मिटर ब्याज पीडितको आन्दोलन
साहु बानियाँद्वयको ज्यादती : डेढ लाख ऋणको १२ लाख तिर्दा पनि अझै चुक्ता भएन
फाइल तस्बिर
काठमाडौँ- मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहुप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौँमा आन्दोलन सुरु गरेका छन् । नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरूलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरूले आन्दोलन सुरु गरेका हुन् ।
साहु जगदीशका दाजुभाईसँग विदेश जानको लागि डेढ लाख रुपैयाँ ऋण लिएर पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदासमेत अझै ऋण चुक्ता नभएको भन्दै पैसा माग्ने गरेको मिटर ब्याज पीडित राज कुमारले बताए । उनले भएको जग्गा जमिनसमेत बेचेर पैसा तिरेको र अब तिर्न नसक्ने अवस्थामा पुगेकाले न्यायको लागि काठमाडौँमा आएको बताए ।
‘मलाई विदेश पठाउनको लागि बुबाले साहु महाजनसँग कर्जामा १ लाख ५० हजार रुपैयाँ लिनुभएको थियो । डेढ लाख कर्जामा मैले विदेशमा गएर ६ वर्ष बसेँ तर ऋण पूरा गर्न सकेको छैन । मैले ६ वर्षको कमाई १२ लाख जति दिइसके । तर अझै पूरा भएको छैन पैसा देउ । हामीले जग्गा बेचेरसमेत पैसा दिन नसकेकाले न्यायको लागि काठमाडौँमा आएको छौं’ उनले भने ।
त्यस्तै अर्का मिटर ब्याज पीडित जयप्रकाश कुर्मी छोरालाई विदेश पठाउनको लागि पैसा आवश्यक भएकाले सुनिल बानियाँसँग १ लाख रुपैयाँ ऋण लिएको बताए । उनले बानियाँले १ लाख पैसा दिएर २ लाखको तमसुक बनाएको बताए । बानियाँलाई ५ लाख ५ हजार रुपैयाँ दिइसके पनि अहिले ८ लाख माग गरेको गुनासो गरे । जग्गा बचेर भएपनि पैसा दिन दबाब दिएको तर आफूसँग ४ कठ्ठा १५ धुर मात्रै जग्गा रहेको पीडितले बताए ।
त्यस्तै अर्का पीडित रामसुरत गुप्ताले ऋण लिएको पैसा चुक्ता भयो भनेर तमसुक माग्दासमेत नदिएको बताए । उनले ऋण चुक्ता भएको कागज गरेर पनि आफूहरूको लेखाई नभएको भन्दै बाँकी पैसा माग्ने गरेकोसमेत बताए । गुप्ताले जनता मार अपराधीलाई कारबाही गरेर मात्रै जानको लागि काठमाडौँ आएको बताए ।
आन्दोलनमा आएकाहरूले हजुरबुबाले लिएको ऋण नाती पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गासमेत कब्जा गरेर भूमिहिन भएको बताएका छन् । आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले मिटर ब्याज लिन पाइँदैन,जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरू खबदार, मिटर ब्याज लिनेलाई कारबाही गर्, मिटर ब्याज लिएर जनतालाई सुकुम्वासी र भूमिहीन बनाउन पाइँदैन,लेखेका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया