समाज

सीमानाकामा चिनीको अवैध कारोबार (फाेटाे कथा)

इकागज |
असार ५, २०७९ आइतबार १२:४१ बजे

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर र कोटहीमाईको सिमाना दुर्गौलियामा झिसमिसे नहुँदै साइकल, मोटरसाइकल र पैदलमार्फत चिनीकाे अवैध ओसारपसार हुने गरेकाे पाइएकाे छ । क्षमताअनुसार बालबालिकाले २५ केजी, साइकलमा एक बोरा र मोटरसाइकलमा चार बोरासम्म चिनी भारतबाट नेपालतर्फ ल्याउने गरेकाे पाइएकाे हाे। 

रुपन्देहीमा पछिल्लोसमय भारत सरकारले चिनी र गहुँ निर्यातमा बन्देज लगाएसँगै सीमा क्षेत्रमा यस्ता दृश्यहरू देखिन थालिएकाे हाे ।


दैनिक उपभोग्य बस्तु, हार्डवेयर, कपडा, खाद्यान्न, मेसिनरी तथा इलोक्ट्रोनिक्स सामानहरू दुर्गौलिया मात्र होइन कदमहवा, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली, बनगाई नाका त्यस्तै सेमरपानी, भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनिया लगायतका नाकाबाट पनि उत्तिकै मात्रामा नेपाल भित्रिन्छन् । 

सीमा विन्दुमै बस्ती भएकोले दशगजा नजिकै गोदाममा भण्डारण गरेर राख्ने र त्यहाँबाट आवश्यकताअनुसार पिकअफ, मोटरसाइकलमै भैरहवाको गल्लामण्डी, मणिग्राम बुटवलसम्म पठाउने गरेका छन् । 

भारतमा किनेका मूल्यबाट प्रतिकेजी एक रुपैया फाइदा लिएर चिनी सीमा पार गरी दशगजा नजिकै रहेको गोदामसम्म ल्याइदिने गरेका छन् । भारतमा किन्नेले दशगजा पार गरी नेपालतिर रहेको गोदामसम्म ल्याइदिने गरेका हुन् । 

बेथरी, पिपरहिया, मैनहिया, बगहा, दुर्गौलिया, मेउडिहवा लगायतका प्रहरी चौकीको बाटो हुँदै अवैध समान भित्रिने गरेको छ ।
प्रहरीले केही सामान नियन्त्रणमा नियन्त्रणमा लिए पनि तस्करी नियन्त्रण भएको छैन । 

आफनो क्षमता र जनशक्तिले भ्याएसम्म अवैध कारोबारलाई नियन्त्रण गर्न प्रयास गरिरहेको प्रहरी अधिकृतहरू बताउँछन् । 
सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने रणनीति नै रहेको बताउँछन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जिल्लामा तस्करी नियन्त्रणमै रहेको दाबी गरे । ‘खुला सीमाका कारण घरायसी प्रायोजनका लागि छिटपुट व्यवहारिक रुपमा भयो होला । तर, ठूलो मात्रामा चोरी निकासी भएको छैन,’ उनले भने ।

गत आइतबार सैनामैना–१० बाट ११ क्वीन्टल र बिहीबार देवदहबाट २८ क्वीन्टल चिनी जिल्ला मातहतको टोलीले गरेको छ । दैनिक रुपमा चोरी तस्करीका सामान बरामद भइरहेको डीएसपी पौडेलले भने ।

रुपन्देही सशस्त्र प्रहरीले पनि तस्करीका सामान नियन्त्रण गरिरहेको तथ्यांक पनि उस्तै छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश पौडेलले दैनिक रुपमा तस्करीका सामान बरामद भइरहेको जानकारी दिए । 

चिनी मात्र हेर्ने हो भने गत १४ जेठमा २३ क्वीन्टल, १२ जेठमा  दुई क्वीन्टल बरामद भएको छ । यस्तै दैनिक रुपमा मातहतका प्वाइन्टहरूले अवैध सामान फेला पारी पक्राउ गरी कारबाही प्रक्रियाअगाडि बढाइएको बताए । 

भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा कृत्रिम अभाव सृजना गरी अस्वाभाविक मूल्यवृद्धि भएको छ । नेपाली बजारमा चिनी करिब एक सयको हाराहारीमा बिक्री भइरहेको छ । भारतमा भने चिनीको मूल्यमा वृद्धि भने भएको छैन । 

भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुुसार भारतले चिनी र गहुँको निर्यात बन्द गरेसँगै आयात शून्यमा झरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा एक करोड दुई लाख ९० हजार किलो चिनी आयात भएकोमा २०७८/०७९को वैशाखसम्म १६ लाख ८४ हजार २६९ किलो मात्र चिनी आयात भएको छ । 
यस्तै २०७७/७८ मा  आठ करोड १३ लाख किलो गहुँ र तीन लाख ३८ हजार किलो गहुँको पिठो आयात भएको थियो ।  चालु आर्थिक वर्ष २०७८/७९मा ६ करोड १७ लाख केजी गहुँ र एक लाख ६० हजार केजी गहुँको पिठो आयात भएको छ । 

नेपाल चिनी उद्योग संघका अनुसार वार्षिक माग दुई लाख ५० हजार मेट्रिक टन छ । चालु अवस्थाका १२ वटा चिनी उद्योगले एक लाख ३१ हजार मेट्रिक टन चिनी उत्पादन गर्दै आएका छन् । कच्चा पदार्थको अभावले अहिले उद्योग ५० प्रतिशत क्षमतामा मात्र चलेका छन् । 
देशमा अभाव नहोस् भन्ने हेतुले भारतले ११ जेठदेखि बाह्य मुलुकमा चिनी निर्यात बन्द गरेको छ ।

 न्युज कारखाना


Author

थप समाचार
x