समाज

३४ वर्षपछि कोसी पुरानै लयमा फर्कँदा उदयपुरको बेलकाका १० हजार घरधुरी जोखिममा (भिडिओसहित)

बाबुराम भण्डारी |
साउन १८, २०७९ बुधबार ७:४६ बजे

तस्बिर सौजन्य : भरत घिमिरे

विराटनगर - वर्षाले सप्तकोसी नदी बेलका नगरपालिका–८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको छ । बुधबार बिहान करिब चार बजेतिर पश्चिमतर्फको डिल कटान गर्दै कोसी बस्तीतर्फ पस्दा बेलकाको पाँचवटा वडा डुबानको उच्च जोखिममा परेका छन् ।

कोसी पसेपछि त्यो क्षेत्र अहिले जलमग्न भएको छ । सप्तकोसीको मुल प्रवाह नै तटबन्धनतिर ठोक्किएर बग्दा मंगलबार दिनभरी बाँध कटान गरेको थियो । नगरपालिकाको पहलमा बाँधमा रोकथाम गर्ने प्रयास गरिए पनि सफल नभएको र बिहान करिब पौने ४ बजेतिर नदी बस्तीतर्फ प्रवेश गरेको बेलकाका मेयर अशोक कार्कीले जानकारी दिए ।


कोसीको बाढी वडा नं. ८ हुँदै ३, ९ र २ नम्बर वडाका बस्तीहरू डुबाउने जोखिम रहेको मेयर कार्कीले बताए । राति कोसी फुटेपछि स्थानीयले घर छाड्न थालेका छन् । कोसीमा पानीको सतह नघटे बेलकाको वडा नं. ८ डुम्रीबोटस्थित कोसीको बाँध भत्किने भन्दै गाउँलेहरूले मंगलबार दिनभर घरका अन्नपात सुरक्षित ठाउँमा सारेका थिए ।

नेपाल प्रहरीको टोली कटान भइरहेको स्थान नजिकै रातभरी टेन्ट लगाएर निगरानीमा बसेको थियो । नगरपालिकाले अहिले बढी जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्नका लागि ट्याक्टरको व्यवस्था गरिरहेको मेयर कार्कीले बताए । कोसीको पश्चिमी बाँध फुटेपछि वडा नम्बर ८ को सिसौली, वडा नं. ९ को धौरी, ३ को दुर्गामन्दीर, भाटेपुल, एविसी टप्पु, गुणीटोल, जगना र वडा नं. २ को लालभित्ती, बानडाँडा, चन्द्रपुर र वडा नं. १ को पुरन्दह, करैया, बेलहा डुबानमा पर्ने जोखिम बढेको छ ।

वडा नं. ३ दुर्गामन्दिरका गणेश पौडेलले कोसी फुटेर बस्तीतर्फ पसेको जानकारी दिए । ‘हामी धेरै जोखिममा छौं, मंगलबार दिनभरी कटान रोक्नका लागि बाँधमा माटो हाल्ने काम भएको थियो, तर त्यसले कटान रोकिएन, तल्लो तटीय क्षेत्रमा धेरै धनजनको क्षति हुनसक्छ’ उनले भने ।

कोसी फुटेपछि वडा नम्बर ३ को एविसी टप्पुका करिब एकसय घर प्रत्यक्ष जोखिममा परेको जनाइएको छ । कोसी फुटेर आएको पानी एबिसी टप्पुको दुवैतिरबाट बग्ने र कटान हुने जोखिम रहेको पौडेलले जानकारी दिए ।

अहिले कोसी फुटेको स्थानबाटै २०४५ सालसम्म कोसी नदी नै बगेको स्थानीयले बताएका छन् । पछि कोसी नदी पूर्वतर्फ धकेलिएका कारण पश्चिमी क्षेत्रमा बालुवा गिटी थुप्रिएर केही अग्लो डिल बनेको थियो ।

तर अहिले पुनः कोसी पश्चिमतर्फ नै फर्किएका कारण बेलकामा मात्रै १० हजार घरधुरी डुबानको जोखिममा रहेको मेयर कार्कीले बताए ।

शीर्षक परिवर्तन *


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x