रमाकहानी
सानो कोठामा काठको कुर्सी । न स्टुडियो, न कम्प्युटर । हस्तलिखित समाचार सामग्री । तिनै सामग्री निर्धक्कसाथ वाचन गर्थिन्, रमा सिंह । नेपाल टेलिभिजनको पहिलो समाचारवाचक हुन्, उनी । जोसँग त्यसताकाका थुप्रै सम्झना जोडिएको छन् । जुन अझै पनि ताजै छन् ।
२०४२ पुस १४ गते राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा नेपाल टेलिभिजनले बेलुका ७ देखि ९ बजेसम्म नियमित प्रसारण सुरु गरेको थियो । पहिलो दिन समाचार, राजा वीरेन्द्रको जन्मोत्सवसम्बन्धी वृत्तचित्र, मुरलीधर र सुषमा श्रेष्ठको गायन कार्यक्रम ‘गीताञ्जली’ र उज्ज्वल घिमिरेको ‘यस्तै हुन्छ’ नामक टेलिफिल्म प्रसारण गरिएको थियो ।
त्यसताका सबै सामग्री पहिला रेकर्ड हुन्थ्यो अनि प्रसारण । दिनभरि रिपोर्टरले टिपेर ल्याएका समाचार रमा वाचन गर्थिन् । व्यक्तिपिच्छेका अक्षर फरक–फरक हुन्थे । तिनै अक्षर पनि सम्पादकले केरमेट गरिएका हुन्थे । सबै बुझेर गल्ती नगरी पढ्नुपथ्र्यो । ‘समाचार पढ्न एउटा काठको कुर्सी मात्रै थियो, टेबल थिएन,’ उनले सम्झिइन्, ‘रिपोर्टरले दिएका कागज काखमा राखेर पढ्थेँ । पढिसकेकोलाई भुइँमा फ्याक्दै अर्को पाना पढ्थेँ ।’
त्यसबेला भिडिओको चलन थिएन । समाचारमा तस्बिर र नक्साहरू भने बल्लतल्ल राख्न थालिएको थियो । काम गर्न निकै अप्ठ्यारो थियो । क्यामेरा नै १७–१८ किलोको हुन्थ्यो । क्यामेरासँग डेक पनि जोडिएको हुन्थ्यो । क्यामेरा र डेकलाई लगनगाँठो जस्तो केबुलले जोड्नुपथ्र्यो । ‘रिपोर्टिङमा जाँदा क्यामेराम्यानलाई क्यामेरा नै भारी हुन्थ्यो,’ उनले भनिन्, ‘उनीहरू डेक बोक्न सक्दैनथे । डेक बोकेर रिपोर्टर क्यामेराम्यानको पछिपछि दौडिनुपथ्र्यो ।’ त्योबेला रमा र उनका साथीहरू एकअर्कालाई रिपोर्टर होइन ‘पोर्टर’ भनेर बोलाउँथे । पोर्टर अर्थात् भरिया ।
पहिला खेलाडी, पछि सञ्चारकर्मी
रमा काठमाडौँमै जन्मिइन्, हुर्किइन् । उनका बुवा बिबी सिंह रेडियो नेपालमा ब्रोडकास्टर थिए । छोराजस्तै छोरीलाई पनि पढाउनुपर्छ भन्नेमा परिवार सचेत थियो । रमा र उनकी दिदीले दुईजना भाइलाई जस्तै गरिने व्यवहार पाए । छरछिमेकमा पनि उनीहरूका केटीभन्दा केटा साथी बढी थिए । उनीहरूसँगै रमा भलिबल, फुटबल खेल्थिन् । बिस्तारै त्यतैतिर उनको चासो बढ्न थाल्यो ।
त्योबेला रमा र उनका साथीहरू एकअर्कालाई रिपोर्टर होइन ‘पोर्टर’ भनेर बोलाउँथे । पोर्टर अर्थात् भरिया ।
२०३९ सालतिर पद्मकन्या क्याम्पस पढ्दा रमा भलिबल खेल्थिन् । फुटबलको पनि फ्यान थिइन् । एकताका फिफाले महिला खेलाडी नखेलाए रकम रोकिदिने भयो । त्यसपछि उनलाई फुटबल खेल्ने अवसर मिल्यो । उनी राष्ट्रिय महिला फुटबल टिमको कप्तानसमेत भइन् ।
