स्थलगत
कोसीले पुरानै लय समातेकोमा अचम्मित छैनन् बेलकाबासी
बेलका (उदयपुर) - बेलका नगरपालिका–९ नयाँ टोलका ६६ वर्षीय गणेश बहादुर कार्की कोसीले पुरानै लय समातेकोमा खासै अचम्मित छैनन् । उनले २०४५ सालसम्म अहिले कोसी आइपुगेकै ठाउँमा डुंगा चढेर कयौं पटक पारि एबिसी टप्पुतिर गएको बिर्सिएका छैनन् ।
२०४५ साल भदौ ५ गते बिहान पौने ५ बजे भुँइचालो गयो । त्यसपछि भने कोसीले पश्चिमी धार छाडेर पूर्वतिर लागेको स्थानीयहरू बताउँछन् । कोसीले धार बदलेपछि नदी उकास क्षेत्रका बस्तीको विकास भयो, मान्छेहरूले अन्नबाली र बोटविरुवा लगाउन थाले । कोसीले छाडेको क्षेत्रमा घर बनाएर पशुपालनमा लागे ।
अहिले फेरि त्यही कोसीले पुरानै बाटो समात्यो । बुधबार बिहान चार बजे बेलका–८ डुम्रिबोटेबाट कोसी पुरानै बाटोतिर सोझियो । कोसी पसेपछि सबैभन्दा पहिलो प्रभावित वडा नम्बर ८ को खयरधारी र त्यसपछिको तल्लो तटीय वस्ती वडा नम्बर ३ को भाटेपुल, एबिसी टप्पु लगायत दर्जनौं गाउँ डुबानमा परिसकेका छन् ।
कोसी नै पसेपछि घरका पशु चौपाया दाम्लोमै छाडेर महिला र बालबालिकाहरूलाई सुरक्षित स्थानमा सारिंदैछ । केही पुरुषहरू मात्रै घर रुँगेर बसिरहेका छन् ।
२०४५ सालपछि तटीय क्षेत्रका घरबार गरेर बसेकाहरूलाई भने कोसी फर्किएला भन्नेतिर खासै ध्यान दिएनन् । डुम्रिबोटेमा पाँच वर्षयता कोसीले पुनः पश्चिमी धार समाइरहेको र झन्झन् नदी उकास डिल कटान गरिरहेपछि भने त्यस क्षेत्रमा स्थायी खालको तटबन्ध आवश्यक रहेको पहिचान गरिएको थियो ।
पालिकामा पुगेका जनप्रतिनिधि, राजनीतिक दल र सुरक्षा निकायले पटक–पटक स्थलगत अनुगमन गरी त्यहाँबाट कोसी फुट्न सक्नेतर्फ चनाखो बनेका थिए । तर त्यही स्थानबाट कोसी पहिल्यै बगिसकेको र तटीय क्षेत्रमा डुंगा चढेर कोसी तरेका अनुभवीहरूलाई भने अहिले कोसी पस्दा खासै नौलो घटना लागेको छैन ।
बरु गाउँबस्तीमा कोसी पसे पनि उनीहरू कोसीलाई श्रद्धापूर्वक लिन्छन् । ‘२०४५ सालसम्म त यही थिए कोसी, भुँइचालाले गर्दा उता गएका हुन्, हामीले आँखैले देखेको मात्रै होइन, पारि ओहोर–दोहार गर्न नाउमै कतिपटक तरेका छौँ’ गणेश बहादुर भन्छन्, ‘२०४५ सालमा बिहान भुँईचालो आयो, त्यसपछि मात्रै कोसी उता सरेको हो, अनि मात्रै मान्छेहरू यतातिर खेतिपाती गर्दै बस्न थालेका हुन् ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया