समाज

ज्यानमारा वायु प्रदूषण, यसरी पुर्‍याउँदैछ मृत्युको मुखमा

विष्णु विश्‍वकर्मा |
चैत २४, २०७७ मंगलबार १८:२५ बजे

काठमाडौँ : सोमबार अबेरसम्म डा.नवराज केसी आफ्नो क्लिनिकमा बसिरहेका थिए । वायु प्रदूषणको चिन्ता एकातिर थियो । अर्कोतिर त्यही प्रदूषणले अस्पताल आउने बिरामीको संख्या बढ्दो थियो । बिरामीको चापले डा.केसीलाई फुर्सद थिएन ।

यसै कारण उनी अचेल अबेरसम्म अस्पताल वा आफ्नो क्लिनिकमा हुन्छन् । सोमबार राति ९ बजेपछि गम्भीर प्रकृतिका दुईजना बालबालिका दम बढेर उनको क्लिनिक आइपुगे । बिरामीका आफन्त रोईकराई गर्न थाले । डा.केसीले बुझ्दै जाँदा उनीहरु खेल्दाखेल्दै सास फेर्न गाह्रो भएर अस्पताल ल्याइएकाे थियाे ।


एक बालक थिए । उनको उमेर चार वर्षको थियो । अर्की बालिका सात वर्षीया थिइन् । 

अवस्था यस्तो थियो कि तुरुन्तै उपचार सुरु नगरे उनीहरू सकुशल घर फर्किने सम्भावना निकै कम बनिसकेको थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डा.केसीले दुवै बालबालिकालाई आफ्नै क्लिनिकका छुट्टाछुट्टै बेडमा राखेर उपचार थाले ।

‘बालबालिकामा दम हुने सम्भावना निकै कम हुन्छ । यदि दम भइहाल्यो भने बचाउन झनै कठिन हुन्छ’ डा.केसीले इकागजसँग टेलिफोनमा भने, ‘दम बढेर गम्भीर अवस्थामा पुगेका बालबालिकालाई तुरुन्तै उपचार गर्न सकिएन भने सकुशल घर फर्काउन गाह्रै हुन्छ । तर उनीहरुले समयमै उपचार पाए । तलमाथि भएन ।’

दम बढेर अन्तिम अवस्थामा पुग्‍नै लागेका दुई बालबालिकाको ज्यान जोगाउन डा.केसी रातभर जाग्राम बसे । बढ्दो प्रदूषणका कारण बाहिर निस्कने अवस्था थिएन् । अस्पतालको बेडमा पनि अक्सिजन मास्क लगाएर दुवै जनाको सास जोगाउने उनको प्रयासले बिहानतिर मात्रै सफलता पायो । उनी केही खुसी त भए । तर बढ्दो प्रदूषण नियन्त्रणतर्फ कसैको ध्यान नपुग्दा त्यत्तिकै खिन्‍न पनि । 

‘बालबालिकामा दम देखिनु दुर्लभ केस हो । दम देखिए तत्कालै उपचार थाल्नुपर्छ’ डा.केसी भन्छन्, ‘तत्काल उपचार भएन भने धेरैको ज्यान जान सक्छ । त्यसमाथि वायु प्रदूषण बढेका बेला जसलाई पनि दम बढ्न सक्छ । उपचार भएन भने मृत्यु नै हुन सक्छ ।’

कर्णाली प्रदेश अस्पतालमा बाल रोग विशेषज्ञका रूपमा कार्यरत डा.केसीले वायुमण्डलमा रहेको प्रदूषण हानिकारक मात्रै नभई बालबालिका र वृद्धका लागि मृत्युको कारक बन्ने सक्ने खतरा रहेको औँल्याउँछन् । 

‘दैनिक रुखहरू काटिएका छन् । डढेलो फैलिएको छ । प्लाष्टिक बालिएको छ’ उनले इकागजसँग अगाडि उनले भने, ‘अक्सिजनको मात्रा घट्दै गएर बढदो जनसंख्यालाई चाहिने अक्सिजनको कमी हुँदै गएको छ । यसले युवाहरूलाई तत्काल ठूलो असर नहोला । तर बच्चा र वृद्धका लागि भने दम बढेर मृत्युकै कारक बन्न सक्छ ।’

प्लाष्टिक मुख्य चुनौति, डढेलो कसले निभाउने ? 

डा.केसीका अनुसार पछिल्लो दुई हप्तादेखि वायुमण्डमा देखिएको प्रदूषण सामान्य छैन । यो मानवीय संकटका रूपमा देखिएको गम्भीर समस्या हो । एकातिर वन फडानी, आगलागी र प्लाष्टिकजन्य पदार्थको बढ्दो प्रयोग र जलाउने गर्दा पनि वायुमण्डलमा प्रदूषण बढेको देखिन्छ ।

अर्कातिर सडक निर्माण, मर्मतदेखि पुराना सवारी साधनका कारण प्रदूषण बढेकाले स्वास्थ्य जोगाउनु मूख्य चुनौति रहेको उनको भनाइ छ । दैनिक चोक-चोकमा प्लाष्टिक बाल्ने, वन जंगलमा डढेलो लगाएपछि नयाँ पालुवा पलाउँछ भनेर प्रदूषण बढाउने काम गरेकाले अहिले मानव स्वास्थ्य जोखिममा रहेको डा.केसीले बताए ।

रुख रोप्‍न बेवास्ता गर्ने र डढेलो नियन्त्रणतर्फ ध्यानै नदिँदा दैनिक हजारौँ बालबालिका र वृद्ध मृत्युको जोखिममा रहेकातर्फ सरकार सचेत हुनुपर्ने उनको भनाइ छ ।

‘हामीले अहिले पनि रुख रोप्‍ने काम गरेका छैनौँ । दैनिक रुख काटिरहेका छौँ । प्लाष्टिक बालिरहेका छौँ । अनि वन जंगलमा लागेको डढेलो नियन्त्रण गर्नेतर्फ सोचेका पनि छैनौँ’ उनले समस्याको चुरो समात्दै भने, ‘यसतर्फ ध्यानै नदिने र खालि वायु प्रदूषण मात्रै बढेको भनेर कराइरहेका छौँ भने हामीले आँफैलाई मृत्युको मुखमा पुर्‍याइरहेका छौँ ।’

डा.केसीले तीन तहका सरकार हुँदा पनि डढेलो निभाउनेतर्फ ध्यान नदिनु गैरजिम्मेवारपन भएको टिप्पणी गरे । ‘हामीसँग तीन तहका सरकार छन् । तीन तहका सरकारसँग बजेट पनि छ । थोरै समन्वय गरेर काम गर्दा डढेलो नियन्त्रण हुन सक्छ’ उनले भने, ‘तर यसतर्फ कसैको पनि ध्यान गएको पाइँदैन । यसले झन ठूलो समस्या निम्त्याएको छ । आखिर कसले निभाउने हो डढेलो ?’

दिगो समाधानका तीन उपाय 

पछिल्लो समय प्रदूषणका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या हुने र दम बढ्नेलगायतका समस्या बढ्नुमा मुख्य तीन कारण जिम्मेवार छन् । दम बढ्ने कारण जन्मजात पनि हुन सक्छ । अर्को प्रदूषण र आर्दताको कमीले गर्दा पनि यो समस्या निम्तिन सक्ने डाक्टरहरुको भनाइ छ ।

यो समस्या समाधानका लागि वातावरण संरक्षण गर्ने खालका गतिविधि गर्नुपर्ने डा.केसीको सुझाव छ । त्यसका लागि हरेक दिन, महिना र वर्षमा निश्चित उद्देश्य राखेर बोटबिरुवा रोप्ने काम अगाडि बढाउनुपर्छ । यसका साथै प्लाष्टिकजन्य पदार्थ जलाउने काम कडाइका साथ रोक्नुपर्छ ।

डा.केसी प्लाष्टिक जलाउनेलाई सरकारले कारबाही गरेमात्रै यो समस्या घट्न सक्ने बताउँछन् । यसरी प्लाष्टिक जलाउँदा मानव स्वास्थ्य र वातावरणलाई धेरै असर गर्ने भन्दै सरकारले एकपटक राम्रोसँग सोचेर वातावरण जोगाउनतर्फ लाग्‍नुपर्ने उनको सुझाव छ । 

तेस्रो कारणमा सडक निर्माण गर्दा पनि धेरै प्रदूषण निस्केको छ । वर्षौसम्म एउटै सडक निर्माणमा समय खर्चिने, धुँवा उडाइरहने, त्यसमा गाडी चलाउन नरोक्ने जस्ता समस्याले गर्दा पनि प्रदूषण बढ्दो छ । यसलाई रोक्न प्रभावकारी कदम नचाले सडक छेउछाउ बस्ने र सडकमा हिंड्ने सबै नागरिक दम जस्ता श्वासप्रश्वास रोगबाट मृत्युको मुखमा पुग्ने डा.केसीको भनाइ छ ।

‘अहिले प्रदूषणका कारण आँखा पोल्ने समस्याबाट हामी थोरै चिन्तित छौँ । भोलि आँखा पोल्ने मात्रै होइन, दमले अचानक मृत्यु हुने समस्याबाट ग्रसित हुन्छौँ । त्यतिबेला चिन्ता व्यक्त गरेर हुँदैन’ प्रदुषण नियन्त्रण गर्ने उपायको सारमा डा.केसी भन्छन्, ‘जतिसक्दो छिटो रुख रोप्‍ने, प्लाष्टिक जलाउनेलाई कारबाही गर्ने, सडक निर्माण र मर्मत समयमै गर्नुको विकल्प छैन ।’


Author

थप समाचार
x