छोरीले बाहिर गएर काम गर्नुहुँदैन भन्ने समाजमा फुटबल खेल्नु चानचुने कुरा थिएन । परिवारमा कुनै रोकटोक थिएन । तर, समाजले भने बाआमालाई सुनाइरहन्थ्यो । कुरा काटिरहन्थ्यो । प्रश्न गरिरहन्थ्यो । ‘बिहे गरेर पठाउनुपर्ने बेला छोरीलाई कहाँ हाफ कट्टु लगाएर फुटबल खेल्न पठाएको भनेर धेरैले भन्थे,’ रमाले सुनाइन्, ‘एकदुई जनालाई त म ‘अबदेखि सारी लगाएर खेलौँला नि त’ भनेर जवाफ पनि पठाउँथेँ ।’
त्यसताका रेडियो नेपालका निर्देशक भोग्यप्रसाद शाह थिए । प्रचण्डमान सिंह प्रधान समाचार प्रमुख थिए । उनीहरू दुवैजना रमाका बुवाका मिल्ने साथी थिए । बुवाको अफिस जाँदा एकदिन प्रचण्डमान सिंह प्रधानले समाचार पढ्न अफर गर्नुभयो,’ उनले भनिन् । त्यसपछि मिडियातिर रमाको झुकाव बढ्दै गयो । पछि नेपाल टेलिभिजन सुरु भयो । २०४१ सालको अन्तिमतिर उनी नेपाल टेलिभिजनमा भित्रिइन् । नेपाल टेलिभिजनमा भर्ती हुन त्यसबेलाका महाप्रबन्धक नीर शाहले उनलाई प्रोत्साहन गरेका थिए ।
टेलिभिजनमा काम गर्न थालेपछि उनलाई समय व्यवस्थापन गर्न गाह्रो भयो । खेलमा खासै भविष्य पनि देखिनन् । ‘खेलेर खाने वातावरण अहिले त छैन त्यो बेला झन् के हुन्थ्यो,’ उनले भनिन्, ‘त्यसैले खेल छोडेर सञ्चारकर्म रोजेँ ।’ तैपनि, खेलकुदले उनलाई धेरै कुरा सिकायो । अनुशासन के हो, सिकायो । मेहनती हुन सिकायो ।
रमा हक्की स्वभावकी थिइन् । महिलालाई समाजले घेरिदिएको कुनै घेरा उनले स्वीकार गरिनन् । मिडियामा काम गर्दा कुनै पनि काम उनले ‘जान्दिनँ’, ‘गर्दिनँ’, ‘सक्दिनँ’ भनिनन् । त्यही स्वभावले रमालाई नेपाल टेलिभिजनको पहिलो समाचारवाचक बनायो । ‘टिनेजको बेला नयाँ काम गर्ने उत्साह थियो,’ उनले भनिन्, ‘पहिलो समाचारवाचक हुन्छु भनेर काम गरेको थिइनँ । पछि नेपालमा पहिलोपल्ट कसले समाचारवाचन गर्यो भन्दा मेरो नाम आयो । काम गरेका बीस–तीस वर्षपछि मात्रै मलाई म पहिलो समाचारवाचक रहेछु भनेर थाहा भयो ।’
त्यसबेला रमा जस्ता थ्रुप्रै महिला सञ्चारकर्मी बन्ने हुटहुटी बोकेर टेलिभिजन आएका थिए । धेरैजसो बीचैमा हराए । जुझारु रमाको भने निरन्तर यसैमा लागिरहिन् । उनले आइपर्ने चुनौतीलाई स्वीकारिन् । मिडियामा त्यसबेला पनि नाम थियो, दाम थिएन । तैपनि, उनी बच्चा बोकेरै कहिले कार्यालय कहिले कार्यक्रमस्थल पुग्थिन् ।
अनि रमा अमेरिका उडिन्
मिडिया करिअर राम्रै चलिरहेको थियो । नेपालमा भर्खरभर्खरै शान्ति प्रक्रिया सुरु भएको थियो । रमाको जीवनमा एउटा नमीठो घटना घट्यो । जसले उनलाई अमेरिका उडायो । ‘छोरीलाई स्कुल बसबाटै दुई पटक अपहरणको प्रयास भयो,’ उनले भनिन्, ‘छोरीलाई फोन गरेर ममीसँग एक करोड माग्नू नत्र आमाछोरी दुवैलाई मारिदिन्छु भन्ने धम्की आयो ।’
रमाका अनुसार उक्त घटनापछि छोरीलाई मानसिक आघात पर्यो । उनी स्कुल–घर जता गयो उतै एकोहोरो टोलाउन थालिन् । रमालाई आफू र छोरीका लागि नेपाल सुरक्षित लागेन । अनि छोरी लिएर अमेरिका उडिन् । ११ वर्ष उतै बसिन् ।
‘बिहे गरेर पठाउनुपर्ने बेला छोरीलाई कहाँ हाफ कट्टु लगाएर फुटबल खेल्न पठाएको भनेर धेरैले भन्थे । एकदुई जनालाई त म अबदेखि सारी लगाएर खेलौँला नि त’ भनेर जवाफ पनि पठाउँथेँ ।’
