समाज

सल्लाको रुखमा भेटिने 'भैरवनाथ'काे यात्रा

बिस्का: जात्रामा ठड्याउने 'यःसिं' ल्याउँदै साँखुका स्थानीय

इकागज |
चैत २२, २०७७ आइतबार १८:६ बजे

भक्तपुर : साँखुस्थित चलाखुटोलका स्थानीय र गुठीयार आइतबार बिहानै भुल्भुको सामुदायिक वनतिर लागे । स्थानीयले त्यहाँ परम्पराअनुसार पूजाका सामग्री उनीहरूले आफ्नो साथमै लगेका थिए । वनमा पुगेपछि स्थानीयले एउटा सल्लाको रुख छाने ।  अन्त्यमा छानेको रुखलाई उनीहरूले भुइँमा गिराए ।     

चैत ३१ गते साँखुस्थित चलाखु टोलको महालक्ष्मी अष्टमातृका पीठकै सामुन्‍नेबाट बिस्का: जात्रा सुरु हुन्छ । त्यो जात्रा सुरु हुनुअघि हात नभएको एउटा लिंगो ठड्याइन्छ । आइतबार दिउँसो चलाखुटोलका स्थानीयले भुल्भुको वनमा काटेको साल्लाको रुख नै त्यो लिंगो हुनेछ ।     


हात नभएको यो लिंगाेलाई स्थानीयले य:सिं भन्छन् । भैरवनाथको प्रतीक मानिने यःसिंलाई बिस्का: जात्राको चौथो दिन पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा ठड्याइन्छ ।

बिस्का: जात्रामा ठड्याइने यःसिंको लागि हरेक वर्ष रुख काट्ने चलन छैन । अघिको यःसिं जीर्ण भएकोले यस वर्ष रुख काटिएको स्थानीय पवनलाल श्रेष्ठले बताए । स्थानीय र गुठीयारले सल्लाको रुख काटेर हाँगा र बोक्रा ताछतुछ पार्छन् । सुरुमा काट्न छानेको रुखलाई गुठियारले विधिपूर्वक पूजा र भाले अथवा बोका बली दिन्छन् ।

त्यस्तै संस्कृतिविद् प्रकाशमान सक्वका अनुसार साँखुको यःसिंको लम्बाई ३२ हातको हुनछ भने हलिंपता ११ हातको हुन्छ । त्यस्तै यो जात्रामा रुद्रायणीको पुजाआजा गरी मनाइन्छ । उनका अनुसार यःसिंलाई भैरवको प्रतिक मानिन्छ । यसको लागि रुख भने बज्रयोगिनी क्षेत्रको वनबाट छानेर गुठियार अथवा टोलको सबैभन्दा जेठो व्यक्ति वा उक्त व्यक्ति वनसम्म जान नसकेको खण्डमा सबैभन्दा कान्छो व्यक्ति (जुन व्यक्तिको व्रतबन्ध गरिसकेको हुनुपर्दछ) ले छान्ने गर्छन् । उक्त गुठीमा किसी, मल्ता र खानिवाः (जसलाई नेवारीमा बेनां भनिन्छ) थरका मात्र गुठियार भई पालै पालो बिस्काः जात्रा र लिंगो ठड्याउने र गुठी भोज खाने प्रचलन रहेको पाइन्छ । 

उनका अनुसार साँखुको यो बिस्का: जात्रा काठमाडौँका राजा प्रताप मल्लको पाला भन्दा धेरै पहिलेदेखि नै सञ्चालन हुँदै आएको मानिन्छ । मल्लकालमा यःसिं ठड्याउने र ढाल्ने समयमा राजा सवारी हुन्थ्यो । प्रताप मल्ल सवारी भएको अभिलेख बज्रयोगिनी शान्ति स्वस्ति घटनावलीमा लेखिएको पाइन्छ । उनी भन्छन्,‘गुठी जग्गाको आयश्रोत नपुग्ने कारण विगत ३०/४० वर्षदेखि औपचारिकता मात्र पूरा गर्ने गरी साँखुमा लिङ्गो ठड्याई बिस्काः जात्रा मनाउँदै आएको छ । उक्त लिंगो चैत्र ३० गते ठड्याएर बैशाख २ गते ढालिन्छ ।’ 

तस्बिरहरू : पवनलाल श्रेष्ठ र भाष्कर बिजय कृष्णकाे फेसबुकबाट


Author

थप समाचार
x