गैरीगाउँको प्यास मेटाउने 'पानी पधेरो'
जहाँ सिक्का हाल्नेवित्तिकै २० लिटर पानी झर्छ
काठमाडौँ- खाली जारका लाम । वरिपरि पानी भर्ने पालो कुरेर बसेका मान्छे । काठमाडौँ महानगरपालिका-९ स्थित 'पानी पँधेरो'मा अचेल सधैँ यस्तै दृष्य देखिन्छ। साँझ पर्नेवित्तिकै गैरीगाउँको पँधेरोमा स्थानीय जार लिएर पुग्छन् । काकाकुल काठमाडौँलाई पानी पधेरोले राहत प्रदान गरेको छ ।
मंगलबार छेउमा उभिएका एक पुरुषले 'सिक्का' हाले । सिक्का हाल्नेवित्तिकै धाराबाट कलकल पानी आयो ।
छेउमै जार राखेर श्याम कार्की उभिएका थिए । पधेरोमा उनी नियमित पानी लिन आउँछन् । धारामा पानी थाप्नु उनको दैनिकीजस्तै बनेको छ ।
घरको धारामा सातामा एक पटक मात्र खानेपानी आउँछ । नवनिर्मित धाराबाट निःशुल्क पानी थाप्न पाउँदा उनी मख्ख छन् । साँझ हुनासाथ जार थाप्न आउने गरेको उनले बताए ।
'निःशुल्क पानी प्रयोग गर्न पाइएको छ । वातावरण सफा छ' उनी भन्छन्,' एक सातादेखि हामीले धाराबाट निःशुल्क पानी लैजान पाइरहेका छौँ । सिक्का हाल्नसाथ एक जार पानी पाइन्छ ।' घरको धारामा भन्दा पनि पँधेरोको धारमा शुद्ध पानी पाइने उनी बताउँछन् । तर, धारामा बेलेका मात्रै पानी आउँछ । 'बिहान पनि पानी आइदिए हुन्थ्यो,' उनी भन्छन् ।
गाउँको सम्झना
उपत्यकामा खानेपानीको अभाव छ । केही महिनाअघि मेलम्चीको पानी आए पनि अहिले बन्द छ ।
पर्याप्त खानेपानी नहुँदा अधिकांश घर-घरका धारा बन्द छन् । खानेपानी नहुँदा मानिसहरू जारको पानी किनेर पिउन बाध्य छन् । काठमाडौँमा खरिद गरिएका पानी शुद्ध पाइँदैनन् । विभिन्न स्थानमा केही समयअघि जारको पानीमा हैजाको किटाणु फेला परेको थियो । पानीको हाहाकार भइरहँदा टोलमा व्यवस्थित तथा धाराबाट शुद्ध खानेपानी पाउँदा स्थनीय हर्षित छन् ।
धारामा भेटिएकी स्थानीय अर्की दिलमाया तामाङ्ग सफा वातावरणमा शुद्ध पानी पाइने भएकाले दैनिक धारामा पुग्न थालेको बताउँछिन् । उनले पँधेरोको नामले गाउँमा पानी लिन गएको सम्झना आउने भएकाले धारामा पानी थाप्न आएको बताइन् ।
गाउँमा पानी थाप्ने ठाउँलाई पँधेरो भन्ने गरेको स्मरण गर्दै उनले सुनाइन् । उनका अनुसार पँधेरोको ठाउँ ठूला-ठूला कंक्रिटको पानी टंयाकी लिएको छ । पाइपद्वारा घर-घरमा खानेपानी पुगेको छ ।' काठमाडौँमा भएको धारामासमेत कयौ हप्तासम्म पानी आउदैन,' उनी भन्छिन् ।
पँधेरो नाम देख्दा विगत ताजा भएर आएको उनले बताइन् । किनेको पानी शुद्ध नभएकाले धारामा धाउने गरेको उनको भनाइ छ । 'गाउँघरमा पाइने पानी जस्तै शुद्ध र चिसो छ,' उनले भनिन् ।
१० रुपैयाँमा २० लिटर पानी
महानगरभित्र धेरैले टयांकरका पानी प्रयोग गर्छन् । टयांकरबाट ल्याइएको पानी शुद्ध हुन्छ/हुन्न त्यो पनि थाहा हुन्न । टयांकरको पानी प्रयोग गरिरहेका वडा ९ बासीलाई सफा र शुद्ध खानेपानीको व्यवस्था शक्ति विनायक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले गरेको हो ।
पानी पँधेरो जेठको दोस्रो सातादेखि सुरु भएको थियो । करिब डेढ महिना निर्माण सम्पन्न भएको समितिका अध्यक्ष विकाश गौतमले जानकारी दिए । उनका अनुसार बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको पहलमा खानेपानी डिभिजन कार्यालय पाँच भक्तपुरमार्फत टंयाकीसहितको धारा निर्माण भएको हो । करिब ३५ लाख लागतमा बनेको हो । स्थानीयले कुल लागतको १० प्रतिशत श्रमदान गरेका हुन् ।
महानगरभित्र हालसम्म २ वडा पँधेरो निर्माण गरेको छ । ३२ वटामा ४ निर्माण भइसकेको छ । ९ मा एउटा बनिसकेको र ३ वटा बन्न बाँकी रहेको छ ।
'पँधेरोको पानी साउन १ गतेबाट परीक्षण सुरु गरिएको हो,' समितिका अध्यक्ष गौतमले भने,' दुई सातासम्म सबैलाई निःशुल्क पानी प्रयोग गर्न दिइन्छ । प्रत्येक दिन साँझ एक घण्टा पानी प्रयोग गर्न दिएको छ ।'
समितिले बिहान र बेलुकाको समय गरेर जम्मा चार घण्टा पानी वितरण गर्ने योजना बनाएको छ । चार घण्टामा २ हजार लिटर पानी उत्पादन हुन्छ । बिहान २ घण्टा ७ देखि ९ र बेलुका ५ देखि ७ बजेसम्म पानी वितरण हुनेछ । एक जार पानीको मूल्य १० रुपैयाँ तोकिएको उनले जानकारी दिए ।
पिउन योग्य पानी
सिक्का हालेपछि धाराबाट पानी झर्ने व्यवस्था गरिएको गौतम सुनाउँछन् । एउटा धाराबाट २० लिटर पानी झर्ने उनले जानकारी दिए । एउटा सिक्काको १० रुपैयाँ पर्ने उनले प्रस्ट पारे ।
पँधेरोमा चार वटा धारा छन् । जार भरेर पानी लैजाने ग्राहकलाई शुल्क लिए पनि पँधेरोमा पिउनेलाई शुल्क नलिने उनले जानकारी दिए । पिउनका लागि धाराबाट एक लिटर पानी झर्छ । पानीलाई ल्याबमा परीक्षण गरिएको उनले बताए । पिउन योग्य पानीको स्वीकृति पाइसकेको छ ।
'जमिन मुनिबाट बोरिङ गरेर पानी निकालिएको छ,' पँधेरोको प्राविधिक पक्षको जानकारी दिँदै उनी सुनाउँछन्,' भित्र २ वटा सिलिण्डर छ । टंयाकीको क्षमता २ हजार लिटर छ । पानीमा भएको फलाम हटाउँछ । 'र' टयांकीले पानी संकलन गर्छ । आर ओ, युभी र ओजनबाट फिल्ट्रेसन गरी केमिकल डोजिङ गरिन्छ । खान योग्य बनाउन सय-सय लिटर टयांकीमा डोजिङ गरिन्छ ।'
अन्तर्राष्ट्रिय गुणस्तरको पिउने पानी
समितिले अत्याधुनिक मेसिनबाट पानी उत्खनन् गरेको छ । अन्तर्राष्ट्रिय गुणस्तरको पिउने पानी रहेको गौतम दाबी गर्छन् ।
सिक्काको बदलामा रिचार्ज कार्डबाट पानी पाउन सक्ने व्यवस्था मिलाइने उनले बताए । 'मेसिनको माध्यमबाट रिचार्ज हुन्छ । समितिको कर्मचारीसँग मास्टर कार्ड हुन्छ,' उनले कार्डको बारेमा थप्दै भने,' उपभोक्तासँग कार्ड हुन्छ । उनीहरूले पानी लिन आएको समयमा रिचार्ज गरेर पानी पाउन सक्छन् । पाँच पटक रिचार्ज गरेमा ५० पटकसम्म पानी पाउन सक्छन् । उपभोक्ताले क्वीन लिने झन्झटबाट मुक्ति पाउँछन् ।'
दैनिक सय जना पँधेरोमा आउने गरेको उनले जानकारी दिए । 'उपभोक्तालाई धारामा नुहाउन प्रतिबन्ध लगाइएको छ,' उनी भन्छन् । आगामी १४ गते पँधेरोको उद्घाटन गरिने गौतमको भनाइ छ । उद्घाटन भएपछि सबैलाई शुल्क लाग्ने उनले प्रस्ट पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया