आज साउने सङ्क्रान्ति : पशुपतिमा बिहानैदेखि भक्तजनको भिड
काठमाडौँ - सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।
साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।
पशुपतिनाथ मन्त्रदिरमा साउनको पहिलो दिन भक्तजनको भिड लागेको छ । पशुपतिनाथ मन्दिरमा असार ३२ गते शनिबारदेखि नै भक्तजनको भीड लागेको थियो । आइतबारका लागि स्वयंसेवक, महिला प्रहरीलगायतको व्यवस्था मिलाइएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा आउने भक्तजनको व्यवस्थापनका कामको नीतिगत व्यवस्थापनका लागि सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा समिति गठन गरेको अधिकारीले बताए । नीति कार्यान्वयनका लागि विभागीय प्रमुखहरू रहेको कार्यान्वयन समितिसमेत गठन भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया