बस्तीमा कोसी पसेपछि घर छाड्दै बेलकावासी
विराटनगर - बुधबार बिहान करिब ४ बजे पश्चिमतर्फको नदी उकास डिलमा लगाइएको तटबन्ध भत्काउँदै सप्तकोसी नदी बेलका नगरपालिका-८ हुँदै प्रवेश गरेपछि स्थानीयले गाउँ छाडेका छन् । डुबान र कटानको जोखिम बढेपछि उनीहरू बोक्न मिल्ने अन्नपात, लत्ता कपडा र पशु चौपाया लिएर सुरक्षित स्थानको खोजीमा हिँडेका हुन् ।
प्रभावित क्षेत्रका बासिन्दालाई बेलका नगरपालिकाले ट्याक्टरमा राखेर सुरक्षित स्थानमा लैजाने प्रयास गरिरहे पनि तटीय क्षेत्रका धेरै बासिन्दाहरू आफैं सुरक्षित स्थान खोज्दै घरबाट निस्किएका छन् ।
बेलका नगरपालिका–८ डुम्रिबोटे भन्दा करिब दुई किलोमिटर तल बग्दै आएको सप्तकोसी नदीले नदी उकास डिलमा लगाएको तटबन्ध भत्काएर २०४५ सालतिर बग्दै आएको पुरानो बाटो लिएको छ । करिब एकसय मिटर जति डिल भत्किसकेकोले सप्तकोसी नदीको करीव ४० प्रतिशत पानी बस्तीतर्फ पसेको जनाइएको छ ।
डुम्रिबोटेबाट दुईतिर बग्दै आएको सप्तकोसी नदीको पश्चिमी किनारमा नदी उकास डिल थियो । गत वर्ष पनि त्यहाँ स्काभेटरको सहयोगले बाँध लगाइएको थियो । यही असारमा बेलका नगरपालिकाले एक सय थान तारजाली हालेर बाँध बनाउने प्रयास गरे पनि सप्तकोसीको बाढीले कटान गर्दा सवै तार जाली बगाएर लगेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए ।
तटीय क्षेत्रमा पानीको बहाव बढ्दै गएको जनाइएको छ । बहाव बढ्न थालेपछि बेलका नगरपालिका–१ र २ स्थित तल्लो तटीय क्षेत्रका बासिन्दाले धमाधम घर छाडिरहेको जनाइएको छ । सप्तकोसीको पुरानो बहाव क्षेत्रमा अहिले पानीको सतह बढ्दै गएको छ । बेलका–३ भाटेपुलमा पानीको सतह बढेपछि स्थानीयले डुंगाबाट मानिसहरूलाई उद्दार गरिरहेका छन् । प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ ।
वडा नम्बर ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले जगना, एविसी टप्पु, जुलेफी, सिर्जना टोल, एकता टोल, दुर्गामन्दिर र जाल्पादेवी टोल पूर्णरूपमा डुबानमा पर्ने जानकारी दिए । अहिले ती टोलमा डुंगा र रबर बोटको मद्दतले मानिसहरूलाई सुरक्षित स्थानततर्फ लैजाने काम भइरहेको उनले बताए ।
‘कोसी पस्न सक्ने कुरामा पहिलेदेखि नै सचेत थियौँ, त्यही भएर केही समयदेखि नै स्थानीयवासीलाई सुरक्षित स्थान खोज्न भनिरहेका थियौं’ वडाध्यक्ष आचार्यले भने, ‘केही त हिजो अस्तिदेखि नै घरबाट निस्किरहनु भएको थियो, अहिले कोसीको पानीले बाटोहरू डुबाउँदैछ, सिडियोलगायतका सुरक्षा टोली प्रभावित क्षेत्रमा आइपुगेको छ, डुंगा र रबर बोटबाट उद्दार भइरहेको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया