Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

अब शरणार्थी शिविरमा भेटिने छैनन् डा. भम्पा राई

इकागज |
असार ५, २०७९ आइतबार ९:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा.भम्पा राईको निधन भएको छ । झापाको दमकमा बस्दै आएका ७५ वर्षीय राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी पेट सम्बन्धी समस्याबाट पीडित थिए ।

पाँच दिन अघि उनको हर्नियाको शल्यक्रिया पनि भएको थियो । शनिबार दिउँसो मुटुको चालमा गडबडी भएपछि सुरुमा दमकस्थित लाइफलाइन अस्पतालमा त्यसपछि विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको आइतबार किरात संस्कारअनुसार दमकमा अन्त्येष्टि गर्ने तयारी छ ।


राई भुटानी राजाका निजी डाक्टर थिए । सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उनी आफ्नै इच्छाले नेपाल आएका थिए । राई श्रीमती, र बुवा-आमासहित नेपाल आएका थिए ।

उनी दमकमा स्वास्थ्य क्लिनिक खोलेर भुटानी शरणार्थी तथा स्थानीयका लागि नि:शुल्क स्वास्थ्य सेवा दिँदै आएका थिए । अब उनी शिविरमा भेटिने छैनन् । 

उनले भुटान एकै दिनमा छोड्न सकेका थिएनन् । वर्षौदेखिको प्रयासले उनले एकदिन आफ्नो थातथलो छोडे । देश छोड्दा उनले आफ्नो बाल्यकालीन सम्झना र तन्नेरी यादहरू छोडे । श्रीमती , सिरक र सिरानी साथमा ल्याएका थिए । सबैथोक छोडे तर आफ्नो माटोलाई कहिले बिर्सेनन् ।

उनी भन्थे,' यो शरीर भुटानको माटोमा बनेको हो । मैले त्यहीँ जानुपर्छ । त्यो मेरो मानवीय कर्तव्य पनि हो । माटोमा मिल्ने शरीर मैले उतै पुर्‍याउनु पर्‍यो नि ।'

आमा विष्णुमायाको २०५४ सालमा र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो । दुई वर्षअघि उनकी श्रीमती उर्मिलाको पनि निधन भएपछि भम्पा डेरामा एक्लै बस्दै आएका थिए । राईलाई गत जेठ १३ देखि दमक नगरपालिकाले दमक-५ मा निःशुल्क बस्ने व्यवस्था गरिदिएको थियो । राईका छोरा-छोरी छैनन् ।

 


Author

थप समाचार
x