जानेको हुन्छ । त्यस्तो मान्छेले बाहिर निस्किँदा आफूलाई चाहिने सामान किन्दा भइहाल्छ नि ।’ आफ्नै अल्छीपनाले धेरै उपभोक्तालाई अनलाइन दोकानेले बेबकुफ बनाइरहेको उनी बताउँछन् । ‘ठगिएँ भनेर गुनासो गर्नुभन्दा पहिला उपभोक्ता आफैँ पनि परिपक्व हुनुपर्छ । कुनै सामान किन्नै परे भरपर्दोलाई रोज्नुपर्छ । नत्र । अनलाइनबाट हराएका दोकानेलाई खोज्न कहाँ जाने ?’
नेपालमा कहिलेबाट सुरु भयो अनलाइन सपिङ ?
सन् २००० मा खुलेको ‘मुन्चा डट कम’ सम्भवतः नेपालको पहिलो अनलाइन सपिङ प्लेटफर्म हो । यो अनलाइन सपिङ साइट मुन्चाहाउस डिपार्टमेन्टल स्टोरले खोलेको थियो । अहिलेसम्म आइपुग्दा सयौं अनलाइन सपिङ वेबसाइटहरू सञ्चालनमा आइसकेका छन् । दराज, भाटभटेनी अनलाइन डट कम, सस्तो डिल डटकम, उपहारहरू डटकम, सपमान्डु डटकम, नेपाल अनलाइन स्टोर, स्मार्ट डोको, मेरो सपिङ जस्ता थुप्रै अनलाइन सपिङ प्लेटफम नेपालमा सञ्चालनमा छन् ।
अनलाइन सपिङ गर्दा ध्यान दिनुपर्ने कुराहरू
- अनलाइन सपिङ गर्दा सधैँ विश्वसनीय र प्रतिष्ठित वेबसाइटका माध्यमबाटै गर्नुपर्दछ ।
- साइटको विश्वसनीयता थाहा पाउन ग्राहक समीक्षा जाँच गर्नुपर्छ ।
- अनलाइन सपिङ गरिरहने साथीसँग सल्लाह लिनुपर्छ ।
- नाम चलेका, धेरै वर्षदेखि सेवा पुर्याउँदै आएका साइटहरूको मात्र प्रयोग गर्नुपर्छ ।
- सामानको गुणस्तर जाँच गर्न कम्पनीको लोगो, नामको स्पेलिङ, प्याकेजिङ, मूल्य आदि विषयमा ध्यान पुर्याउनुपर्छ ।
- अनलाइनबाट मगाइने समानसँग बजारको मूल्यसँग तुलना गर्नुपर्छ ।
- डेलिभरी चार्ज, वारेन्टी, ग्यारेन्टीबारे पनि सामान अर्डर गर्ने बेला नै बुझ्नुपर्छ ।
- सामान डेलिभरी भएपछि मात्रै पैसा तिर्नुपर्छ ।
- थुप्रै अनलाइन सपिङले अफर, उपहार, छुट भनेर ग्राहक लोभ्याउने गरेको पाइन्छ । त्यस्ता अफरको पछाडि लाग्नुहुँदैन । त्यस्ता सामान पुराना र ड्यामेज भएका हुन सक्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया