घरबाहिर जहाँ पुरुषभन्दा महिला बढी छन्
देशमा पुरुषभन्दा महिलाको संख्या बढी छ । तर, जहाँ जहाँ शक्तिको अभ्यास हुन्छ, त्यहाँ महिलाभन्दा पुरुष नै बढी देखिन्छन् । तर यहाँ घरबाहिर एउटा यस्तो ठाउँ पनि छ, जहाँ पुरुष होइन, महिलाको संख्या बढी छ । त्यो हो, वृद्धाश्रम ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तथ्यांकअनुसार नेपालमा १ सय १६ वृद्धाश्रम छन् । जसमा २२ सय ५० वृद्धवृद्धा छन् । तीमध्ये १३ सय ८० जना महिला छन् । परिवारको स्याहारसुसारमा जीवन बिताएका महिलाहरू आफूलाई स्याहार चाहिने बेला कसरी वृद्धाश्रम पुग्छन् ? सोचनीय छ ।
ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संस्था ‘एजिङ नेपाल’का कार्यकारी निर्देशक प्रकाश गौतम पुरुषको तुलनामा महिला बढी वृद्धाश्रममा हुनुको पछाडि प्रमुख तीन कारण भएको बताउँछन् । पहिलो, महिलाको औसत आयु पुरुषभन्दा बढी हुनु । दोस्रो, सामाजिक संरचना । तेस्रो, छोराछोरी पुस्ताको कार्यव्यस्तता ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) देखि विभिन्न संघसंस्थाले गरेको अध्ययनअनुसार पुरुषभन्दा महिलाको औसत आयु बढी हुन्छ । डब्लूएचओका अनुसार, सन् २०१६ मा मानिसहरू ७२ वर्षको औसत आयु लिएर जन्मिएका थिए । लिङ्गको आधारमा छुट्याउँदा महिलाको आयु ७४ वर्ष २ महिना र पुरुषको ६९ वर्ष ८ महिना थियो ।
अध्ययनका अनुसार पुरुषभन्दा महिला बढी बाँच्नुका विभिन्न कारण छन् । पहिलो कारण ‘जीन’ हो । युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक डेविड जेम्सका अनुसार पुरुषको भ्रुणको मृत्युदर महिला भ्रुणको तुलनामा धेरै हुन्छ । महिलामा एक्स र एक्स क्रोमोजोम हुन्छ भने पुरुषमा एक्स र वाई क्रोमोजोम हुन्छ । क्रोमोजोममा जीन हुन्छ । एक्स क्रोमोजोममा यस्तो जीन हुन्छ जसले लामो समय जीवित राख्न मद्दत गर्छ ।
त्यस्तै, पुरुषहरू महिलाभन्दा कम बाँच्ने दोस्रो कारण हर्मोन भएको अध्ययनले देखाएको छ । महिलाहरूको हर्मोन एन्ट्रोजिनमा शरीरमा हुने हानिकारक तत्वलाई हटाउने गुण हुने भएकाले उनीहरू बढी बाँच्छन् भनिएको छ ।
यही तथ्यलाई जोड्दै गौतम भन्छन्, ‘छोरीहरू सानैदेखि घरायसी काम गर्छन्, शारीरिक श्रम गर्छन्, स्वस्थ हुन्छन् । उनीहरूमा पुरुषको तुलनामा जाँड, रक्सी र चुरोटको लत पनि हुँदैन । जसकारण लामो समय बाँच्छन् । परिवारबाट स्याहार नपाएपछि वृद्धाश्रम पुग्छन् ।’
पुरुष आफ्नो अधिकार जमाएर सकेसम्म आफ्नै घरमा बस्न चाहने हुँदा उनीहरू हत्तपत्त वृद्धाश्रमसम्म नपुग्ने उनको तर्क छ । ‘पुरुषहरू सकेसम्म अरूमा निर्भर हुन खोज्दैनन्,’ उनी भन्छन्, ‘बुढेसकालमा परिवारका सदस्यले नराम्रो व्यवहार गरे भने पनि उनीहरू आफ्नो अधिकारका लागि लड्छन् । महिलाहरू परिवारबाटै दुव्र्यवहार भए पनि खासै बोल्दैनन् । बोल्न नसकेपछि कि आफैँ वृद्धाश्रम जान्छन् कि परिवारले पुर्याइदिन्छ ।’
त्यस्तै, हिजोआज परिवारमा सबैजना कामकाजी भएकाले पनि स्याहारसुसार नपाएर धेरैजना वृद्धाश्रम पुग्ने गरेको उनी बताउँछन् । ‘अहिलेको पुस्ता कामधन्दा छाडेर आमाबुवा स्याहारेर बस्दैनन्,’ उनी भन्छन्, ‘परिवारबाट स्याहार नपाएपछि उनीहरूको अन्तिम विकल्प वृद्धाश्रम नै हुन्छ ।’
आम्दानीमा पहुँच र वैवाहिक उमेरान्तर
समाजशास्त्री डा. युवराज लुइँटेल वृद्धाश्रममा पुरुषभन्दा महिलाको संख्या बढी हुनुलाई वैवाहिक उमेरान्तरसँग जोडेर हेर्छन् । ‘नेपाली समाजमा बिहे हुँदा महिलाभन्दा पुरुषको उमेर बढी हुन्छ,’ उनी भन्छन्, ‘पहिला–पहिला त झन् विवाह गर्दा धेरै नै उमेरान्तर हुन्थ्यो । त्यो बेला नेपालीहरूको औसत आयु पनि कम थियो । ५०–६० वर्षमै मान्छे बूढो भइसक्थ्यो । श्रीमान् बितेपछि श्रीमतीहरू एक्लिन थाले र हेर्ने मान्छे कोही नभएपछि उनीहरू वृद्धाश्रम पुगेका हुन् ।’
विवाहमा उमेरान्तर मात्रै घटाउन सकियो भने पनि धेरै हदसम्म यो समस्या समाधान हुने उनी बताउँछन् । ‘यस्तो हुँदा एउटा बाँचुन्जेल अर्को पनि साथसाथै हुन्छ,’ उनी भन्छन्, ‘दुई जना हुँदा एकअर्कालाई भरथेग हुन्छ । एक्लै भएर परिवारको हेला सहेर वृद्धाश्रम पुग्नु पर्दैन ।’
यो विषयलाई उनी आम्दानीसँग पनि जोडेर हेर्न सकिने बताउँछन् । ‘पुरुषहरू जाागिरे हुन्छन्, उनीहरू उमेरमा तलब बुझ्छन्, बुढेसकालमा पेन्सन पाउँछन्,’ समाजशास्त्री डा. लुइँटेल भन्छन्, ‘त्यसले उनीहरूलाई आर्थिक सुरक्षा दिन्छ र बुढ्यौलीमा स्याहार पाउँछन् । तर, महिलाको हकमा आम्दानी नहुनेबित्तिकै उनीहरूलाई बोझका रूपमा लिइन्छ र स्याहार खोज्दै अरुको शरणमा पुग्छन् ।’
राष्ट्रिय मानव अधिकार आयोगकी ज्येष्ठ नागरिक विषयगत अधिकृत कल्पना नेपाल आचार्यसँग यस विषयमा केही अनुभव छन् । उनी केही समयअघि तीनवटा प्रदेशका ४० वृद्धाश्रममा अनुगमनका लागि पुगेकी थिइन् । जसमा उनले पुरुषभन्दा महिलाको संख्या बढी भएको पाइन् ।
नेपालको जनगणना २०७८ अनुसार महिलाको संख्या ५१.०४ प्रतिशत र पुरुषको संख्या ४८.९६ प्रतिशत छ । यसअनुसार महिलाको संख्या पुरुषको भन्दा ६ लाख बढी छ । यही तथ्यांक वृद्धाश्रममा महिला बढी हुनुमध्येको एक कारण भएको अधिकृत आचार्य बताउँछिन् ।
त्यस्तै, रोजगारीको सिलसिलामा युवाहरू विदेशिनुलाई पनि उनी अर्को कारण मान्न सकिने बताउँछिन् । ‘नेपालका धेरै युवा विदेशमा छन्,’ उनी भन्छिन्, ‘सम्पत्ति भएर पनि उनीहरूका अभिभावकलाई हेर्ने कोही छैनन् । कोही गरिबीका कारण वृद्धाश्रम पुग्छन्, कोही पैसा भएर पनि छोराछोरी स्वदेशमा नभएर पुग्छन् ।’
जेनेरेसन ग्याप
महिला सुरक्षा दबाब समूहकी संस्थापक सदस्य राधा शर्मा ७२ वर्षकी भइन् । कोभिड–१९ सुरु हुनुभन्दा पहिला उनी आफ्नै खुसीले दुई वर्ष वृद्धाश्रम गएर बसिन् । उनलाई वृद्धाश्रम घरभन्दा निकै शान्त र रमणीय लाग्यो । ‘अहिले परिवार बिस्तारै एकल हुँदै गएको छ,’ उनी भन्छिन्, ‘तीनओटा पुस्ताका मानिस एउटै घरमा बस्दा खटपट हुन्छ । हामीले भनेका कुरा उनीहरूलाई चित्त बुझ्दैन, उनीहरूले भनेका कुरा हामीलाई चित्त बुझ्दैन ।’
बूढ्यौली कलह र झैँ–झगडामा बिताउनुभन्दा शान्ति खोज्न वृद्धाश्रम जाने उनी बताउँछिन् । ‘घरमा भ्याकुम क्लिनर, वासिङ मेसिन, इन्डक्सन हुँदा पनि काम गर्न धौ–धौ परेको देखेर बोल्न मन लागिहाल्छ,’ उनी भन्छिन्, ‘हाम्रो जमानामा यस्तो कहाँ पाउनु भन्दा नराम्रो भइन्छ । पुरुषहरूलाई भान्सासँग मतलब नहुने भएकाले एकल भए पनि परिवारसँग मिलेर बस्न सक्छन् । महिलाको हकमा त्यस्तो हुँदैन ।’
छोरासँग बस्न नसकेर धेरै वृद्ध महिलाहरू छोरीसँग बस्ने गरेको उनले पाएकी छिन् । ‘छोरीकोमा धेरैलाई आफ्नो घरजस्तो लाग्दैन रहेछ,’ उनले भनिन्, ‘कुनै सामान टुटफुट भयो भने असाध्यै डर हुन्छ । डरमा बाँच्नुभन्दा वृद्धाश्रममै बाँच्नु राम्रो भनेर महिलाहरू वृद्धाश्रम रोज्छन् ।’
बुढेसकाल लागेपछि कान नसुन्ने, छिनको छिनमै भनेको कुरा बिर्सिने हुनाले परिवारको सदस्यले झर्को मान्ने उनी बताउँछिन् । ‘बुढेसकाल भएपछि मान्छे बच्चा जस्तै हुन्छ, कसैको साथ खोज्छ, आफूतिर अरुको ध्यानाकर्षण होस् भन्न चाहन्छ,’ उनी भन्छिन्, ‘त्यसको सट्टा झर्कोफर्को हुनेबित्तिकै वृद्धाश्रम रोजाइमा पर्छ । त्यहाँ कुराकानी गर्ने साथीभाइ हुँदा रमाइलो लाग्छ ।’
जेरियाट्रिक (ज्येष्ठ जागरिक) काउन्सिलर राजेन्द्र क्षेत्री जेनेरेसन ग्यापका कारण पनि धेरै वृद्धवृद्धा आश्रम पुग्ने गरेको बताउँछन् । ‘परिवारसँग मिलेर बस्न नसकेको कारणले पनि धेरैजनाले झर्को मानेर आश्रम पठाइदिन्छन्,’ उनी भन्छन्, ‘उमेर ढल्किँदै जाँदा मानिसहरू शारीरिक र मानसिक रोगसँग जुधिरहेका हुन्छन् । यो कुरा अहिलेको पुस्तालाई थाहा नभएर उनीहरू बीचको दूरी बढ्छ ।’
बुढ्यौलीको योजना के छ ?
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ध्रुवराज पण्डित यो विषयमा अनुसन्धान नगरी केही भन्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘यो विषयमा खासै अध्ययन–अनुसन्धान नभएकाले ठ्याक्कै यही कारणले पुरुषभन्दा महिला बढी वृद्धाश्रममा छन् भन्न सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘सायद परिवारबाट पाउनुपर्ने माया बुढेसकालमा नपाएकाले उनीहरूको रोजाइमा वृद्धाश्रम परेको हुन सक्छ ।’
एजिङ नेपालका कार्यकारी निर्देशक गौतम वृद्धवृद्धाले उमेरमै बुढेसकालको योजना नबनाउनाले आश्रम पुग्नुपरेको बताउँछन् । ‘हरेक नेपालीले जीवनको योजना ३५–४० वर्षसम्म मात्रै बनाउँछ,’ उनी भन्छन्, ‘कमाउने, बिहे गर्ने, घर–गाडी किन्नेबाहेक उनीहरूसँग बुढेसकालको योजना हुँदैन । बुढेसकालमा कहाँ बस्ने, के खाने, कसरी बाँच्ने जस्ता योजना नहुनु भनेकै दुःख पाउनु हो ।’
गौतमले कसैलाई बुढेसकालको योजनाबारे सोध्दा पाउने जवाफ हो, ‘छोराबुहारीले पाल्लान् नि, जेठोले नपाले माइलो, माइलोले नपाले कान्छोले त कस्सो नपाल्ला ।’ यसरी छोराछोरीमा निर्भर हुन खोज्नु नै उनीहरूको ठूलो गल्ती भएको उनको निष्कर्ष छ । ‘अहिलेको समाजमा श्रीमान्सँग श्रीमती निर्भर हुन खोज्दैनन्, हुर्केका छोराछोरी बुवाआमासँग निर्भर हुन चाहँदैनन्,’ उनी भन्छन्, ‘त्यसैले अहिलेका युवाले वृद्धाश्रमसम्म नपुग्न अहिलेदेखि नै बुढेसकालको योजना बनाउन थाल्नुपर्छ ।’
एजिङ नेपालको तथ्यांकअनुसार हाल हरेक दिन एक जना ज्येष्ठ नागरिक बेवारिसे अवस्थामा मृत फेला पर्छ । ‘पहिला महिनामा यस्ता केस तीन–चारवटा मात्र भेटिन्थे,’ गौतम भन्छन्, ‘अहिले हेलाको पात्र बनेर सडकमा पुग्ने धेरै छन् ।’
पैतृक सम्पत्तिको अधिकार पुरुषसँग भएकाले पनि धेरै महिला वृद्धाश्रम पुग्ने गरेको उनी बताउँछन् । ‘आफ्नो हातमा लालपुर्जा भएपछि पुरुषले मेरो सम्पत्ति मेरो खुसी भन्न सक्छ,’ उनी भन्छन्, ‘महिलाको हकमा त्यसो हुँदैन । सम्पत्ति भए पनि फस्ल्याङफुस्लुङ पारेर वृद्धाश्रम पठाइदिन्छन् ।’
आर्थिक सुरक्षा नै समाधान
समाजशास्त्री डा. लुइँटेल पनि पैतृक सम्पत्ति र आम्दानीमा महिलाको सशक्तीकरणमा जोड दिनुपर्ने उनी बताउँछन् । ‘जग्गाको स्वामित्व मात्रै यसभित्र पर्दैन,’ उनी भन्छन्, ‘दुई हजार रुपैयाँ चहिँदा आफ्नो खल्तीबाट निकाल्न सक्ने हुनुपर्छ । ‘डिस्पोजेबल इन्कम’ अर्थात् मन लाग्दा तुरुन्तै खर्च गर्न सक्ने पैसा महिलाको हातमा छ कि छैन, त्यसले फरक पार्छ ।’
यसमा सरकारले दिएको वृद्धाभत्ताको कुरा आउन सक्छ । तर, त्यसको असर यो हदसम्म छ कि छैन अध्ययनको विषय भएको उनी बताउँछन् । ‘सरकारले दिएको वृद्धभत्ताले वृद्धाश्रम जानुपर्ने परिस्थितिलाई रोकेको छ कि छैन अनुसन्धानको विषय हो,’ उनी भन्छन् ।
महिलालाई आम्दानीमा पहुँच बढाए मात्र समस्याको हल हुने उनी बताउँछन् । ‘यसको मतलब बुढेसकालमा उनीहरूलाई जागिर खान जानु भनेको होइन,’ उनी भन्छन्, ‘उनीहरूलाई सरकारले आर्थिक सुरक्षाको व्यवस्था गर्नुपर्छ । युवा उमेरका महिलाको पहुँचमा शिक्षा, स्वास्थ, सेवा र जागिर आदि हुनुपर्छ । धेरै सन्तान जन्माउँदा उनीहरू आम्दानीको स्रोतसम्म पुग्न कठिन हुने भएकाले कम सन्तान जन्माउन प्रेरित गर्नुपर्छ । अहिले यति गर्न सके २०–३० वर्षपछि पक्कै यसको असर देखिन थाल्छ ।’
०००
देशमा महिलाको जनसंख्या बढी छ । अनि महिला घरमा त बढी छन् नै । घरबाहिर भने महिलाको उपस्थिति क्रमशः बढ्दो छ तर पुरुष समान हुन सकेको छैन । ‘घरबाहिर’ भन्ने शब्द राजनीतिक शब्द हो, यसले शक्तिको प्रयोग र अभ्यास हुने स्थल बुझाउँछ । महिलालाई उमेरमा घरबाहिरका लागि प्रोत्साहित नगर्ने पुरुषसत्ताले बढ्दो उमेरमा भने वृद्धाश्रम पठाउँछ ।
डा. मीना उप्रेती, समाजशास्त्री
- पुरुषहरूको आर्थिक अवस्था महिलाको भन्दा बलियो हुन्छ । पुरुषले आफ्नो घर, परिवार, आफन्त, छरछिमेक र समाजमा आफ्नो अस्तित्व र शक्ति देखाउन सक्छ । यो शक्ति र अस्तित्व बुढेसकालसम्म रहिरहन्छ । तर, महिलाको आर्थिक र सामाजिक हैसियत कमजोर भएकाले उनीहरू आफ्नो बलमा केही गर्न र भन्न सक्दैनन् । जसकारण उनीहरूले बुढेसकालमा हेपिएको, एक्लो भएको महसुस गर्छन् । परिवारले माया नगरेपछि उनीहरू वृद्धाश्रम जान बाध्य हुन्छन् ।
- महिलाको जिन्दगी लामो समय परिवार, श्रीमान् आफन्त र घरायसी काममा बित्छ । उनीहरू बाहिरी संसारबाट टाढा हुन्छन् । आफ्नो श्रीमान् छोराछोरी, बुहारी, नातिनातिना र आफन्तका लागि उनीहरूले ठूलो त्याग, माया, ममता, संघर्ष र बलिदान गरेका हुन्छन् । आफ्नो जीवन र जवानी उनीहरूलाई समर्पित गरेका हुन्छन् । जब बुढेसकाल लाग्छ, उनीहरू परिवार र आफन्तबाट माया, ममता र भरोसाको आश गर्छन् । त्यो नपाउँदा उनीहरू पुरुषको तुलनामा पीडित महसुस गर्छन् । यस्तो अवस्थामा कोही आफ्नै खुसी, कोही बाध्यताले वृद्धाश्रमसम्म पुग्छन् ।
- धेरैजसो महिलाहरू श्रीमान्को मृत्युपछि वृद्धाश्रमको शरणमा पुग्छन् । त्यसैगरी कोही विवाह नगरी बसेका एकल महिला त कोही बेसहारा महिलाहरू पनि जीवनको अधिकतम समय वृद्धाश्रममा बिताउन पुग्छन् । हाम्रो सामाजिक संरचनामा पुरुषहरू एक्लो हुँदैनन् । श्रीमतीको मृत्युपछि पनि बुढेसकालसम्म उनीहरू फेरि विवाह गरेर घरमै बस्न सक्छन् । अर्थात्, पुरुषहरूलाई एक्लो जीवन बिताउनु पर्दैछ । हाम्रो नेपाली समाजमा पुरुष एक्लो हुनु हुँदैन । समाजले एक्लो पुरुष देख्न सक्दैन । ऊ जतिसुकै बुढो भए पनि विवाह गर्न सक्छ । तर, महिलाको एक्लोपनलाई समाजले स्वाभाविक ठान्छ । परिवार र समाजले साथ नदिएपछि महिलाको विकल्प वृद्धाश्रम हुन जान्छ ।
- महिलाले आफ्नो जिन्दगी परिवार र आफन्तको खुसीका लागि बलिदानी दिएका हुन्छन् । त्यसको बदलामा बुढेसकालमा स्याहार नपाउँदा उनीहरूले हेपिएको, एक्लो भएको महसुस गर्छन् र चित्त दुखाउँदै वृद्धाश्रमतिर पुग्छन् वा पुर्याइन्छन् ।
- श्रीमान्बाट हेला भएका, श्रीमान्ले अर्को विवाह गरेका, परिवारबाट माया नपाएका, आफन्तबाट हेला भएका धेरै महिलाहरू वृद्धाश्रमको शरणमा पुग्छन् । त्यहाँ उनीहरूले आफूलाई जस्तै धेरैलाई देख्छन् । त्यहाँ पुगेपछि यो संसार यस्तै रहेछ भनेर चित्त बुझाउँछन् । एक अर्काको दुःखलाई शान्त पार्ने कोसिस गर्छन् । उनीहरू आफू जस्ता महिलाहरूलाई वृद्धाश्रम आउन सल्लाह दिन्छन् र महिलाको संख्या दिन प्रतिदिन बढ्दै जान्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया