समाज

मध्यपुर थिमिमा बिस्का जात्रा नरोकिने

इकागज |
चैत २३, २०७७ सोमबार १८:५० बजे

सिन्दुर जात्रा फाइल फाेटाे : मध्यपुर थिमि नगरपालिका वेभसाइट

भक्तपुर : मध्यपुर थिमिको बिस्का जात्रा सचेतना र सतर्कतापुर्बक मनाउन मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले अनुरोध गरेका छन् । भिडियो सन्देश जारी गर्दै नेपाललाई विश्वमै पहिचान दिलाऊन सफल बिस्का जात्रा लगायत जिब्रो छेड्ने जात्रा आवश्यक सतर्कता अपनाएर गरेरै छाड्ने बताएका हुन् ।

जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्र भक्तपुरले जात्रा नमाउन दिएकाे निर्देशन मध्यपुर थिमि नगरपालिकाले नमान्ने भएको छ। आइतबार मात्रै जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्र भक्तपुरको ४५ औँ बैठकले जिब्रो छेड्ने तथा सिन्दुर जात्रामा अत्यधिक भिडभाड भई कोभिडको जोखिम बढ्ने सम्भावना रहेकोले यस्ता किसिमका कार्यहरू नगर्न, नगराउन लागि निर्देशन दिएको थियाे । 


कोभिडको जोखिम कायमै रहेको कारण देखाउँदै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा तथा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलाललगायतको उपस्थितिमा बसेको बैठकले सरकारबाट जारी भएको मापदण्डहरुको उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको थियाे । 

तर मेयर श्रेष्ठले सिन्दुर खेल्दा आपसी रुपमा खेल्न र बिना अनुमति दर्शकलाई अबिर नछ्याप्‍न र नदल्न अनुरोध गरेका छन् । साथै जात्रामा जाँदा कपडाको जुत्ता, स्पोट्र्स सुज लगाउन अनुराेध गरेका छन् । उनले भने, 'छालाको जुत्ता लगाउँदा धेरैलाई खुट्टामा समस्या भएको र घाइते भएकोले सबैले कपडाको जुत्ता, स्पोट्र्स सुज लगाउन अनुरोध गर्छु । यसपालिको विस्का जात्रालाई सचेतता र सर्तकता रुपमा सभ्य र भव्य रुपमा सम्पन्‍न गराैँ ।' 

त्यस्तै नगरपालिकाले अनावश्यक रुपमा होर्डिङ बोर्ड, फ्लेक्स राख्न निरुत्साहित गर्ने नीति गर्ने लिएको समेत जानकारी दिए । अनावश्यक रुपमा फ्लेक्सबोर्ड राखेर प्रचारप्रसार व्यवसाय नगर्न उनले अनुरोध गरे । 


Author

थप समाचार
x