समाज

३२ वर्षदेखि अरुको जुत्ता सिलाउने सत्य : जसले आफ्‍नै फाटेको मन सिलाउन सकेनन्

अतिन आचार्य |
साउन १४, २०७९ शनिबार १३:५७ बजे

काठमाडौँ- त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज सडक खण्डमा एम्बुलेन्स ओहोरदोहोर गरिरहेका छन् । एम्बुलेन्सका आवाज, हात-हातमा औषधिका बिल बोकेर मानिस यताउता गर्दैछन् । बिरामी र आफन्तले टयाक्सी खोजिरहेको देखिन्छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको छेउमा बसेर यी सबै दृश्य देखिरहेका सत्य मोची कान्ति बाल अस्पताल अगाडिको सडक किनारमा छन् । उनी खास मानिस हुन कि होइनन् त्यो उनलाई मात्र थाहा छ । आफ्नो सामाजिक परिचय पनि बनाएका छैनन् । बनाएका छन त उनले आफ्नै कर्मको परिचय ।


उनी आफैँमा खास हुन् । आफ्नो लागि खास बनेर तीन दशकदेखि सडक किनारमा बसिरहेका छन् । सडक खण्डको किनारामा बसेर जुत्ता-चप्पल बनाउन थालेको ३२ वर्ष पुगिसकेको छ । हिजोआज उनी किनारामा बस्दैनन् । उनी बस्ने ठाउँमा पैदल यात्रीका गोडा चल्छन् । 

'हिलिङ काठमाडौँ'को सहयोगमा निर्मित सडकको बायाँ भागमा बनाइएको बुथमा मोची बस्छन् । बुथमा बस्न थालेपछि उनलाई सहज भएको छ । घाम र पानीले उनलाई खेदेको छैन । बसेको ठाउँबाट पनि उठ्नुपर्दैन उनले ।

उनी बुथमा बसेर पैदल यात्रीको जुत्ता चप्पल सिलाउँछन् । बसेको ठाउँ फेरियो । उनी पनि फेरिए । उनले देखिने धेरैथोक फेरिए र नदेखिएका पनि फेरिए ।  फाटेको जुत्तामा विभिन्न रंगका धागो छिराउँछन् । जुत्ता सिलाएको आम्दानीले व्यवहार टाल्छन् ।

ग्राहकको जुत्तामा पोलिस पनि लगाउँछन् । विद्यार्थी, शिक्षक, चिकित्सकदेखि सबै पेशाका मानिसको जुत्ता टल्काएको अनुभव उनीसँग छ । ग्राहकका कालो र कलेजी रंगको पोलिसले जुत्ता टल्काए । उनी भने सडकमा बसी पानी र घामको सही रहे ।   

किनारामा यत्रतत्र फैलने जुत्ता क्याबिनको एक कुनामा थन्किएका छन् । जुत्ता थन्किए पनि उनको हात रोकिएका छैनन् । 

बुथमा बस्न थालेपछि घाम र पानीको पीडा खेप्नु नपरेको उनले बताए । 'पानी परेपछि सडक छोडेर जानुपर्थ्यो । चर्को घाम लाग्दा छाताको सहारा लिन्थे,' उनले इकागजसँग भने,' ठूलो पानी पर्दा आरामले काम गर्न पाइरहेको छु । क्याबिनबाट यात्रीको जुत्ता चप्पल सिलाइरहेको छु ।'

३२ वर्षसम्म अस्पतालमा जाने ,आउने र पैदल यात्रीको जुत्ता सिलाए तर, उनले आफ्नो फाटेको मन सिलाउन सकेनन् । घाम र पानीले किनारा छोडाए पनि उनले सडकलाई कहिले छाडेनन् ।

बाल्यकालमा मोचीले विद्यालय देखे । तर उनले  टेकेनन् । पुस्तक छोए तर औपचारिक शिक्षा भने लिएनन् । अहिले उनी जुत्ता सिलाएर दैनिक ७ देखि ८ सय  रुपैयाँ आम्दानी गर्छन् । उनले जुत्ता चप्पल सिलाएर आफू नपढे पनि सन्तानलाई पढाइ रहेका छन् ।

बसुन्धारा चौकीमा बस्ने सप्तरी सुरुङ्गा-७ का ५१ वर्षीय मोची अस्पताल छिर्ने सडकको बाँयापट्टिको बुथबिहानै ७ बजे पुगिसक्छन्। 'पैदल यात्रीको जुत्ताले बाँच्न सहयोग गरेको छ,' च्यातिएको ब्याग हेर्दै उनले भने ,' समय-समयमा महानगरका प्रहरीले खेदाउँथे । अहिले भने जुत्ता बोकेर भाग्नु परेको छैन ।'

उनले जुत्ता सिलाएको वा बनाएको शुल्क कति भएको क्षति छ त्यही अनुसार हेरेर लिने गरेका छन् । २० रुपैयाँदेखि माथि मेहनत अनुसार लिने गरेको उनले सुनाए । जुत्ताको 'सोल' लाई महँगो पर्ने उनको भनाइ छ ।

जोड इनिसिटिएभले ३५ हजार लगानी गरी बुथ निर्माण गरेको हो। महानगरको तीन वटाबाट बुथ निर्माणको काम सुरू गरेको छ । फुटपाथ अतिक्रमण रोक्न, पैदल यात्रुलाई सहज हुनेगरी संस्थाले बुथ निर्माण गरेको हो।

मोचीलाई इनिसिटिएभले सडकबाट बुथमा पुर्‍यायो । काठमाडौँ महानगर-३ मा केही समय अघि हिलिङ काठमाडौँको सहकार्यमा सडकमा बसेर गुजारा चलाइ रहेकालाई राहत प्रदान गर्न क्याबिन निर्माण गरेको हो ।  जसले गर्दा उनीहरूलाई जीवनयापनमा सहज भइरहेको छ । 

किनारामा बसेर व्यवसाय गरेका कारण पैदल यात्रुलाई असर गर्ने भएकाले क्याबिन बनाइदिएको सामाजिक अभियन्ता सौरभ तिवारीले बताए । किनारामा परेका मानिसलाई दैनिक गुजार्न सहज होस भनेर क्याबिन निर्माण गरेर वितरण गरेको उनको भनाइ छ ।

'महानगरभित्रका सडकमा बसी जीवनयापन गर्नेलाई सहज बनाउन यस्तो क्याबिन निर्माण गरेर थप वितरण गर्ने योजना छ ,' उनले भने,' पैदल यात्रीलाई सहज बनाउने  र सडकलाई  गरिखानेका लागि सहज बनाउन यस अभियानमा लागिरहन्छौँ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x