११ वर्ष अमेरिका बसाइँमा नेपालको सम्झनाले उनलाई निकै सतायो । विशेष गरी टेलिभिजनको सम्झनाले सताउँथ्यो । ‘अमेरिका बसुन्जेल मैले कुनै नेपाली टेलिभिजन च्यानल हेरिनँ,’ उनले भनिन्, ‘हेर्यो भने याद आउँछ भनेर ।’
अमेरिकामा उनले साथीहरूसँग मिलेर कम्युनिटी टेलिभिजन सञ्चालन गरेकी थिइन् । त्यो टेलिभिजन दुई–तीन वर्ष चल्यो । युट्युबले चर्चा कमाउन थालेपछि टेलिभिजनको चार्म घट्यो । टेलिभिजन बन्द गरेर उनी बिजनेसतिर लागिन् ।
टेलिभिजनमा फेरि फर्किने तयारीका साथ रमा अहिले नेपाल आएकी छिन् । छोरी सुभु उतै आम सञ्चारमा स्नातकोत्तर गरिरहेकी छिन् । पढाइ सकेपछि छोरीलाई पनि नेपाल फर्काउने उनको योजना छ । ‘टेलिभिजनमै हुर्किएको भएर होला टेलिभिजनको असाध्यै माया लाग्ने रहेछ,’ उनले भनिन्, ‘टेलिभिजनमा एकचोटि मनदेखि लागेको मान्छेलाई यसबाट उम्किन गाह्रो हुँदो रहेछ ।’
फेरि टेलिभिजनमै फर्किने योजना
तर, पत्रकारितामा पहिलाजस्तो मर्यादित नभएको उनको गुनासो छ । ‘पहिला पत्रकारहरू नैतिक थिए, मापदण्डमा बसेर काम गर्थे,’ उनले भनिन्, ‘पहिला पैसाभन्दा इज्जत ठूलो थियो, अहिले इज्जतभन्दा ठूलो पैसा भएछ । अहिले पत्रकारितामा मात्रै नभएर हरेक क्षेत्रमा नैतिकताको प्रश्न खडा भएको छ ।’
धेरै कलेजले विद्यार्थी नपुगेर पत्रकारिता विषय पढाउन छाडेकामा उनलाई दुःख लागेको छ । ‘पहिला ५०–६० जना हुने कक्षामा अहिले १० जना पनि पुगेनन् भनेर पढाउनै छाडेको पाएँ,’ उनले भनिन्, ‘मिडियालाई उद्योगका रूपमा विकास गर्न नसक्दा यस्तो स्थिति सिर्जना हुन्छ । विदेशतिर मिडिया हाउस उद्योगका रूपमा विकास भएर त्यसको चार्म अहिले पनि उस्तै छ ।’
पछिल्लो समय टेलिभिजनलाई सामाजिक सञ्जालले ओभरटेक गरेको उनले पाएकी छिन् । आफ्नो अनुकूलमा हेर्न पाउने भएकाले मानिसहरू त्यतातिर आकर्षित भएको उनले बताइन् । तर, सामाजिक सञ्जाल हुँदैमा मानिसहरूले टेलिभिजन हेर्दैनन् भन्ने उनलाई लाग्दैन । यद्यपि, नेपाली टेलिभिजनमा थुप्रै कमीकमजोरी उनले देखेकी छिन् । ‘नेपालमा दुई सयभन्दा बढी टेलिभिजन रहेछन्,’ उनले भनिन्, ‘प्रायः टिभीगीत मात्रै बजाएर बसिरहेका छन् । कसैले पनि यसलाई उद्योगका रूपमा अगाडि बढाउने प्रयास गरेका छैनन् । पब्लिकमा पुर्याउने कोसिस गरेका छैनन् ।’
समयमा तलब नदिनु र दिए पनि योग्यताअनुसार पारिश्रमिक नहुनुले टेलिभिजनमा अहिलेका पुस्ताको आकर्षण घटेको उनले बताइन् । ‘महिनौँसम्म तलब नपाएपछि अनुहार मात्रै देखाउन कोही पनि यसको पछि लाग्दैन,’ उनले भनिन् ।
‘नेपाल टेलिभिजनकी छोरी’ रमा तिनै नीरस नातिनातिना पुस्ताका लागि आशा बनेर फेरि टेलिभिजनमा फर्किंदैछिन् । भदौ १३ गते उनले एउटा टेलिभिजन च्यानल रिलन्च गर्दैछिन् । जसका लागि नयाँ कार्यक्रमका फर्म्याट बनाउन उनी व्यस्त छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया