समाज

सन्तान नहुँदाको सन्ताप

'सन्तानका लागि बहुविवाह गर्छन् पुरुष, कमजोरी कसको ?'

सृजना खड्का |
चैत २७, २०७७ शुक्रबार १४:१० बजे

काठमाडाैँ : आमाले सन्तान जन्माउँछिन् । सन्तानले फेरि सन्तान जन्माउँछन् । सन्तान जन्माउनुअघि आमा जन्मिएकी हुँदिनन् । जब सन्तान जन्मिन्छ, सन्तानसँगै आमा पनि जन्मिन्छिन् । त्यसैले मानिसहरू डा. उमा श्रीवास्तवलाई ‘आमा जन्माउने आमा’ भन्छन् ।

स्त्री तथा प्रजनन रोग विशेषज्ञ डा. श्रीवास्तवकहाँ निराश भएका निःसन्तान महिलाहरू सन्तान जन्माउन होइन, आफू जन्मिन आउँछन् अर्थात् आमा बन्न आउँछन् । डा. श्रीवास्तव आफूले जन्माएका आमाहरूको अनुहार सम्झिँदै भन्छिन्, ‘सन्तान नजन्मिएसम्म आमा पनि जन्मिन्नन् । एउटी महिलाले सन्तान जन्माउँदा आफूलाई पनि जन्माएकी हुन्छिन् ।’


उनको काठमाडौँ, बिजुलीबजारस्थित निःसन्तान केन्द्रमा आउने हरेक दम्पतीसँग केही न केही कथा हुन्छ । सन्तान नहुँदाको पीडा र छटपटीले उनीहरूलाई त्यहाँसम्म डोर्‍याएर ल्याएको हुन्छ । यस्तो पीडा र छटपटीको कारक फेरि हाम्रै सामाजिक संरचना–सोच पनि बनिदिन्छ । 

केही यस्ता कथा छन् जुन डा. श्रीवास्तवको मन–मष्तिस्कमा अझै ताजा छन् । केही वर्षअघि एक दम्पतीलाई उनीकहाँ सन्तानको चाहनाले डोर्‍यायो । उनीहरू उपत्यका बाहिरबाट आएका थिए । पहिलो श्रीमतीबाट सन्तान नभएपछि दोस्रो श्रीमतीका साथ एक पुरुष उनलाई भेट्न आए । उपचारका लागि ५० हजार रुपैयाँ खर्च निस्कियो । ‘उपचार खर्च सुन्नेबित्तिकै ‘यति पैसामा त अर्को बिहे हुन्छ, हिँड्’ भनेर ती श्रीमतीको पाखुरा समात्दै हाम्रो कुरै नसुनी निस्किए,’ डा. श्रीवास्तवले सम्झिइन् । 

पहिलो श्रीमतीबाट बच्चा नभएर दोस्रो बिहे भएको भनेपछि डा. श्रीवास्तवलाई लागिसकेको थियो, कमजोरी पुरुषमै छ । तर, उपचारको सट्टा अर्को बिहे गर्छु भन्दै हिँडेका ती पुरुषलाई उनले रोक्न सकिनन् । यो घटना भएको केही समयपछि एक महिला निःसन्तान केन्द्र आइन्, डा. श्रीवास्तवलाई भेट्न । उनको एउटै भनाइ थियो— मलाई जसरी भए पनि आमा बनाइदिनुस् । 

काउन्सिलिङका क्रममा डा. श्रीवास्तवलाई उनका श्रीमान्को नाम कता–कता सुने जस्तो लाग्यो । उनले पुरानो रेकर्ड पल्टाएर हेरिन् । ती पुरुष, जसले पचास हजारमा अर्को बिहे गर्छु भनेर हिँडेका थिए, उनी उसैकी तेस्रो श्रीमती रहिछिन् । यो थाहा पाएपछि डा. श्रीवास्तवलाई छाँगाबाट खसे जस्तो भयो । ‘ती पुरुषकी दोस्रो श्रीमतीले आत्महत्या गरिछिन्,’ उनले भनिन्, ‘पहिलो श्रीमतीले उनलाई छाडेर गइछिन् । तेस्रो मेरो अगाडि रोइरहेकी थिइन् ।’

