समाज

खाना खान सिकाउने ‘मिताहारा’ ‍‍[भिडियाेसहित]

हामी के खाइरहेका छौँ ? ती खानेकुरा कहाँबाट आउँछन् ? कसरी उत्पादन हुन्छन् ?

सृजना खड्का |
असार २६, २०७९ आइतबार १६:४६ बजे

काठमाडौँ– सहरका किराना पसलदेखि होटलसम्म स्वास्थ्यभन्दा स्वादिष्ट खानेकुराको मेला लाग्छ । त्यही मेलाबाट हामी स्कुल जाने छोराछोरीलाई चाउचाउ र बिस्कुट पठाउँछौँ । अफिसमा मःम चाउमिन र पिज्जा मगाएर खान्छौँ  । 

तर, हामी के खाइरहेका छौँ ? ती खानेकुरा कहाँबाट आउँछन् ? कसरी उत्पादन हुन्छन् ? हामीले खाइरहेका खानेकुरा स्वादिष्ट मात्रै छन् कि स्वस्थकर पनि छन्, कहिल्यै आफूलाई प्रश्न गर्नुभएको छ ?


अति महत्वपूर्ण तर, बेवास्ता गरिएका यी प्रश्न लिएर ‘मिताहारा’का चार युवा (विजय पौडेल, सुप्रिया भट्टराई, आस्था कार्की र दिव्या मिताल) हिजोआज अफिस र स्कुलहरू धाउँछन् । पोषणबारे जनचेतना फैलाउँछन् ‘मिताहारा’को माध्यमबाट । मिताहारा अर्थात मध्यम भोजनको बानी । जसमा मित भनेको मध्यम र आहारा भनेको भोजन हो ।  

मिताहाराको अवधारणाबारे थप प्रस्ट पार्दै सह–संस्थापक विजय पौडेल भन्छन्, ‘आज शरीरले थेग्नै नसक्ने गरी खाएर भोलि रोग लागेर त्यो खानेकुरा मुखैमा हाल्ने नमिल्ने हुनुभन्दा मध्यम र मिलाएर कसरी खाने भनेर मिताहाराले सिकाउँछ ।’

मिताहारा सुरु भएको तीन वर्ष भयो । पौडेलका अनुसार मिताहाराले विशेष गरी स्कुल र अफिसमा गएर खानासम्बन्धी तीन घण्टाको सेसन चलाउँछ । अफिसमा बसेर डेस्कटप वर्क गर्नेलाई उनीहरूले खाने खानाबारे सचेत गराउँछ । त्यस्तै, स्कुलका किचनमा पसेर बालबालिकालाई खुवाउन हुने र नहुने खानेकुराबारे छलफल गर्छ । यो टिम खाना नै औषधि हो, स्वस्थ खाना खायो भने धेरै रोगहरूबाट बच्न सकिन्छ भन्नेमा विश्वास गर्छ ।

‘हाम्रो मुख्य चासो काम गर्ने ठाउँ र स्कुले बालबालिकाले के खाइरहेका छन् भन्नेमा हुन्छ,’ पौडेलले भने, ‘एउटा युवाले आफ्नो जीवनको अधिकांश समय अफिसमा बिताउँछ । त्यहाँ खानेकुरा राम्रो भएन भने उसको स्वास्थ्यदेखि काम गर्ने क्षमतासम्म असर पर्छ भन्ने कुरामा हामी काउन्सिलिङ गर्दै हिँडिरहेका छौँ ।’

मिताहाराले गएको छ महिनामा विभिन्न कर्पोरेट हाउस पुगेर पाँच सयभन्दा बढीलाई काउन्सिलिङ गरिसकेको छ । अबको सात वर्षमा पाँच लाख बढी अफिसका कर्मचारीलाई सचेत बनाउने उनीहरूको उद्देश्य छ । यो जनसंख्यालाई सचेत गर्न सके उनीहरूले नै अरुलाई सिकाउने अपेक्षा मिताहाराको छ । ‘हामीले काउन्सिलिङ गरेकामध्ये धेरैजना अहिले नट्स र सलाद खाने, घरबाटै स्वस्थ खानेकुरा बोकेर ल्याउने गर्न थालेका छन्,’ उनले सुनाए, ‘हामीले गरिरहेको कामबाट निकै राम्रो प्रतिक्रिया पाइरहेका छौँ ।’ 

यति मात्रै नभएर मिताहारा सहरलाई स्वस्थ खानेकुराको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ भन्नेमा पनि काम गरिरहेको छ । 

मिताहाराकी अर्की सह–संस्थापक पोषणविद् सुप्रिया भट्टराईले पोषण पढ्दा सिकेको कुरा आफ्नै जीवनमा लागू गरिन् । त्यसले उनको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याइदियो । त्यही कुरा अरु धेरैजनामा पुर्‍याउने उद्देश्यले उनी मिताहारामा जोडिइन् । 

मिताहाराकै सह–संस्थापक पोषणविद् आस्था कार्कीको पनि एक मात्र उद्देश्य मानिसहरूमा खानासम्बन्धी भ्रम चिरेर सचेतना फैलाउनु हो । ‘खानेकुरासम्बन्धी मानिसहरूमा धेरै भ्रम छ,’ उनले भनिन्, ‘डाइबेटिज हुनेले सुगर फ्री बिस्कुट खान्छन् तर, त्यसमा चिनी हुन्छ भन्ने धेरैलाई थाहा छैन । फलफूल खानुपर्छ भन्दा त्यसमा चिनी हुन्छ भन्नेहरू पनि छन् । त्यसैले हामी खानेकुरा किन्दा के–के हेरेर किन्ने त्यो पनि सिकाउँछौँ ।’

पोषणविद् कार्की कम यात्रा गरेका खानेकुरालाई स्वस्थ खानेकुरा मान्छिन् । ती खानेकुरा पनि मात्रा मिलाएर खानुपर्ने उनी बताउँछिन् । ‘मौसमको आफ्नै क्यालेन्डर हुन्छ, त्यही अनुसारको खानेकुरा मिलाएर खानुपर्छ,’ उनी भन्छिन् । 

पोषणविद् भट्टराई पनि खानासम्बन्धी थुप्रै अन्धविश्वास भएको बताउँछिन् । ‘हिजोआज सबैको हातहातमा गुगल छ,’ उनी भन्छिन्, ‘सबै मानिसहरू सूचनाको पहुँचमा छन् । मानिसहरूसँग सूचना त छ तर, आफ्नो शरीरका लागि कस्तो सूचना आवश्यक छ थाहा छैन । खानेकुरा र डायट प्लानहरू शरीरअनुसार फरक–फरक हुन्छ भन्ने बुझाउन निकै गाह्रो परिरहेको छ ।’

खानाको विषयमा मानिसहरूलाई सुरुमा सिकाउन गाह्रो भएको अनुभव मिताहाराको छ । तर, एकपटक सचेत भएपछि उनीहरू आफैँ अरुलाई यसबारे जानकारी दिँदै हिँडेको उनीहरूले पाएका छन् । नेपालमा औषधि, अस्पताल र डाक्टरमा भन्दा रोग नियन्त्रण र निवारणभन्दा लगानी बढाउनुपर्ने यो टिमको साझा तर्क छ ।

अस्पताल पुग्नुभन्दा अगाडि स्वस्थ जीवनशैली अपनाउने थुप्रै बाटाहरू भएको उनीहरू बताउँछन् । तर, ती बाटाप्रति मानिसहरू अनविज्ञ भएको देखेर यो टिमलाई निकै दुःख लाग्छ । फिल्डमा काम गर्दा युवा उमेरमै धेरैमा डाइबेटिज, हाइपरटेन्सन जस्ता समस्या देखिएको उनीहरू बताउँछन् ।  

अस्वस्थ भन्ने थाहा हुँदाहुँदै मानिस फेरि किन त्यही अस्वस्थ खानेकुरा खान्छ ? यसमा पोषणविद् भट्टराईको आफ्नै धारणा छ । ‘हामी खाना आनन्दका लागि खान्छौँ,’ उनी भन्छिन्, ‘काम गरेर थाकेको बेला हामीलाई चिनी र नुन भएका प्याकेटका खानेकुरा र सुगरी डिं«कहरूले आनन्द दिन्छ । त्यसैमा लत बस्छ । त्यसैले क्षणिक आनन्दका लागि मानिसहरू अस्वस्थ खानातिर ढल्किरहेका छन् ।’

पोषणविद् कार्की भने त्यस्त खानेकुरा वर्तमानमा मात्रै नभएर भविष्यमा समेत महँगो पर्न जाने बताउँछिन् । ‘जंक खानेकुरा किनेर खाँदा मात्रै होइन, भोलिको दिनमा बिरामी पर्दा झनै महँगो पर्न जान्छ,’ उनी भन्छिन्, ‘तर, आज स्वस्थ जीवनशैली बिताइयो भने भोलि औषधि र अस्पतालको खर्च बचाउन सकिन्छ ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x