लगभग तीन दशक भयो, डा. श्रीवास्तवले निःसन्तान दम्पतीलाई सेवा दिन थालेको । यो तीन दशकमा यस्ता हजारौँ कथाको प्रत्यक्षदर्शी बनेकी छिन्, उनी । ‘बाँझोपना’का कारण नेपाली महिलाले भोग्ने भोगाइ उनलाई राम्रोसँग थाहा छ । यस्ता महिलाको पीडा र वेदनालाई उनले नजिकबाट नियालेकी छिन् । ‘आफ्नै परिवारका सदस्यले उनीहरूलाई नानाथरी लान्छना लगाउँछन्,’ उनले भनिन्, ‘शुभकार्यमा उनीहरूको आगमनलाई अशुभ मानिन्छ । चाहे कमजोरी पुरुषमै किन नहोस् ।’ 

त्यस्तै, निःसन्तान दम्पतीको जीवनमा सन्तानको आगमनले ल्याउने खुसी उनी शब्दमा वर्णन गर्न सक्दिनन् । निःसन्तान केन्द्रबाट ६ हजार हाराहारी बच्चाहरू जन्मिसके । तीमध्ये प्रत्येक दिनजसो कोही न कोही बच्चा उनलाई भेट्न निःसन्तान केन्द्र आइरहन्छन् । कसैका भने आमाले नै उनीहरूलाई भेटाउन लिएर आउँछन् । विदेशमा भएका आमाहरूले आफ्नो बच्चाको फोटो खिचेर सामाजिक सञ्जालमा उनलाई पठाउँछन् । डा. श्रीवास्तवका आफ्नै दुई सन्तान छन् । तर, उनलाई निःसन्तान केन्द्र आफ्नै घर र त्यहाँ जन्मिएका बच्चा पनि आफ्नै सन्तानसरह लाग्छ । ‘तिम्रो त घरै निःसन्तान केन्द्र हो नि हैन भनेर धेरैले जिस्काउँछन्,’ उनले सुनाइन्, ‘यही ठाउँले मलाई आफ्नो परिचय दिएको हुनाले यो ठाउँ साँच्चै मेरो घरभन्दा प्यारो छ ।’ 

बच्चाहरू उनीसँग चाँडै घुलमिल हुन्छन् । उनीसँग आएपछि बच्चाले आमा बिर्सिन्छन् । ‘पहिलादेखि नै पेट छुँदा–छुँदा उनीहरूले मलाई चिनिसक्छन्, सुनिसक्छन्, अनुभव गरिसक्छन् जस्तो लाग्छ,’ उनले अड्कल काटिन् । मेडिकल पढ्दा शिक्षक भन्थे— तिमी बच्चाको डाक्टर कहिल्यै नबन्नू । ‘मलाई बच्चा मन पर्ने भएकाले बच्चाको वार्डमा छिरेपछि निस्किनै मन लाग्दैनथ्यो,’ उनले भनिन्, ‘बच्चालाई माया गर्ने भएकाले उनीहरू बिरामी हुँदा दुःखी होली भनेर एकजना शिक्षकले जहिल्यै ‘तिमी अरु जे को डाक्टर बने नि बन तर, बच्चाको चाहिँ नबन’ भन्नुहुन्थ्यो ।’

तर, अहिले उनलाई बच्चाको डाक्टर बन्न पाएकामा कुनै पश्चात्ताप छैन बरु गौरव छ । कुनै दम्पतीको प्रग्नेन्सी रिपोर्ट पोजेटिभ आउँदा निःसन्तान केन्द्रमा कुनै चाडपर्व आएजस्तै खुसीयाली छाउँछ । त्यो खुसीलाई डा. श्रीवास्तव अरु केहीसँग तुलना गर्न सक्दिनन् । जन्मिएपछि ती बच्चालाई काखमा राख्दाको आनन्द त झन् उनलाई अमूल्य लाग्छ । यही आनन्दले उनलाई अर्को तिर्खा लगाइरहन्छ । त्यो तिर्खा अरु केही नभई आमा जन्माउने तिर्खा हो । ‘जतिजना उपचारमा आउँछन् उनीहरू सबैको राम्रो होस् भन्ने लाग्छ,’ उनले भनिन्, ‘सबैलाई आमा बनाउन पाइयोस् भन्ने तिर्खा लागिरहन्छ । बाँझोेपनाकै कारणले समाजमा महिलाहरूले विभेद भोग्न नपरोस् भन्ने लाग्छ ।’ 

बाँझोपनाको विषयमा अहिले केही परिवर्तन आएको उनले अनुभव गरेकी छिन् । ‘पहिला बाँझोपनको दोष महिलालाई मात्र दिइन्थ्यो,’ उनले भनिन्, ‘मैले क्लिनिक सुरु गर्दा पुरुषहरू उपचारमा आउँदै आउँदैनथे । आए पनि रातिको समयमा लुकेर आउँथे । कोही नभएको बेला छुट्टै समय लिएर भेट्न आउँथे ।’ अहिले भने उनीकहाँ उपचारका लागि पुरुषहरू पनि उत्तिनै आउँछन् ।

डा.श्रीवास्तवकहाँ उपचारमा आउने सबै आमा बन्छन् भन्ने हुँदैन । केहीमा धेरै किसिमका जटिल समस्या पनि हुन्छन् । आमा नबनेकै कारण समाजमा महिलामाथि हुने छुवाछूतपूर्ण व्यवहारको उनी घोर विरोधी हुन् । ‘कतिपय अवस्थामा आमा नबन्नू महिलाको दोष होइन,’ उनले भनिन्, ‘सबै महिला आफ्नो कारणले मात्रै निःसन्तान भएका हुँदैनन् । त्यस्तै, कोही महिला सन्तान जन्माउनै नचाहने पनि हुन्छन्, त्यो उनीहरूको दोष होइन, च्वाइस हो ।’

०००

डा. श्रीवास्तव नेपालमा बीएस्सी सकेर मेडिकल पढ्न रुस गइन् । ‘रक्सौलसम्म नपुगेको मान्छे एकैचोटि पढ्न रसिया पुग्नुपरेको थियो,’ उनले सुनाइन्, ‘त्यहाँ धेरै कुरा सिकेँ । त्यहाँ सिकेको कुरा मलाई जहिल्यै नेपालमा गएर कसरी प्रयोग गर्ने होला भन्ने छटपटी भइरहन्थ्यो ।’ उनी बिदामा नेपाल आएको बेला प्रसूती गृहमा गर्थिन् । पढाइ सकेर आएपछि उनले टिचिङ अस्पतालको गाइनो डिपार्टमेन्टमा समेत काम गरिन् ।

हर्मोनसम्बन्धी अध्ययन गर्न उनी फेरि लन्डन गइन् । त्यस समय उनी एक वर्षीय सन्तानकी आमा थिइन् । श्रीमान्को दरिलो साथले उनको यात्रा रोकिएन । हर्मोनसम्बन्धी दुई वर्षे कोर्स उनले पूरा गरिन् । विदेशमा हर्मोन पढेर नेपालमा काम गर्न पाउने अवस्था थिएन । धेरैले उनलाई विदेशमै बसेर काम गर्ने सल्लाह दिएका थिए । तर, उनलाई जुनसुकै हालतमा नेपालमा ‘हर्मोन टेस्टिङ’ भित्र्याउनु थियो । ‘नेपालमा हर्मोन टेस्टिङ थिएन,’ उनले भनिन्, ‘उताबाट फर्किएर आएपछि हर्मोनमा रिसर्च गर्छुभन्दा धेरैले बुझेनन् । डब्लूएचओका लागि स्वीडेनबाट आएका एकजना प्रोफेसरले मैले हर्मोनमा काम गर्ने इच्छा देखाएको थाहा पाएछन् र, उनैले मलाई सहयोग गरे ।’ 

सन् १९९२ मा उनले पुतलीसडकमा एउटा क्लिनिक खोलिन् । जसको नाम राखिन्, रिप्रडक्टिभ हेल्थ केयर । धेरैले रिप्रडक्टिभ हेल्थ भनेको के हो नै बुझेनन् त्यसको एक वर्षपछि उनले त्यसैलाई निःसन्तान केन्द्र भनेर नामकरण गरिन् । हर्मोन टेस्टिङ भित्र्याइन् र निःसन्तान दम्पतीको स्वास्थ्यमा काम गर्न थालिन् । 

पछिल्लो समय महिलामा धेरै हर्मोनल समस्या देखिएकाले उनी चिन्तित छिन् । विशेषगरी स्कुले छात्राहरूमा वातावरण र खानपानले गर्दा अनियमित महिनावारी हुने गरेको उनले बताइन् । ‘हर्मोनको समस्याले महिलाहरूमा ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ हुन्छ,’ उनले भनिन्, ‘स्कुले उमेरदेखि नै उनीरूलाई यसबारे जानकारी दिन सक्यौँ भने भोलि बाँझोपनाको समस्या लिएर हाम्रो क्लिनिकमा धाइरहन पर्दैन । यस्तो कुरामा किशोरीहरूलाई सचेत रहन मेरो आग्रह छ ।’ 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x